धनपुराका भूमिहीन र सिंघीया पीडितलाई पक्की घर 

विराटनगर । विराटनगर महानगरपालिकाले १९ नम्बर वार्ड बैजनाथपुर स्थित धनपुरामा बनाउँदै गरेको ६० वटा घर अन्तिम चरणमा पुगेको छ । बैजनाथपुर रंगशालाको दक्षिणपट्टी एउटै डिजाइनमा बन्दै गरेका घर भूमिहीन गरीबकालागि हो । 

ऐलानी पर्ती जमिन, खोला र नहरको डिलमा बस्दै आएका भूमिहीन विपन्न गरीबहरुलाई नमूना बस्तीमा राखिने छ । अव्यवस्थित बसोबासको समस्या क्रमश समाधान गर्दै व्यवस्थित बस्ती बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले धनपुरामा एकीकृत बस्ती निर्माण गरिरहेको छ । सोही योजना अनुसार घर निर्माणमा अग्रसरता देखाएको महानगरपालिकालाई केही गैह्रसरकारी संस्थाहरुको पनि साथ छ । 

झण्डै ६ महिना अघिबाट सुरु भएको घर निर्माणको प्रकृया यतिबेला अन्तिमतिर पुगिसकेको छ । पहिलो चरणमा ३२ वटा घर बनाइएको छ । ‘यि घर सम्पन्न भएसँगै भदौ अन्तिमबाट थप २८ घर निर्माणको काम अघि बढ्छ,’ इन्जिनियर अनिल घिमिरेले भने ‘पानी जमेका कारण जमिनमा माटो पुर्न समस्या थियो अब माटो पुरेर जग्गा मिलाएपछि थप घर बनाउने काम अघि बढ्छ ।’ वर्षातले गहिरो जमिनमा पानी जमेका कारण माटो पुर्ने काम प्रभावित हुँदा थप २८ घर बनाउने प्रकृया अवरुद्ध भएको हो । अब वर्षा कम हुँदै गएकोले माटो पुर्ने काम अघि बढ्ने महानगरपालिकाका सामाजिक विकास अधिकृत पुनम दाहालले जानकारी दिए ।

विराटनगर महानगरपालिकाले उपलव्ध गराएको एक बिघा चार कठ्ठा जमिनमा ६० वटा घर बन्नेछन् । भूकम्प प्रतिरोधी ब्लक प्रविधिबाट निर्माणाधीन प्रतिघर लागत ४ लाख ८० हजार रुपियाँ छ । दुई कोठा, बरण्डा, भान्छा र शौचालयसहितको घर गरीब नागरिकलाई हस्तान्तरण गर्ने महानगरको योजना छ ।

महानगरको स्वामित्वमा रहेको सो जमिनमा पहिलेदेखि नै केही भूमिहीन सुकुम्बासीहरुका झुप्रा घरहरु थिए । ति मध्ये केही मुसहर जातीका थिए भने अन्य जातिका विपन्नहरु पनि बस्थे । पहिलो चरणमा निर्माण भएका घरहरु पहिलेदेखि बसोबास गर्दै आएकाहरुलाई नै हस्तान्तरण गर्ने महानगरपालिकाको तयारी छ । त्यसपछि बन्ने थप २८ घरमा भने महानगरले सिंघीया नदीको किनारमा बस्दै आएका खापटोलका भूमिहीनहरुलाई लगेर राख्ने योजना बनाएको छ । यो योजना सफल भए बैजनाथपुरमै १० बिघा जमिनमा थप ७ सय वटा घरको ठूलो बस्ती बनाएर खोला किनारका सबै घर हटाउने विषयमा महानगरले छलफल गरिरहेको अधिकृत दाहालले जानकारी दिएका छन् ।

महानगरपालिकाले एकीकृत वस्ती निर्माणकालागि जमिनको अतिरिक्त एक करोड रुपियाँ बजेट उपलव्ध गराएको छ । त्यस कार्यमा साहारा नेपाल, जीवन विकास समाज र ह्याबिट्याट फर ह्युम्यानिटी नामक संस्थाहरुको सहयोग महानगरले लिएको छ । घर निर्माणमा करिव ३ करोड खर्च हुने अनुमान गरिएको छ । बाँकी रकम तिनै संस्थाहरुले जुटाउने छन् । अन्य पूर्वाधार सडक, बाटो, बिजुली लगायतको काम भने महानगरपालिकाले गर्नुपर्ने छ । 

बस्तीमा बाल विकास केन्द्र निर्माण गरिएको छ । एउटा सामुदायिक भवन पनि छ । नजिकै माध्यमिक तहसम्मको विद्यालय भएकोले त्यहाँ छुट्टै विद्यालयको आवश्यकता भने छैन । पिउने पानीको प्रवन्ध कसरी गर्ने भन्नेमा महानगरले निर्णय गरिसकेको छैन । बस्तीलाई लक्षीत गरेर छुट्टै ओभरहेड ट्यांकी बनाउने वा प्रशोधित पिउने पानीको छुट्टै प्रवन्ध गर्ने भन्ने विषय छलफलकै चरणमा रहेको इन्जिनियर घिमिरेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर