प्रदेश १ का मुख्य नाका र पर्यटकीय स्थलमा राष्ट्रिय झण्डा राख्ने निर्णय

विराटनगर । प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थल र नेपाल प्रवेश गर्ने प्रमुख नाकाहरुमा संविधान दिवसको दिन ठूला आकारका नेपाली झण्डा राखिने भएको छ । आइतबार अपरान्ह बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विराटनगर विमानस्थल लगायत महत्वपूर्ण ठाउँहरुमा स्थायीरुपमा ठूला राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको हो । 

‘प्रदेशका प्रमुख पर्यटकीय स्थल इलामको कन्याम, श्रीअन्तु, झापाको दमक, काँकडभिट्टा, केचना, सुनसरीको इटहरी, कोशी ब्यारेज, धरान, विराटनगर एयरपोर्ट, विराटनगर रानी, सोलुखुम्बुको लुक्ला, सगरमाथाको बेसक्याम्पलगायतका स्थानमा ठूला झण्डा राख्ने निर्णय भएको छ,’ आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले भने ।

आइतबारको बैठकले मुख्यमन्त्रीको स्पेन भ्रमणलाई स्वीकृती प्रदान गर्ने निर्णय पनि गरेको छ । स्पेनको राजधानी मेड्रिटमा आगामि सेप्टेम्बर २७ बाट सुरु हुने एक्स्पोटुरलमा मुख्यमन्त्रीको नेतृत्वमा ६ सदस्यीय टोली भ्रमणमा जाने प्रवक्ता कार्कीले जानकारी दिए । 

यस्तै बैठकले सुनसरीको इटहरी  चोकबाट पूर्व पश्चिम राजमार्गमा दुईवटा आकाशे पुल निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालयको प्रस्ताव पनि स्वीकृत गरेको छ ।

बैठकले प्रदेशसभा सचिवालय, र प्रदेश लेखानियन्त्रण कार्यालयका कर्मचारीलाई खाना, खाजा तथा प्रोत्साहन सुविधा दिने निर्णय पनि गरेको छ । यस्तै उद्योग, वन तथा पर्यटन मन्त्रालयको बजार अनुगमनसम्बन्धी नियमावली २०७६ र प्रदेश नीजि तथा साझेदारी फर्म दर्ता नविकरण सम्बन्धी विधेयकको अवधारणा तयार पार्न सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ । 

बैठकले धनकुटामा आदिवासी जनजाति संग्रहालय स्थापना गर्न आर्थिक सहयोग गर्ने सामाजिक विकास मन्त्रालयको प्रस्ताव र जनतासँग मुख्यमन्त्री कार्यक्रम संचालन कार्यविधि २०७६ पारित गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर