• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पशुपतिको आरतीमा मन्त्री भट्टराईको चासो : कर्मचारीको तलब जम्मा ४५ सय !

कर्मचारीको असन्तुष्टि, संस्था भन्छ– ‘हामीले श्रमको मूल्यांकन गरेर दक्षिणा दिएका छौं’

काठमाडौं । बागमती नदी किनारामा प्रत्येक साँझ हुने ‘पशुपतिनाथ तथा बागमती गंगा आरती सेवा समिति नेपाल’मा कार्यरत कर्मचारीहरूको असन्तुष्टि बाहिरिएकोे छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफ्नो वार्षिक कार्यक्रममा नै आरतीमा राष्ट्रिय गान बजाउने व्यवस्था मिलाउने योजना सुनाए । 

योजना सुनाएको केही दिनमा नै उक्त कार्यक्रमले निरन्तरता पनि पाइसकेको छ । अर्थात् प्रत्येक साँझको आरती राष्ट्रिय गानबाट सुरु हुन थालेको छ । पर्यटन मन्त्रालयले नै चासो दिएर पर्यटनको सम्भावना भएको भन्दै यसलाई महत्त्व दिएर योजना बनाइरहँदा यता आरतीमा कार्यरत कर्मचारीले भने असन्तुष्टि पत्र पेस गरेका छन् ।

०६४ साल साउन २१ गतेदेखि निरन्तर रूपमा कार्यरत कर्मचारीको मासिक तलब नबढाएको भन्दै कर्मचारीहरू असन्तुष्ट भएका छन् । प्रत्येक साँझ आरतीमा काम गर्ने कर्मचारी सबै पाँच वर्षभन्दा बढी काम गरिसकेका छन्, तर उनीहरूले पाउने मासिक तलब भने चार हजार पाँच सय मात्र भएको भन्दै कर्मचारीले विरोध जनाएका छन् । 

पशुपतिनाथ एवं बागमती गंगा आरती सेवा समितिलाई कर्मचारीहरूले असन्तुष्टि पत्रसमेत बुझाएका छन् । समाचार दैनिकलाई प्राप्त उक्त असन्तुष्टिपत्रमा संस्था बलियो हुँदा पनि संस्थाका कर्मचारीलाई हुने मूल्यांकन नै नभएको भनेर असन्तुष्टि व्यक्त भएको छ । 

कर्मचारीकाे असन्तुष्टीपत्र

संस्था स्थापना भएको १२ औं वर्ष पुगेर १३औं वर्षमा लाग्दा पनि संस्थाले कर्मचारीको समयानुसार तलब वृद्धि नगरिएकोे भन्दै कर्मचारीले समय र महँगीअनुसार तलब वृद्धि गर्नपर्ने माग गरेका छन् । 

साथै, सम्पूर्ण कर्मचारीले संयुक्त रूपमा पेस गरेको असन्तुष्टिपत्रमा हस्ताक्षरसमेत गरेका छन् । ‘हरेक साँझ चिसो ढुंगा, हावाहुरी, असिनापानीजस्ता अनेक अड्चनमा पनि यस आरतीलाई खण्डित नगरी हामीले आफ्नो कामलाई निरन्तरता दिइरहेको सर्वविदितै छ । संस्था मजबुद नहुँदाको खण्डमा हामी चुपचाप आरती गरिरहेका छौं । तर, आज संस्था मनबुत हुँदा पनि हामीप्रति अन्याय भएको हामीले महसुस गरेका छौं ।’ पत्रमा भनिएको छ । 

विगत दुई वर्षमा दिँदै आएको कुल मुनाफा २० प्रतिशत रकम दिने निर्णय गरी समयानुसार तलब वृद्धि गराउन संयुक्त कर्मचारीले आह्वान गरेका छन् । विगत पाँच वर्षदेखि समितिले दिँदै आएको ४ हजार ५ सय तलबलाई वृद्धि गराएर हालै पाँच हजार पुर्याएको निर्णयप्रति सम्पूर्ण कर्मचारीको विमति रहेको पनि पत्रमा उल्लेख गरिएको छ । 

आरती गर्ने एक कर्मचारीका अनुसार तलव वृद्धि नभएसम्म कुनै पनि कर्मचारीले तलब नलिने घोषणा नै गरिसकेका छन् । सम्पूर्ण कर्मचारीको प्रतिनिधित्व गर्दै ती कर्मचारी भन्छन्, ‘हामीले दुई महिनादेखि तलब थापेका छैनौं । पानी र असिना केही नभनी संस्था बलियो हुने बेलासम्म केही भनेनौं, तर आज संस्था बलियो हुँदा पनि कर्मचारीलाई अन्याय गर्न भने भएन ।’

कति छ संस्थाको अक्षकोषमा रकम ? 
संस्थाले यही वार्षिक उत्सवमा सार्वजनिक गरेको स्मारिकामा संस्थाको अक्षयकोषको पनि लिखित जानकारी दिइएको छ । स्मारिकमा उल्लेख भएअनुसार संस्थामा जम्मा एक करोड २६ लाख रकम जम्मा भएको छ । मंगला गौरी बचत तथा सहकारी संस्थामा ९६ लाख, गण्डकी विकास बैंकमा २० खाख सिद्धार्थ बैंकको मुद्दती खातामा १० लाख रकम संस्थाको अक्षयकोष रहेको देखिन्छ । 

  

संस्था आन्तरिक राजस्व कार्यालयमा पनि दर्ता भएको छ । संस्थालाई चलाउन पशुपति क्षेत्र विकास कोषले अनुमति दिएको छ । राजस्व कार्यालयमा ‘श्री पशुपतिनाथ तथा बागमतीगंगा आरती सेवा समिति नेपाल’ मा स्थाई लेखा नम्बर ३०२९६१०४५ मा दर्ता छ ।

संस्था भन्छ– ‘हामीले श्रमको मूल्याङ्कन गरेर दक्षिणा दिएका छौं’

कर्मचारीको असन्तुष्टिका बारेमा जानकारी गर्नका लागि हामीले संस्थाका कोषाध्यक्ष नारायण पौडेललाई सम्पर्क गर्यौं । कोषाध्यक्ष पौडेल भने कर्मचारीलाई कुनै अन्याय नभएको बताउँछन् । ‘हामीले संस्थाका कर्मचारीको समय हेरेर उहाँहरूलाई तलब भन्दा पनि केही रकम दक्षिणा भनेर दिएका छौं ।’ 

समाचार दैनिकसंगको कुराकानीका क्रममा उनले भने, ‘बेलुका ५ बजे आएर ७ बजेसम्मको समय आरतीलाई दिएको हुँदा हामीले पाँच हजार दिँदा अन्याय गरेका छैनौंजस्तो लाग्छ ।’

सबैका आ–आफ्नै असन्तुष्टि हुने गरेको बताउँदै उनले कर्मचारी मात्र नभएर संस्थालाई पनि बचाउने जिम्मेवारी आफूहरूमा रहेको बताए । उनले भने, ‘गत सालसम्म दक्षिणा भनेर दिएको चार हजार पाँच सयमा हामीले पाँच सय थप गरेका छौं । उहाँहरूले समितिमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । समितिको पूर्ण बैठक बसेर मात्र यो विषयको निर्णय हुन्छ ।’ समितिको बैठक भने तोकिएको छैन । 

त्यस्तै, उनले आरतीमा हुने अन्य खर्च पनि व्यवस्थापन गर्ने भएकाले कर्मचारीलाई कुनै अन्याय नभएको स्पष्ट पारे । मन्त्रालयको पनि पर्यटन प्रवर्धनमा चासो भएको भन्दै उनले कर्मचारीलाई असन्तुष्ट नहुन आग्रह गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर