आठ महिनामा दुई जना पर्यटकलाई अध्यागमनको सेवा

विराटनगर । सरकारले विराटनगरबाट अध्यागमन सेवा सुरु गरेपनि सेवा लिनेको संख्या न्युन रहेको पाइएको छ । विराटनगर स्थित अध्यागमन कार्यालयबाट आठ महिनाको अवधीमा दुई जना पर्यटकले मात्र सेवा लिएका छन् । 

नेपाल भ्रमणमा रहेका दुई जना ब्रिटिस नागरिकहरुले विराटनगर स्थित अध्यागमन कार्यालयबाट भारत प्रवेश गर्ने अनुमती मागेका थिए । ‘विराटनगरबाट डिपाचर गरेर हामीले पठाएका दुवै जनालाई जोगवनीमा पुगेपछि भारतीय प्रहरीले यात्रा गर्न रोक लगाइदियो,’ कार्यालयका वरिष्ठ अध्यागमन सहायक नारायण पौडेलले भने–‘मोरङका प्रमुख जिल्ला अधिकारीले भारतीय अध्यागमन कार्यालयसम्म पुग्ने वातावरण बनाउन थप पहल गर्नु परेको थियो ।’ 

नेपाल सरकारले प्रदेश १ को राजधानी विराटनगरबाट २०७५ साल पुस ६ गतेदेखि अध्यागमन सेवा आरम्भ गरेको हो । पर्यटन प्रवद्र्धनकालागि अध्यागमन कार्यालय अनिवार्य भएको उद्योगी व्यवसायीहरुको सुझाव अनुसार सरकारले कार्यालय स्थापना गरेको हो ।

विराटनगरमा अध्यागमन कार्यालय भएपनि सीमावर्ती भारत तर्फ भने भारतीय सरकारले अध्यागमन कार्यालय स्थापना गरेको छैन । जोगवनी तर्फ अध्यागन कार्यालय नहुँदा भारत भ्रमणमा रहेका तेस्रो मुलुकका पर्यटकहरु सो नाका भएर नेपाल प्रवेश गर्न सक्दैनन् । उनीहरु नेपाल प्रवेश गर्नु अघि भारतबाट प्रवेश अनुमति लिनुपर्छ । 

विराटनगरमा कार्यालय स्थापना भएको आठ महिनाको अवधिमा जोगवनी नाका भएर एकैजना तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेका छैनन् । त्यसकालागि भारत तर्फ जोगवनीमा भारतीय अध्यागमन कार्यालय स्थापना गर्न सरकारले कुटनीतिक पहल बढाउनु पर्ने पर्यटन व्यवसायी भबिसकुमार श्रेष्ठ बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० आरम्भ हुनु अगाडि नै भारत तर्फ कार्यालय स्थापना गर्ने गरी सरकारको पहल आवश्यक रहेको श्रेष्ठले बताए ।

भारतको बोधगयाको भ्रमणमा आएका तेस्रो मुलुकको बौद्धमार्गी पर्यटकहरुलाई जोगवनी नाकाबाट नेपाल ल्याउन सकिने पर्यटन व्यवसायीहरुको विश्वास छ । त्यस्तै जोगवनीमा भारत सरकारले अध्यागमन कार्यालय स्थापना गरेको खण्डमा बंगलादेशी पर्यटकहरुको आवागमन बढाउन सकिने छ । 

नेपाल सरकारले गत पुस महिनामा प्रदेश १ को दुई र कर्णाली प्रदेशमा एउटा अध्यागमन कार्यालय विस्तार गरेको हो । प्रदेश १ स्थित इलामको पशुपतिनगर र विराटनगरमा अध्यागमन कार्यालय स्थापना गरिएको छ । तर अहिलेसम्म इलामको पशुपतिनगरबाट पनि पर्यटक नेपाल प्रवेश गर्न सकेका छैनन् । दुवै नाकामा खोलिएका कार्यालयको समस्या भने एउटै छ भारत तर्फ अध्यागमन कार्यालय स्थापना नहुनु । पर्यटन व्यवसायी श्रेष्ठ भन्छन्–‘भारत तर्फ नाकामा अध्यागमन कार्यालय स्थापना नभएसम्म यहाँको कार्यालयले मात्र सेवा प्रवाह गर्नै सक्दैन, यो कार्यालयको औचित्य उतापट्टी कार्यालय खुलेपछि मात्र पुष्टि हुन्छ ।’

नयाँ खुलेका अध्यागमन कार्यालयहरुले पर्यटकहरुलाई भारत प्रवेशको स्वीकृती, आगमन अनुमती, भिसाको समयवधी थप गर्ने लगायतका सेवा दिनसक्छन् । १५ दिनको भ्रमण अनुमती लिँदा पर्यटकले ३० डलर तिर्नुपर्छ । यि कार्यालयहरुबाट १५ दिन, ३० दिन र ९० दिनको अनुमती दिने गरिएको छ । ३० दिनको अनुमतीकालागि ५० डलर तिर्नुपर्छ भने ९० दिनको अनुमतीकालागि पर्यटकले एक सय २५ डलर तिर्नुपर्छ । पर्यटन कार्यालयहरुले भिसा अवधी समाप्त भएका विदेशीहरुलाई एक वर्षको अवधीमा १५० दिन नकट्ने गरी समय थप गर्नसक्ने अधिकार पनि दिइएको छ । 

विराटनगर अध्यागमन कार्यालयमा शाखा अधिकृतको नेतृत्वमा दुई जना वरिष्ठ अध्यागमन सहायक, एक जना सहायक, सहायक कम्प्युटर अपरेटर, सहलेखापाल र दुई जना कार्यालय सहयोगीको दरबन्दी छ । तर कार्यालयमा कार्यालय प्रमुखको पद रिक्त छ । करिव एक महिना जिम्मेवारी सम्हाल्नु भएका गोकुल केसी समायोजन भई प्रदेश तर्फ गएपछि कार्यालयमा कसैलाई पठाइएको छैन । अहिले जिल्ला प्रशासन कार्यालयबाट सञ्चालित अध्यागमन कार्यालय दशैं अगाडि नै सीमावर्ती क्षेत्रमा सार्ने र सीमाबाटै सेवा प्रवाह गर्ने तयारी भइरहेको निमित्त कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर