• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

५० हजार पर्यटक भित्र्याउने गरी प्याराग्लाइडिङ उडान सुरु 

उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिकाले नगरपालिकाको बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र बेलका क्षेत्रमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्याराग्गाइडिङ उडान सञ्चालन गर्ने अभियान तीव्र रुपमा सुरु गरेको छ ।

समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको बेलकाको मैनामैनीस्थित बोपताङ डाँडा र चम्पाकोट डाँडाबाट पटक–पटक प्याराग्लाइडिङ उडान परीक्षण गरेर सप्तकोसी बगरसम्म अवतरणको परीक्षण भएपछि अब यो क्षेत्रलाई एक नम्बर प्रदेशकै एक नम्बर प्याराग्लाइडिङ ‘हब’को रूपमा विकास गरेर वार्षिक ५० हजारसम्म पर्यटक भित्र्याउने गरी यो अभियान सुरु गरिएको बेलका नगरपालिकाले बताएको छ ।

यसभन्दा अघि पनि बेलका क्षेत्रका दुई सयभन्दा बढी युवा तथा पर्यटक उद्यमीले प्याराग्लाइडिङ उडानको तालिम लिइसकेको र बेलका मैनामैनीको बोपताङ र चम्पाकोटबाट पटक–पटक प्याराग्लाइडिङ उडान सफल भएपछि अब आगामी कात्तिक महिनादेखि नै स्थायी र व्यावसायिक रूपमा प्याराग्गाइडिङ उडान सञ्चालनमा ल्याउन अहिले अन्तिम तयारी कार्य भइसकेको नगपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए । 

बेलकाको मैनामैनीको चम्पाकोट र बोप्ताङबाट सप्तकोशीको बगरसम्म उडान गर्नका लागि चाहिने आवश्यक भौतिक पूर्वाधार र निर्र्माण व्यवस्थापनको कार्य अहिले भइरहेको र यसका लागि बेलका प्याराग्लाइडिङ संघ, सुनसरी चतरा प्याराग्लाइडिङ, पोखरा प्याराग्लाइडिङ तथा एसियन प्याराग्लाइडिङ समूहको आर्थिक लगानी र बेलका नगरपालिकाको पहलमा प्याराग्लाइडिङ सञ्चालन गर्ने कार्य तयारी तीव्ररुपमा भइरहेको पनि नगरपालिका प्रमुख थापाले बताए।

बेलकामा अहिले आर्थिक समृद्धि हासिल गर्न कृषि र पर्यटन दुई क्षेत्र महत्त्वपूर्ण रहेको र पर्यटनका लागि सप्तकोसीमा बोटिङ र प्याराग्लाइडिङ महत्त्वपपूर्ण रहेको कारण पनि अब आगामी कात्तिक महिनादेखि पोखरामा जस्तै बेलकामा पनि व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सुरु गर्ने उनले बताए । 

प्याराग्गाइडिङ र सप्तकोसीमा बोटिङबाट वार्षिक ५० हजारभन्दा बढी पर्यटक बेलकामा भित्रन सक्ने नगरपालिकाको अनुमान छ । प्याराग्लाइडिङ उडानका लागि पूर्वाधार तयार गर्न अहिले मैनामैनीको चम्पाकोटसम्म सडक व्यवस्थापन तथा पर्यटकका लागि खाने बस्नेसहितको होटल तथा घरबाससमेतको व्यवस्थापन कार्य भइरहेको नगरपालिकाले बताएको छ ।

मैनामैनैको बोपताङ तथा चम्कोट डाँडासम्म पुगेर पर्यटकले भोजपुर धनकुटा, खोटाङ तथा सुनसरी र सप्तरी जिल्लाहसहित उत्तरपट्टिको हिमालय अवलोकन गर्दै प्याराग्लाइडिङबाट उडेर मधेसको सप्तकोसीसम्म झर्न सक्ने र यसले पर्यटकलाई आकर्षण गर्नेसमेत बेलकाका पर्यटन व्यवसायी प्रवीन राई बताउनुहुन्छ ।

भारतको दार्जिलिङ, विहार, पश्चिम बंगाल, भुटान तथा नेपालको एक नम्बर प्रदेशका धेरै पर्यटक यस क्षेत्रमा प्याराग्लाइडिङ उडानका लागि आकर्षित हुने नगरपालिका प्रमुख थापाले बताए ।  प्याराग्लाइडिङ सञ्चालनबाट बेलका क्षेत्रका दुई सय ५० पचास युवाले प्रत्यक्ष रोजगारी पाउने, होटल, घरबास सञ्चालन हुँदा स्थानीयसमेत स्वरोजगार बन्ने र यस क्षेत्रको सांस्कृतिक तथा भौगोलिक अवस्थाको प्रचारप्रचार हुने अपेक्षा नगरपालिकाले गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर