संविधान दिवस भव्य रूपमा मनाउन कर्णाली प्रदेशको तयारी 

सुर्खेत । कर्णाली प्रदेशमा संविधान दिवसलाई व्यापक हर्षउल्लाससहित भव्य रूपमा मनाइने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वपक्षीय बैठकले आगामी असोज २, ३ र ४ गते विविध कार्यक्रमको आयोजना गरि संविधान दिवसलाई भव्यरूपमा मनाउने निर्णय गरेको हो । 

बैठकले कर्णाली प्रदेशअन्तर्गतका मन्त्रालय, मातहतका निकाय तथा स्थानीय तहरूमा सरसफाइ, सजावट, दिपावली तथा राष्ट्रिय झन्डा फहराउने निर्णय गरेको छ । बैठकले संविधान दिवसका दिन बिहान ७ बजे मंगलगढी चोकबाट प्रभातफेरी गर्ने र खुलामञ्चमा संविधान दिवस समारोहको आयोजना गर्ने निर्णय गरेको छ । 

प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, विभिन्न सामाजिक संघ संस्थाले सांस्कृतिक पहिचान सहितको झाँकी प्रदर्शन गरिने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तथा मूल समारोह समितिका सदस्यसचिव विनोदकुमार गौतमले बताए ।

प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, निजामती कर्मचारी आ–आफ्नो पोशाक र सर्वसाधारणहरुलाई राष्ट्रिय पोसाकमा राष्ट्रिय झन्डासहित सहभागी हुन पनि आग्रह गरिएको उनले जानकारी दिए । बैठकले सर्वसाधारण सवैका सबै घर तथा पसलमा राष्ट्रिय झन्डा फहराउनुको साथै दीपावली गर्न आह्वान गरेको सदस्यसचिव गौतमले जानकारी दिए ।  

संविधान दिवस भव्यतासाथ मनाउन बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा २० सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णयसमेत गरेको छ । मूल समारोह समितिका सदस्यहरूमा प्रदेशसभाका सभामुख, उच्च अदालतका मुख्य न्यायधीश, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश योजना आयोगका उपाध्यक्ष, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख, प्रदेश सरकारका प्रमुख सचिव रहेको सदस्यसचिव गौतमले बताए ।  

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिव रहेको समितिका अन्य सदस्यहरूमा उच्च अदालतका न्यायाधीशहरू, मुख्य न्यायाधिवक्ता, प्रदेशसभाका सदस्यहरू, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, प्रदेश सरकारका सचिवहरू, जिल्ला अदालतका न्यायधीश, उच्च अदालतका रजिस्ट्रार, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति, राजनीतिक दलका प्रमूखहरू, प्रदेश सरकारका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रदेश प्रमुखहरू र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष रहेको बताइएको छ । 

यसैगरी, बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सामाजिक विकासमन्त्री दल रावलको संयोजकत्वमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालक उपसमिति र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको संयोजकत्वमा मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर