• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भारतको चन्द्रयान–२ अवतरण हुनु ६९ सेकेन्डअघि सम्पर्कविहीन

बेंग्लोर । भारत अन्तरिक्ष विज्ञानमा इतिहास रच्नबाट चुकेको छ । चन्द्रयान–२ अर्थात ‘विक्रम’ चन्द्रमामा अवतरण हुन मात्र ६९ सेकेन्डअघि पृथ्वीबाट सम्पर्क विच्छेद भएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा शुक्रबार राति भारतीय समयअनुसार करिब १ बजेर ५५ मिनेटमा अवतरण हुने अपेक्षा थियो, तर यसको समय परिवर्तन भएर १ बजेर ५३ मिनेट बनाइएको थियो । 

तर, यो समयपछि चन्द्रयानको स्थिति पत्ता लाग्न सकेन । इसरोका अध्यक्ष डा. के सिवनले भनेका छन्, ‘विक्रमको अवतरणको प्रक्रिया एकदम ठीक थियो । जब यान चन्द्रमाको दक्षिणी ध्रुवको सतहबाट २.१ किलोमिटर टाढा थियो, तब उसको पृथ्वीबाट सम्पर्क विच्छेद भयो । हामी आर्बिटरबाट प्राप्त तथ्यांकको विश्लेषण गरिरहेका छौं ।’ 

विक्रम शुक्रबार राति १ बजेदेखि २ बजेको बीचमा चन्द्रमामा अवतरण गर्ने बताइएको थयो । भारतका वैज्ञानिकको उपलब्धि हेर्न र वैज्ञानिकहरुको हौसला बढाउन प्रधानमन्त्री नरेन्द मोदी बेंग्लोरस्थित इसरोको मुख्यालय पुगेका थिए । 

जब इसरोको कन्ट्रोल रुममा छायो सन्नाटा

शुक्रबार राति डेढ बजे सुरु भएको विक्रमको अवतरणको प्रक्रिया सामान्य तरिकाले अगाडि बढिरहेको थियो । विक्रम जब चन्द्रमाको सतहबाट मात्र २.१ किलोमिटर टाढा थियो, अचानक इसरोको कन्ट्रोल रुममा सन्नाटा छायो । वैज्ञानिकहरुको अनुहारमा कालो बादल लाग्यो । के भएको भनेर केही थाहा भइरहेको थिएन । 

स्क्रिनमा आइरहेको आँकडा अचानक हराएको थियो । तब इसरोका प्रमुख सिवन त्यहाँ बसिरहेका प्रधानमन्त्री मोदीतर्फ गए । उनले मोदीलाई ब्रिफिङ गरे र बाहिर निस्किए । अनि खास के भएको भनेर अन्योल छायो । केही समयमा इसरोले कन्ट्रोल रुमबाट प्रत्यक्ष प्रसारण भइरहेको स्ट्रिमिङ पनि बन्द गरिदियो । यसबाट अझै अन्योल थपियो ।

यस अन्योलबीच सिवन पुनः त्यहाँ आए । उनले विक्रमको सम्पर्क विच्छेद भएको बताए । विक्रम कतै हराएको बताए । सिवनले भने, ‘विक्रम चन्द्रमामा अवतरण गर्ने मिसनअनुसार आफ्नो गतिमा हिँडिहेको थियो र २.१ किलोमिटर उचाइसम्म सबै सामान्य थियो । त्यसपछि विक्रमको ग्राउन्ड स्टेसन सम्पर्क विच्छेद भयो ।’

मोदीले भने– ‘देशका वैज्ञानिकमाथि गर्व छ’

मोदीले भने, ‘चन्द्रयान–२ आफ्नो लक्ष्यभन्दा दुई कदम टाढा छ, संशय कायम छ । तर, भरोसा छ कि जित अवश्य हुनेछ । त्यसैले अझै पनि, किनकि इसरोसँग ख्याति जोडिएको छ, उसका लागि हर चुनौती एक अवसर हुनेछ ।’

मोदी भन्छन्, ‘देशका वैज्ञानिकमाथि गर्व छ । वैज्ञानिक देशको सेवा गरिरहेका छन् । हाम्रो यात्रा अगाडि बढिरहनेछ । म वैज्ञानिकहरुको साथमा छु । हिम्मत जारी राख्नुहोस्, जीवनमा उतारचढाव आउने–जाने भइरहन्छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर