जीवन
तर्सिन्छ ‘आफ्नै’ नचिनेर छाया
‘रोगी मलेवा’ सरि ठुङ्छ काया ।
सन्तुष्टजस्तो न त तप्त जस्तो
देखिन्छ मान्छे अभिशप्तजस्तो ।।
०००
मान्छे प्रशंसा पदनिम्ति भोका
सौहार्दभन्दा छलछाम धोका ।
उठ्दै फुटेझैँ जलमाथि फोका
सम्भावनाका सब बन्द ढोका ।।
०००
निद्रा टुटी, बाध्य भई उठेझैँ
गन्तव्यको मार्ग भुली छुटेझैँ ।
थन्क्याइएको महँगो घडीझैँ
यो जिन्दगी लाग्दछ हत्कडीझैँ ।।
०००
स्वतन्त्रताभित्र दबाबजस्तो
सम्पन्नताभित्र अभावजस्तो ।
भोग्दै गए जीवन लाग्छ यस्तो
भुत्ते भएको तरबार जस्तो ।।
०००
केही छुटेझैँ, शिर यो झुकेझैँ
छाती सधैँ भित्र कतै दुखेझैँ ।
एकान्तमा आहट सुन्छु कस्तो
आमा–बुबाको पदचापजस्तो ।।
प्रतिकृया दिनुहोस