गैसस महासंघ प्रदेश १ को आफ्नै भवन 

विराटनगर । विराटनगर ३ मा बनेको गैह्रसरकारी संस्था महासंघ नेपाल प्रदेश १ को भवन शनिवार उद्घाटन भएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले एक समारोहकाबीच नव निर्मित भवनको उद्घाटन गरे । महासंघको १३ औं साधारणसभाको सन्दर्भ पारेर नवनिर्मित भवन उद्घाटन गरिएको हो । 

गैरसरकारी क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुको छाता संगठनको रुपमा क्रियाशित महासंघ प्रदेश संरचनामा गएसँगै प्रदेश सरकारकोसमेत सहयोगमा आफ्नै भवन निर्माण गरेको हो । यस अघि महासंघ भाडामा सञ्चालन हुँदै आएको थियो । भवन निर्माणकालागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले १५ लाख रुपियाँ आर्थिक सहयोग उपलव्ध गराएको थियो  । 

भवन उद्घाटन समारोहलाई सम्वोधन गर्दैसामाजिक विकासमन्त्री जीवन घिमिरेले सामाजिक जागरणको क्षेत्रमा सरकारले सामाजिक क्षेत्रसँग मिलेर काम गर्न चाहेको बताए । उनले सामाजिक रुपान्तरण र सचेतनाको क्षेत्रमा अहिले पनि मन्त्रालयले धेरै कार्यक्रमहरु अघि बढाएको र गैरसरकारी संस्थाहरु त्यस्ता कार्यक्रमका महत्वपूर्ण सहयोगी भएको बताए । उनले आगामी दिनमा पनि संस्थाकालागि आवश्यक सहयोग उपलव्ध गराउने विश्वास व्यक्त गरेका छन् । 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले सामाजिक क्षेत्रमा धेरै कामहरु गर्नु पर्ने र गैससहरुले ति कामहरुमा सरकारलाई सहयोग गरिरहेको बताए । उनले संगठित र असंगठितरुपमा यस्ता कामहरुमा आवद्धता जनाइरहँदा गैससलाई नै रोजगारीको आधार भने बनाउन नहुने सुझाव दिए । उनले गैससको नाम परिवर्तन गर्नुपर्ने सुझाव दिँदै सरकारकोे सहयोगीको रुपमा काम गर्ने संस्थाहरु गैरसरकारी हुननसक्ने टिप्पणी गरे ।
यस्तै गैसस महासंघ नेपालका केन्द्रीय सचिव उमेश विश्वकर्माले भवन निर्माणमा समाजका विभिन्न क्षेत्रबाट भएको सहयोगको सह्राहना गरे । उनले सबैको सहयोग र हातेमालोबाट जमिन खरिददेखि भवन निर्माणको काम सम्पन्न गर्ने सफलता मिलेको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य जयराम यादव, गैसस महासंघ पूर्वाञ्चलका पूर्व अध्यक्ष युवराज पराजुली, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगु, मानवअधिकार सञ्जालका संयोजक सोमराज थापा लगायतले शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर