• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कस्तो समाजवाद ? एउटै मञ्चमा घनश्याम भुसाल र प्रचण्डको प्रश्नोत्तर...

काठमाडौं । प्रत्येक दिन काठमाडौंमात्र नभई देशका विभिन्न क्षेत्रमा विविध साहित्यिक बहस, पुस्तक विमोचन, विविध विषयमा कार्यक्रमहरु आयोजना भइरहेका हुन्छन् । यो शनिबार पनि कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा केही साहित्यिक कार्यक्रम भए । 

लामो समयदेखि अर्थ राजनीतिको अध्ययन गर्दै आएका लेखक तथा नेकपाका नेता डीपी ढकालद्वारा लिखित ‘पूँजीवाद र समाजवाद अर्थराजनीतिक विकासक्रम’ नाम पुस्तक विमोचनको कार्यक्रम पनि त्यहीं थियो । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसाल, त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र र अर्थशास्त्र विषयका प्रमुख, विभिन्न विश्लेषक, नेता, कार्यकर्ता तथा अर्थराजनीतिमा चासो राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति कार्यक्रममा थियो । 

कार्यक्रममा उपस्थित सबैले लेखक ढकालद्वारा लिखित पुस्तकको आ–आफ्नै तरिकाले टिप्पणी गरे । 

तत्कालिन नेकपा माओवादीले सुरु गरेको १० वर्षे जनआन्दोलनकै बेलामा आफ्नो राजनीतिक यात्रा सुरु गरेका ढकालले राजधानीको भक्तपुरलाई राजनीतिक थलो बनाएका छन् । 

ढकालद्वारा लिखित उक्त पुस्तक विमोचन कार्यक्रममा सत्तारुढ नेकपाका दुई नेताबीच भएको सवाल जवाफले कार्यक्रमलाई खुब रोमाञ्चक बनाएको थियो । कार्यक्रम सुरु भएको केहीसमयमा नै आफ्ना कुरा राखेका  नेता घनश्याम भुसालले नेकपा अध्यक्ष प्रचण्डमाथि गरेको प्रश्नलाई हलमा उपस्थित सबैले तालिको गडगडाहटबाट समर्थन गरे । 

अध्यक्ष प्रचण्डको नाम नै लिएर नेता भुसालले गरेको प्रश्नको जवाफको खोजिमा सिंगो हल थियो । प्रमुख अतिथिको हैसियतमा  जब प्रचण्ड सम्बोधनका लागि ड्यासमा पुगे, बन्द गरिएका क्यामेरा खुले, छरिएको मान्छेको दिमाग एकीकृत भयो, सबैको कान प्रचण्डको भाषणमा केन्द्रीत भयो ।
 
प्रचण्डले भुसालको जवाफ दिने हुन वा होइनन् भन्ने जिज्ञासा सबैमा थियो । यद्यपी, प्रचण्डले नेता भुसालको नामै लिएर जवाफ दिन छुटाएनन् ।

अध्यक्ष दहाल र नेता भुसालबीच के सवाल–जवाफ भएको थियो ? 
नेकपाका स्थायी समिति सदस्य भुसालले लेखक ढकालले बजारमा ल्याएको पुस्तकमा देखिएको मिहेनतले पनि पुस्तक निकै महत्वपूर्ण भएको बताए । उनले भने–‘लेखकले ४÷५ सय पुस्तक लेखिसकेपछि थाक्छ र कुन दिन बजारमा फाल्दिउँ जस्तो हुन्छ जुन कुरा मलाई थाहा छ । तर, फेरि लेखकको दायीत्व भनेको थाकेर पूरा हुँदैन् ।’

सम्पूर्ण प्रतिक्रियावादीहरुलाई एक्ल्याउँदै समाजवादी क्रान्ति अघि बढाउने कुरा आजको दायीत्व भएको बताउँदै नेता भुसालले प्रचण्डलाई कडा प्रश्न गरे । 
उनले भने–‘क. प्रचण्ड तपाई आज असाध्यै झन्झटपूर्ण इतिहासको श्रृङ्खलाबाट यहाँ आउनुभएको छ । तर, अझै धेरै बाँकी छ, कमरेड यो किताब लेखिन्छ की लेखिँदैन ? म यो प्रश्न अहिले यहाँ राख्न चाहन्छु ।’

नेता भुसाल यतिमै रोकिएनन् । 

उनले भने–‘यी सबै कुरालाई के ले नियन्त्रित गर्छ भन्दा, त्यो राजनीति नै हो । तर, राजनीति के भयो भन्दा, देश कस्तो छ, दलाल पूजीँवादी छ । यो पूजीँवादको निरन्तरता चुनावले पाउँछ । प्रजातन्त्र लोकतन्त्रका नाममा दलाल पूजीँवादले ठाउँ जमायो । किनभने पैसा नभई चुनाव लड्न मिल्दैन् । पैसा हुनेहरुले चुनाव लड्छन् । किन चुनाव लड्छन् भन्दा पद लिनका लागि । पद किन भन्दा अझै धेरै पैसा कमाउन ।’

बढी पैसा र ठूलो पदको दुस्चक्र मेटिएन भने नेपाल समाजवादमा जाने नजाने उनले आशंका गरे । 

उनले प्रचण्डलाई प्रश्न गरे–‘दलाल पूजीँवादले आफूलाई जसरी पुनः उत्पादन गरिरहेका छ, क्रान्तिले किन पुनः उत्पादन गरिरहेको छैन ? 
के कारणले क्रान्ति लरखराइरहेको छ ? 

के कारणले क्रान्ति प्रष्ट हुन सकेन ?

हामीले के गर्योभने क्रान्ति हुन्छ भन्ने विषयको किताब लेखिन्छ की लेखिँदैन ? 

हामी त्यसतर्फ जान्छौं की जाँदैनौं कमरेड प्रचण्ड ? 

हामी त्यसतर्फ जान्छौं की जाँदैनौं ।’

समय पाएसम्म दलाल पूजीँवाद, समाजवाद र क्रान्तिको कुरा गर्न पछि नहट्ने नेता भुसाल यति प्रश्न गरेर विदा भए ।
 
केहीबेरपछि अध्यक्ष दाहाल कार्यक्रमभरि उठेका प्रश्न र किताबबारे आफ्ना भनाईहरु राख्न  उपस्थित भए । 

भुसालको सम्बोधन पूर्व अध्यक्ष प्रचण्ड खासै लामो सम्बोधन गर्ने सोचमा थिएनन् । उनी भन्दा अघि जब विचारक नेता भुसाल र पूर्व अर्थमन्त्री समेत रहेका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बोले त्यसले प्रचण्डलाई हुँडल्यो ।

भुसालको जवाफ दिन र आफ्नो पार्टीले अझै समाजवादको बाटो छोडेको छैन भन्ने पुष्टी गराउने प्रचण्डले जनयुद्धदेखि शान्तिपूर्ण राजनीतिको यो अवस्था सम्मलाई सैद्धान्तिक रुपमा सटिक ब्याख्या समेत गर्न भ्याए ।

नेपाली राजनीतिको अहिलेको यक्ष प्रश् नबनेको समाजवादी यात्रा कहिले, कसरी, कस्तो बाटोबाट भन्ने विषयमा बिचार व्यक्त गर्न उभिएका प्रचण्डको अनुहारमा भावुकता र विचारउत्तेजना प्रष्ट रुपमा देख्न सकिन्थ्यो ।

झण्डै आधा घन्टा सम्बोधन गरेका अध्यक्ष प्रचण्डले नयाँ ढंगले क्रान्तिलाई अघि बढाउनपर्ने आवश्यक्ता माओले लिएको लक्ष्यअनुसार आफूहरु रहेको स्पष्ट पारे । 

सम्बोधनको अन्त्यतिर घनश्याम भुसालको नाम लिँदै अध्यक्ष दाहालले भने–‘घनश्याम जी, तपाँइले भन्नुभयो, तपाँईसंग मैले धेरै मञ्चमा छलफल गरेको छु र भनेको छु, समाजवादको झण्डा झुक्न दिइने छैन् । पूजीँवादका अगाडी घुँडा टेकिने छैन् ।’

केहीबेरअघिमात्र नेता भुसालले पाएको गडगडाहटपूर्ण ताली अध्यक्ष दाहालले यतिबेला खोसे । र भने–‘हामी संगै छौं, आउने दशकमा सगरमाथाबाट समाजवादको नयाँ झण्डा फहराउने इच्छा छ । यसमा जो लामबद्ध हुन तयार हुनुहुन्छ, हेर्दै जानुहोस, मलाई विश्वास छ, नेपालको र नेपाली क्रान्तिको भविष्य उज्वल छ ।’ 

क्रान्ति र हिजो देखेका सपनाहरु सफल पार्न सम्भव भएको भन्दै अध्यक्ष दाहालले पुनः लेखक ढकाललाई बधाई तथा शुभकामना दिएर बिदा भए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर