• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पाल्पामा भाइरल ज्वरोका बिरामी बढे

पाल्पा । पाल्पामा भाइरल ज्वरोका बिरामी बढेका छन् ।  एक सातादेखि सामान्य रूपमा देखा परेको भाइरल ज्वरोका बिरामी दैनिक बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पतालसहित विभिन्न स्वास्थ्य सस्थाहरूमा भाइरल ज्वरोका बिरामीहरूको भीड लागेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए । स्वास्थ्य कार्यालयले उपचारका लागि सबै स्वास्थ्यकर्मीलाई सेवा गर्न र सचेत रहनका लागि अनुरोध गरेको ज्ञवालीले बताए । 

यसैबीच, पूर्वखोला गाउँपालिका अर्खलडाँडामा चार दिनदेखि फैलिएको भाइरल ज्वरो भने सुधारोन्मुख अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ । आज दिउँसो स्वास्थ्य परीक्षणका लागि गाउँमा स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेको र  बिरामीमध्ये धेरैको अवस्था सामान्य बन्दै गएको उपचारमा संलग्न स्वाथ्यकर्मी नर्भुफुर्वा लामाले जानकारी दिए । 

गाउँका अधिकांश बालबालिका बिरामी भएपछि  बिहीबारदेखि बन्द भएका विद्यालयमा समेत पठनपाठन नियमित बनाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले बताए । जिल्ला अस्पताल पाल्पामा भने भाइरल रोगका बिरामीको भीड लागेको भए पनि उपचारका लागि अन्य अस्पतालमा रेफर लिएर जानुपर्ने बाध्यताले गर्दा बिरामी समस्यामा परेका छन् । 

स्वास्थ्य बिमाको उपचारका लागि अन्य अस्पताल जानुपर्ने र रेफर लेटर लिनका लागि जिल्ला अस्पतालमै जानुपर्ने हुदाँ बिरामीलाई दोहोरो समस्या परेको बिरामीको गुनासो छ । बिहानैदेखि लाइन बसेर पनि साँझसम्म रेफर पाउन नसक्दा अर्को दिन मात्र उपचारका लागि अर्को अस्पताल जानुपर्ने हुँदा बिरामी दोहोरो मारमा परेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर