डिजिटल साक्षरतामा अघि बढ्दै १ नम्बर प्रदेश

विराटनगर । देश नम्बर १ ले डिजिटल साक्षरता तर्फको यात्रा आरम्भ गरेको छ । देशमै पहिलो पटक सरकारले डिजिटल साक्षरता कार्यक्रम प्रदेश १ बाट आरम्भ गरेको हो । अन्तराष्ट्रिय साक्षरता दिवशको सन्दर्भ पारेर आइतबार मुख्यमन्त्री शेरधन राईले डिजिटल बोर्ड ओपन गरेर प्रदेशमा डिजिटल शिक्षा अभियान सुरु भएकोे औपचारिक घोषणा गरे । 

प्रदेश राजधानी विराटनगर नजिकैको बुढीगंगा गाउँपालिकामा अवस्थित नरग्राम नमुना माध्यामिक विद्यालयमा सामाजिक विकास मन्त्रालयले विशेष समारोह आयोजना गरेर अभियान सुभारम्भ गरेको हो । 

प्रदेश १ मा रहेका ५ हजार वटै विद्यालयमा आगामी १० वर्ष भित्र डिजिटल प्रविधिबाट शिक्षा प्रदान गर्ने महत्वकांक्षी योजनासहित प्रदेश सरकारले यो वर्ष एक सय वटा विद्यालयमार्फत डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्दैछ । 

प्रदेश १ को १४ मध्ये १२ जिल्ला पूर्ण साक्षर घोषणा भइसकेपछि प्रदेश सरकार परिवर्तित समय अनुसार डिजिटल साक्षरता तर्फ अघि बढेको हो । सोलुखुम्बु र ताप्लेजुङमा ९५ प्रतिशत साक्षर नभइसकेका कारण पूर्ण साक्षर जिल्ला घोषणा हुन बाँकी छ । प्रदेश १ को साक्षरता ९३ प्रतिशत छ । प्रदेश सरकारले सार्वजनिक विद्यालय मार्फत डिजिटल शिक्षा प्रदान गर्ने यो कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई कम्प्युटर सम्वन्धी शिक्षा प्रदान गरिन्छ । आइतबार नै बुढिगंगाको नरग्राम माध्यामिक विद्यालय, सुन्दरहरैचा नगरपालिकाको सुकुना माध्यामिक विद्यालय र दमक नगरपालिकाको हिमालय माध्यामिक विद्यालयबाट अभिभावक साक्षरता कार्यक्रमको सुरुवात भइसकेको छ । 

अभियान आरम्भ गर्दै मुख्यमन्त्री शेरधन राईले सरल पाठ्यक्रमको माध्यमबाट सबैलाई कम्प्युटर शिक्षा प्रदान गर्ने र विश्व बजारसँग प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पान गर्ने सरकारको तयारी रहेको बताए । ‘शिक्षालाई प्रविधिसँग जोड्न डिजिटल अभियानलाई सरकारले उच्च महत्व दिएको छ,’ मुख्यमन्त्री राईले भने, ‘यो कार्यक्रम प्रदेशका सबै विद्यालयमा विस्तार गरी अनलाइन एजुकेसन तर्फ हामी बढ्ने छौंं ।’ उनले यो नेपालमै पहिलो परियोजना भएकोले धेरै चुनौती रहेको तर सबै मिलेर सफल बनाउनुको विकल्प नरहेको पनि बताएका छन् । अमेरिकामा बसेर डिजिटल एजुकेशनमा ठूलो योगदान गरिरहनुभएका डा. मेदिनी अधिकारी र ई. विपिन भण्डारीसहितका विज्ञहरु नेपाल फर्केर यो अभियानमा योगदान गरिरहेको जानकारी गराउँदै उहाँले प्रसंशा पनि गरे । विदेशमा विशेष सीप सिकेका नेपालीहरुको खाँचो नेपालमै रहेको भन्दै मुख्यमन्त्री राईले सरकारले विज्ञ सम्मेलन आयोजना गरी उनीहरुलाई स्वदेशमै योगदान गर्ने वातावरण बनाउदै जाने योजना सुनाए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले अभियान अन्तरगत शिक्षकहरुलाई अनिवार्य डिजिटल शिक्षा प्रदान गर्दै विद्यार्थी र अभिभावकलाई पनि विद्यालयमै ल्याएर कम्प्युटर शिक्षा प्रदान गर्ने गरी कार्यविधि बनेको जानकारी दिए । उनले सार्वजनिक विद्यालयहरुप्रतिको विश्वास बढाउन र अभिभावक विद्यार्थी र शिक्षकबीच समन्वय कायम गर्न यो अभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । यस कार्यक्रम अन्तरगत सबैले कम्प्युटरको ज्ञान लिनै पर्ने व्यवस्था गरिएको छ । प्रदेश सरकारले इक्वालिटी फाउण्डेसन, युनाइटेड वल्र्ड स्कुल र रोटरी इन्टरनेशनल क्लबसँगको साझेदारीमा अभियान अघि बढाएको हो । केही दिन भित्रै सरकारले सूचना प्रकाशन गरेर थप साझेदार संस्थासँग समन्वय गर्ने तयारी पनि गरेको  । 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद अमनलाल मोदी, प्रदेशसभाको सामाजिक विकास समितिका सभापति सरिता खड्का, बुढिगंगा गाँउपालिकाका अध्यक्ष लगायतले अभियानको महत्वको विषयमा बोलेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर