मुगुका सात दूधेताल ओझेलमा

मुगु । मुगु जिल्ला कर्णाली प्रदेशअन्तर्गत सबैभन्दा बढी पर्यटकीय क्षेत्र भएको मुगु जिल्लामा रहेको दूधेतालहरु पर्यटकको पर्खाइमा छन् । छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँको उत्तर दिशामा एकै ठाउँमा सात वटा दूधेताल छन् ।

हिजोआज प्रचार–प्रसारको अभावमा यी दूधेतालहरु पर्यटकको पर्खाइमा रहेका छन् । सदरमुकाम गमगढी बजारबाट दुई दिन पैदल यात्राबाट ती दूधेतालहरुमा पुग्न सकिन्छ । प्रचार–प्रसार हुन नसक्दा एकै ठाउँमा सात–सात वटा दूधेताल ओझोलमा परेका छन् । यी तालहरुको फरक विशेषता छ । यी तालहरु बाह्रै महीना दूधजस्तो सेतो देखिन्छ तर तालबाट अलि बाहिर आउँदा पानी देखिने भएकाले तालहरुको नाम दूधेताल नामकरण गरिएको स्थानीय बासिन्दा लालबहादुर बुढाको भनाइ छ ।

उनी भन्छन्, ‘यस्ता विकट बस्तीका सुन्दर तालमा राज्यको दृष्टि पुगेको भए यहाँ पर्यटकको निकै घुइँचो  लाग्थ्यो  । यी तालमा घोरल, कस्तुरी, मृग, हिमचितुवा, भालु, डाँफे–मुनाललगायतले पानी खाने र रमाउने गर्छन् ।’ यस्तो रमाइलो दृश्यले सबैको मन लोभ्याउने गरेको अर्का स्थानीयवासी गोमबहादुर बुढा बताउँछन् । 

नगरपालिकाभित्र यस्ता ताल रहे पनि प्रचार–प्रसारको कमी हुनाका साथै पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा परेकाले आगामी वर्ष सक्दो प्रचारप्रसार गरिने छायानाथ  नगरपालिकाका प्रमुख हरिजङ्ग शाही बताउँछन् । दूधेतालका साथै यहाँको चङ्खेली हिमाल, विभिन्न मठमन्दिर, गुफा र झर्नाहरु पनि प्रचार–प्रचारको अभावमा ओझेलमा परेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर