नेकपा प्रदेश २ जिल्ला कमिटीहरूको शपथग्रहण कार्यक्रम स्थगित

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश दुईको आज भनिएको शपथग्रहण कार्यक्रम स्थगित गरिएको छ । प्रदेश दुईको ६ जिल्लाको शपथग्रहण कार्यक्रम आज हुने भनिए पनि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

महोत्तरीको बर्दिवासमा शपथको सम्पूर्ण तयारी पूरा भइसकेको समयमा स्थगित गरिएको नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश दुईको प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले जानकारी दिए । शपथग्रहण कार्यक्रम आन्तरिक विवादका कारण स्थगित गरिएको बताइएको हो ।

नेकपा प्रदेश कमिटी इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले आफूखुसी प्रदेशको ६ जिल्लाका विवादित जिल्ला कमिटीलाई महोत्तरीको बर्दिवासमा शपथ गराउने तयारी गरेका थिए । ६ जिल्ला कमिटीको शपथग्रहण गराउनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल आउने कार्यक्रम समेत निश्चित गरिएको थियो ।

जिल्ला कमिटी गठन भएसँगै असन्तुष्ट पक्षधरहरूले शपथग्रहण कार्यक्रम बिथोल्ने गरी तयारी गरेकाले हुने विवादलाई ध्यानमा राखी अन्तिम चरणमा आएर कार्यक्रम स्थगित गरिएको हो ।

जिल्ला कमिटीको चयनमा मनपरी भएको भन्दै विवाद चुलिएको हो । पटक–पटक जिल्ला कमिटीको शपथग्रहण कार्यक्रम रोकिँदै आएको छ । आज भनिएको शपथग्रहण कार्यक्रममा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही र रौतहट गरी ६ जिल्ला कमिटीको शपथ गराउने तयारी गरिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर