• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मुस्लिम र हिन्दू समुदायले आज मोहर्रम पर्व मनाउँदै

कपिलवस्तु । मुस्लिम र हिन्दू समुदायले आज सामूहिक रूपमा मोहर्रम पर्व मनाउँदै छन् । मुस्लिम पात्रोअनुसार हिजरी संवत् १४४१ को मोहर्रम महिनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ मनाइँदै छ । 

मुस्लिमको पर्व भए पनि सदियौँदेखि यहाँका हिन्दूले समेत सँगसँगै मनाउने एक मात्र पर्व नै मोहर्रम भएकाले यो पर्व दुवै सम्प्रदायबीच धार्मिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको अगुवाको बुझाइ छ । मुस्लिम धार्मिक गुरु हजरत इमामे हुसैनको सम्झनास्वरूप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रतीकस्वरूप तहजियाको पूजा गर्ने प्रचलन रहेको छ । 

धार्मिक सहिष्णुता र भाइचाराको सम्बन्ध कायम गर्न हिन्दू समुदायले समेत मोहर्रमका अवसरमा शुभकामना आदानप्रदान गरी मनाउने गरेका हुन् । यता, मुस्लिम धर्मावलम्बी र हिन्दू धर्मावलम्बीले आज उत्साहसाथ मनाउने मोहर्रमका लागि जिल्लामा कागजको मूर्ति तहजियाको बिक्री बढेको छ । हिन्दू र मुस्लिम धर्मावलम्बीले मनाउने चाड भए पनि पछिल्लो समय हरेक समुदायले घरघरमा ताहजिया राखी चाड मनाउने गरेका छन् ।

आजभन्दा एक हजार चार सय ५० वर्षअघि एजिदोनोले गरेको आक्रमणमा परी मारिएका इस्लामिक गुरु हजरते इमामे हुसैनको सम्झनामा तहजिया राखेर यो चाड मनाइने गरेका छन् । हुसैनको प्रतीकस्वरूप घरघरमा तहाजियाको पूजा गर्ने चलन रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर