स्कुलमै कम्प्युटर सिक्छन् आमाहरु

विराटनगर । अप्ठ्यारोसँग माउस चलाउँदै एक जना महिला सरसफाई र त्यसको फाइदाको बारेमा कम्प्युटरमा पढ्दै थिइन् । चार दिन अघिमात्र जीवनमा पहिलो पटक उनको हातले माउस छोएको थियोे । ‘कैंचीले कपडा काटेको त धेरै वर्ष भइसकेको थियो तर कम्प्युटर पनि चलाउन सक्छु भन्ने चैं मैले सोचेको थिइन,’ सुशिला साहले भनिन्– ‘यो स्कुलले हामी अभिभावकलाई पनि कम्प्युटर पढाउँछु भनेर बोलाएपछि म त खुसि हुँदै सिक्न आएँ ।’

कक्षा ९ सम्म पढ्नु भएकी बुढिगंगा गाउँपालिका २ सख्माटोलकी सुशिलालाई चार दिनमै कम्प्युटरको माउस र कि बोर्ड चलाउन निकै सजिलो लागिसकेको छ । ‘कम्प्युटर मोवाइल जस्तो होइन गाह्रो हुन्छ भन्थे साथीहरु,’ नगरग्राम नमुना माध्यामिक विद्यालयमा कम्प्युटर सिकिरहेकी सुशिलाले भनिन् ‘आँट गर्दा त सकिने रहेछ मलाई त मोवाइल भन्दा कम्प्युटर नै सजिलो जस्तो लागिरहेको छ ।’

बुढीगंगा गाउँपालिका १ की चनर ऋषिदेव पनि आजभोली नियमित विद्यालयमा कम्प्युटर सिक्न जान्छन् । चार दिनमा कम्प्युटरमा हिसाव सिकिरहेका चनर गाउँमा समूह बचत पनि सञ्चालन गर्छन् । ‘हाम्रो टोलको बचतको हिसाब कम्प्युटरमा राख्न मन भएपनि ज्ञान थिएन,’ चनर ऋषिदेवले भने ‘विद्यालयले हामीलाई पनि सिकाउँछ भन्ने थाहापाएपछि सिक्न आएको हुँ अब बचतको हिसाब राख्ने तरिका पनि यही सिक्छु ।’

सुशिला र चनर मात्र होइन बुढिगंगा गाउँपालिकाका अन्तरगत नगरग्राम नमुना माध्यामिक विद्यालयले आफ्ना १८ जना अभिभावकहरुलाई कम्प्युटर सम्बन्धी आधारभूत सीप सिकाइरहेको छ । सिक्ने सबै महिलाहरु नै छन् । आमा समूह गठन गरेर आमाहरुलाई डिजिटल ज्ञान दिने योजना अन्तरगत आमाहरुलाई तीन महिने कम्प्युटर शिक्षा प्रदान गर्न थालेको हो । आमाले सिकेपछि घरमै छोराछोरीलाई सिकाउन सक्छन् भनेर पनि आमा समूहमा जोड दिएको कम्प्युटर शिक्षक अच्युत आचार्य बताउँछन् । 

कम्प्युटर चलाउँदै नचलाएका अभिभावकहरुलाई दुई समूहमा विभाजन गरेर सिकाउने गरिएको छ । कम्प्युटरबाट आफुलाई चाहिएको सूचना कसरी लिने, त्यसमा कसरी लेख्ने अनि कसरी सिक्ने भनेर सिकाउने तथा व्यहारिक ज्ञान दिने गरि पाठ्यक्रम तयार भएकोले सजिलै अभिभावकहरुले सिक्न सक्ने शिक्षक आचार्य बताउँछन् । दिउँसो ११ बजेदेखि २ बजेसम्म अभिभावकले कम्प्युटर सिक्छन् । शिक्षक आचार्यका अनुसार स्वास्थ्य सम्बन्धी शिक्षा, कृषि सम्वन्धी शिक्षा र अन्य प्याकेजहरु पनि छन् । कृषिमा तरकारी खेति कसरी गर्ने के कहाँ हुन्छ, कसरी उब्जाउने, फलफुल खेति तिनमा लाग्ने रोग, उपचार विधि जस्ता विषय क्रमस सिकाउने गरिएको छ । कम्प्युटर सिकिसकेपछि घर व्यवहारमा पनि प्रयोग गर्न सकुन् र आवश्यक सूचना सजिलै आफैं मोवाइलमै खोज्न सकुन भनेर यस्तो कोर्स समावेश गरिएको हो ।

बुढिगंगा ७ बाँसबारीका बन्दना झा पनि अहिले नरग्राममा कम्प्युटर चलाउन सिकिरहेका छन् । उनको छोरा आतिष झा सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । छोरासँगै विद्यालय जान्छन अनि कम्प्युटरमा नयाँ नयाँ कुरा खोजेर सिक्नुहुन्छ । ‘मैले बिबिएससम्मको पढाई सकेको छु तर कम्प्युटर सामान्य मात्र चलाउँथे ,’ झाले भने ‘विद्यालयले हामी अभिभावकलाई पनि सिकाउने भएपछि म पनि भोली अरुलाई यसकै प्याकेज सिकाउनसक्ने गरि सिक्न भनेर आएको हुँ ।’

प्रदेश सरकारले साक्षरता दिवशको अवसर पारेर डिजिटल साक्षरता अभियान सुरु गरेपछि नरग्राम नमुना मा वि, सुन्दरहरैंचा नगरपालिकाको सुकुना मा वि र दमकको हिमालय मा वि मा आइतबारबाटै अभिभावकलाई पनि कम्प्युटर शिक्षा प्रदान गर्न थालिएको छ । यो वर्ष प्रदेशका १४ वटै जिल्लाका सय विद्यालयमार्फत यो अभियान अघि बढाउने सरकारको योजना छ । दश वर्ष भित्रमा प्रदेशका सबै ५ हजार विद्यालयबाट डिजिटल शिक्षा दिइने छ । अभियान आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुभारम्भ गरेका थिए । सामाजिक विकास मन्त्री जीवन घिमिरे भन्छन् ‘हामी विद्यार्थीलाई सूचना प्रविधिको बारेमा सिकाउँछौं, आमा समूह बनाएर अभिभावकको रुपमा उहाँहरुलाई विद्यालयमा ल्याएर सिकाउँछौं, राम्रो गर्नेहरुसँग मितेरी सम्वन्धको विकास गर्छौं र पूर्व विद्यार्थी समूह बनाएर विद्यालयको पूर्वाधारमासमेत योगदान गराउँछौं । दश वर्षमा पुस्तक र झोला विस्थापित गरेर नयाँ प्रविधिबाट शिक्षा लिने अवस्थामा प्रदेशलाई पु¥याउँछौं ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर