• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

जलविद्युतमा लगानी गर्न युएईमा रहेका नेपालीसँग ऊर्जामन्त्री पुनको आग्रह (भिडियोसहित)

युएई– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् । विश्व ऊर्जा सम्मेलनमा भाग लिन अबुधावी आएका मन्त्री पुनले नेपाली राजदूतावासमा नेपाली समुदायसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै आफ्नो आर्थिक अवस्थाअनुसार लगानी गर्न नेपाली समुुदायका प्रतिनिधिलाई आग्रह गरे । 

‘अहिले लगानीका लागि नेपालमा उपयुक्त वातावरण बनेको छ, सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेर आकर्षक आयोजना अघि बढाएको छ, तपाईंहरूले पनि यसमा लगानी गरेर प्रतिफल लिनुुहोस्, ’ मन्त्री पुनले भने । 

ऊर्जामन्त्री पुनले विदेशमा रहेका नेपालीलाई लक्षित गरेर ऊर्जा मन्त्रालयले रेमिट हाइड्रोको सुरुवात गर्ने तयारी गरेको जानकारी दिँदै त्यसमा लगानी गर्न आग्रह गरे। सरकारले सम्पूर्ण जनतालाई जलविद्युत्सँग जोड्न जनताको जलविद्युत् कार्यक्रमसमेत सञ्चालनमा ल्याएको भन्दै त्यसमा सहभागी हुनसमेत उनले नेपाली समुुदायसँग आग्रह गरेका हुन् । 

मन्त्री पुनले युुएईमा बसेर देशको अर्थतन्त्रमा योगदान पुर्याएकोमा धन्यवाद दिँदै यहाँ सिकेको ज्ञान र अनुुभवसमेत लिएर देश फर्कन आग्रह गरे । उनले फरक राजनीतिक विचार र आस्थाले कुनै फरक नपर्ने भन्दै देशको हित सोच्नु सबै सचेत नागरिकको पहिलो कर्तव्य भएको बताए । उनले भने, ‘हाम्रो विचार, आस्था र सोच फरक हुनसक्छ, तर पहिलो कुरा देश हो । विकास र समृद्धि सबै विचार बोक्ने नागरिकलाई चाहिएको छ । त्यसैले हामी सबै मिलेर गरिबी र पछौटेपनविरुद्ध मिलेर लडौ ।’ 
 
नेकपा स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले सरकारले पहिलो वर्ष नीतिगत काममा ध्यान दिएको भन्दै यो वर्ष कामले गति लिने दाबी गरे । सरकारले भ्रमण वर्ष २०२० सञ्चालन गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री पुनले २० लाख पर्यटक भित्र्याउन सरकारले पूर्वाधार तयारी गरिरहेको जानकारी गराएका थिए । 

नेपाली समुदायसँगको भेटघाटका क्रममा मन्त्री पुनले भने, ‘अहिले देशमा राजनीतिक र नीतिगत स्थिरता छ, पर्यटन क्षेत्र पनि फस्टाउँदो अवस्थामा छ, त्यसका लागि पूर्वाधार निर्माणको काम पनि भइरहेको छ । भैरहवा र पोखरा एयरपोर्ट पनि चाँडै सञ्चालनमा आउँदै छ । नेपालको अर्थतन्त्रमा ५३ प्रतिशत योगदान सेवा क्षेत्रको छ, यसमा तपाईंहरूले पनि लगानी गर्नुहोस् ।’ 

मन्त्री पुनले १८ महिनामा लाइसेन्स लिएर काम नगर्ने १ सय ९ वटा जलविद्युत् कम्पनीको लाइसेन्स खारेज गरेको जानकारी दिँदै आगामी दिनमा निर्माणको चरणमा गएपछि मात्र लाइसेन्स दिने गरी सरकारले नियम बनाउने तयारी थालेको जानकारी दिए । विदेशमा रहेको नेपाली राजदूतवासले नेपाली नागरिकको सुरक्षा र सहयोगमा ध्याज पुर्याउनुपर्ने मन्त्री पुनको भनाइ थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर