• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

युरोकप छनोट : टर्की, चेक रिपब्लिक र सर्भियाको जित

एजेन्सी । सन् २०२० मा हुने युरोकपका लागि छनोटअन्तर्गत मंगलबार मध्य राति भएको समूह ‘एच’ को खेलमा टर्कीले मोलडोभामाथि ४–० ले उत्कृष्ट जित निकालेको छ । खेल अवधिभर मोडलोभाविरुद्ध हावी भएको टर्कीले पहिलो गोल गर्न भने ३७ मिनेटसम्म कुर्नुपरेको थियो । टर्कीका लागि पहिलो गोल सेन्क टोसुनले गरेका हुन् । 

पहिलो हाफमा १–० ले अगाडि रहेको टर्कीले दोस्रो हाफमा ३ गोल गरेको हो । ५७औं मिनेटमा डेनिज तुरुकले गोल गर्दै टर्कीको अग्रता दोब्बर पारे । त्यस्तै, ७९औं मिनेटमा टोसुनले व्यक्तिगद दोस्रो गोल गर्दै खेललाई ३–० को अवस्थामा पुर्याए । त्यस्तै, खेल सकिन २ मिनेट बाँकी छँदा युसुफ याजिनीले टर्कीका लागि चौथो गोल गरेका हुन् । 

चेक रिपब्लिकको शानदार जित

त्यस्तै, मंगलबार राति नै भएको समूह ‘ए’ को खेलमा चेक रिपब्लिकले मोन्टेनिग्राेलाई ३–० ले पराजित गरेको छ । चेकले तीनवटै गोल दोस्रो हाफमा गरेको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेक दोस्रो हाफमा हावी भयो ।

चेकका लागि थोमस सोसेकले ५४औं मिनेटमा गोल गर्दै चेकलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि लुकास मासोपुस्टले चेकको अग्रता दोब्बर बनाए । चेकले अतिरिक्त समयको पाँचौं मिनेटमा पेनाल्टी प्राप्त गर्यो । प्राप्त पेनाल्टी सदुपयोग गर्दै भ्लादिमिर डारिडाले चेकलाई ३–० को जित दिलाउन सफल रहे । 

सर्भियासँग लम्जेम्बर्ग पराजित

मंगलबार राति नै भएको समूह ‘बी’ को खेलमा सर्भियाले लक्जेमबर्गलाई ३–१ ले हराएको छ । ३६औं मिनेटमा अलेजान्दर मिट्रोभिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । 

पहिलो हाफमा १–० ले अगाडि रहेको सर्विभाले दोस्रो हाफमा दुई गोल गरेको छ भने १ गोल खान पुग्यो । खेलको ५५औं मिनेटमा नेमान्जा राडोनिजिकले सर्भियाको अग्रता दोब्बर पारे । ६६औं मिनेटमा लक्जेम्बर्गका डेभिड टर्पेलले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याउँदै खेलमा फर्किने प्रयास जारी राखे । तर, ७८औं मिनेटमा मिट्रोभिकले व्यक्तिगत दोस्रो गोल गर्दै सर्भियालाई ३–१ जित दिलाए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर