• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अस्पतालमा चाप बढेपछि बिरामी फर्किंदै

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट बिरामी फर्किन थालेका छन् । अस्पतालका सबै बेड बिरामीले भरिएपछि उपचारका लागि आएका बिरामी फर्किएर अन्यत्र जान बाध्य भएका हुन् । सरकारी अस्पतालमा डेंगु र भाइरल ज्वरोका बिरामीको चाप बढेपछि बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल र क्लिनिकमा जान बाध्य छन् । 

दम बढेपछि मंगलबार लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आएकी मुर्गीयानिवासी भीमकला भण्डारी बेड नभएपछि फर्किइन् । ‘अस्पतालमा ठाउँ छैन भन्छन्, सबै ज्वरो र डेंगुका बिरामी छन् रे,’ ह्विलचियरमा छोरासँग अस्पताल आएकी भण्डारीले भनिन् । बेड अभाव भएपछि कतिपय बिरामीको भुइँमै राखेर उपचार भइएको छ । कपिलवस्तुको महाराजगन्जबाट नवजात शिशुको उपचारका लागि आएकी एक दिनकी सुत्केरीले समेत भुइँमै बसेर शिशुको उपचार गराइरहेकी छिन् । 

‘राति बच्चा जन्मिएको हो, मुखबाट आवाज ननिस्किएपछि जचाउन यहाँ ल्याएका हौँ, तर अझै चिकित्सक आएका छैनन्, हामीलाई यहीँ बस्न भनिएको छ,’ सुत्केरी आस्मा खातुनले भनिन् । भाइरल ज्वरो र डेंगुको संक्रमण बढेपछि अस्पतालको आकस्मिक कक्षमा रहेका सबै बेड बिरामीले भरिएका छन् । ठाउँ अभाव भएपछि आकस्मिक कक्षमा रहेका २४ वटै बेडमा दुईदेखि तीनसम्म बिरामी राखेर उपचार गर्ने काम भइरहेको छ । 

एउटै बेडमा तीन जनासम्म बस्नु पर्दा समस्या भएको बिरामीको गुनासो छ । ‘राम्रोसँग सुत्न मिल्दैन, शरीर दुखेर अडिन सकेको छैन, महिला भएको बेडमा कसरी सुत्नु,’ डेंगुको उपचारका लागि अस्पतालमा भर्ना भएका बुटवल हाटबजारका रोशन कुमारले भने । ठाउँ अभावले एउटै बेडमा महिला र पुरुष राख्दा झनै समस्या भएको छ । 

अस्पतालमा दैनिक एक हजार एक सय बिरामीले सेवा लिँदै आएका छन् । आकस्मिक कक्षमा मात्रै दैनिक दुई सयको उपचार हुने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनालले जानकारी दिए । ‘अस्पतालमा बिरामीको चाप हुँदा एउटै बेडमा धेरै बिरामी राखेर उपचार गर्न बाध्य छौं,’ डा खनालले भने, ‘अहिले भाइरल ज्वरोको सङ्क्रमण बढी हुँदा अस्पताललाई बिरामी थेग्न समस्या भएको छ ।’

भदौको सुरुदेखि जिल्लामा डेंगु र भाइरल ज्वरोको प्रकोप बढेपछि लुम्बिनी प्रादेशिक मात्र नभई जिल्लाका सबै अस्पतालमा बिरामीको चाप छ । पछिल्लो एक हप्तामा डेंगुको संक्रमण बढेपछि अस्पतालमा बिरामीको चाप झनै बढेको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालसहित बुटवल हस्पिटल प्रालि, गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, क्रिमसन अस्पताल मणिग्राम तथा भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा बिरामीको चाप बढेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर