बाँकेबाट तीन हजार खसी काठमाडौँ पठाइँदै

नेपालगन्ज । यस वर्षकाे दसैंका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौँ पठाइने भएका छन् । गत वर्षको दसैंमा एक हजार पाँच सय खसी काठमाडौं पठाएकामा अहिले त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी संघकी अध्यक्ष गंगा शाहले जानकारी दिइन् ।  

शाहका अनुसार, बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर, महादेवपुरी, बिनौना, बैजापुर, कुसुम, फत्तेपुरलगायत गाउँमा महिलाले पालन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी संघमार्फत काठमाडौं पठाउन लागिएको हो । काठमाडौंका व्यापारीसँग मिलेर महिलाले उत्पादन गरेका ती खसी काठमाडौँ पठाइने अध्यक्ष शाहले जानकारी दिइन् ।

भारतीय खसीको तुलनामा यहाँ पालेका खसी मोटा र राम्रा भएकाले काठमाडौँलगायत शहरमा माग बढ्दो छ । महिलाले व्यावसायिकरूपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको शाहको भनाइ छ । महिला समूहमा आवद्ध दिदीबहिनीले गाउँमा पालेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घद्वारा ढकेरीमा सञ्चालित बाँके बाख्रा व्यवसाय केन्द्रमार्फत बिक्री गर्ने गरेका छन् । 

महिलाले पालेका खसीबोकाको बजारीकरणमा समस्या नहोस् भन्नका लागि ढकेरीमा एकपटकमा पाँच सय खसी बाख्रा राख्न मिल्ने नमुना केन्द्र निर्माण गरिएको केन्द्रका व्यवस्थापक कृष्ण केसीले बताए । यसलाई विस्तार गरी उक्त केन्द्रमा खसीको संख्या वृद्धि गर्दै व्यवसाय सञ्चालन गर्ने र आगामी दुई वर्षभित्रमा केन्द्रमा वार्षिक ३० हजारभन्दा बढी खसी संकलन गरी बिक्री वितरण गर्ने योजना रहेको उनले बताइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर