• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

काबुलस्थित अमेरिकी दूतावासनजिक विस्फोट

काबुल । अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर (डल्बुटिसी) मा ११ सेप्टेम्बरमा भएको हमलाको १८औं वर्षका दिन अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावासको नजिक बुधबार ठूलो विस्फोट भएको छ । अहिलेसम्म कुनै संगठनले विस्फोटको जिम्मा लिएको छैन । 

प्रत्यक्षदर्शीका अनुसार विस्फोट भएको ठाउँमा धूवाँ उडिरहेको देखिएको छ । समाचार संस्था सिन्हवाका अनुसार यो एक किसिमको रकेट ब्लास्ट हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा तालिबानीसँगको शान्ति वार्ता रद्द गरिएपछि यो घटना भएको हो । यो वार्ता ८ सेप्टेम्बरमा कैम्प डेविडमा हुने भनिएको थियो । काबुलमा ५ सेप्टेम्बरमा भएको कार बम विस्फोटमा एक अमेरिकी सैनिकसहित १२ जनाको ज्यान गएपछि ट्रम्पले शान्तिवार्ता रद्द गरेका थिए । 

यसअघि अफगानिस्तानको म्याडन वर्दक प्रान्तमा अमेरिकी एयरस्ट्राइकमा ७ नागरिकको मृत्यु भएको थियो । यो हमला आइतबार भएको थियो । अफगानिस्तानको समाचार संस्थाका अनुसार प्रान्तवासीले सरकारसँग घटनाको जाँच गर्न अपिल गरेका छन् । 

अमेरिकाको वल्र्ड ट्रेड टावर तथा पेन्टागनमा भएको हमलामा दुई हजार नौ सय ८३ जनाको ज्यान गएको थियो । यसमा अल–कायदाका प्रमुख ओसामा बिन लादेनका हात रहेको बताइएको छ । अमेरिकाले सन् २०११ को मे महिनामा लादेनको हत्या गरेको थियो ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर