• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

‘११ सेप्टेम्बर’ आक्रमणकाे १८ वर्ष : आतंकवादी विरुद्ध अझैपनि असफल अमेरिका !

अमेरिकाले नै चरमपन्थीलाई अझ बलियो बनायो

बिबीसी । १८ वर्षअघि सन् २००१, ११ सेप्टेम्बरका दिन अमेरिकाको न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण भएको थियो । यस घटनाले विश्वको राजनीतिमा ठूलो परिवर्तन ल्याएको थियो । 

अमेरिकाले थोरै समय पनि खेर नफाली अफगानिस्तानमा चरमपन्थी विरुद्ध लडाईका लागि मोर्चा खोल्यो र तालिबानलाई सत्ताबाट हटायो । 

तर, १८ वर्षपछि पनि, केही दिनअघिसम्म अमेरिका उही तालिबानसँग वार्ता गरिरहेको थियो र सम्झौँताको नजिक पुगिसकेको थियो, तब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता रद्द गरिदिए । 

कुन दिशामा उभिएको छ त अमेरिकी विदेश नीति ? यसबारे अमेरिकाको डेलावेयर विश्वविद्यालयका प्राध्यापक मुक्तदर खानको दृष्टिकोण यस्तो छः 

सन् २०१७ मा ट्रम्प प्रशासनले आफ्नो राष्ट्रिय सुरक्षा योजना जारी गर्यो । त्यसमा अमेरिकी विदेश नीति आतंक विरुद्ध विश्वव्यापी लडाईबाट हटेर पुरानो नीतिमा फर्किएको देखिन्छ, जसमा उसले चार अन्तराष्ट्रिय खतराहरुको पहिचान गर्यो । पुरै विश्वका लागि चीन र रुसको खतरा र आफ्ना लागि उत्तर कोरिया र इरानको परमाणु कार्यक्रमको खतरा । 

तर, हालको अमेरिकी विदेश नीति र बजेट जुन खतराहरुलाई ध्यानमा राखेर बनाइएको छ र जुन आतंकवादी विरुद्ध उसको लडाई थियो, त्यसबाट ऊ पछि हट्ने प्रयास गरिरहेको देखिन्छ  । 

पछिल्लो एक वर्षदेखि सिरिया, इराक र विशेषगरी अफगानिस्तानबाट आफ्नो सैनिक बललाई हटाउने प्रयास अमेरिकाले गरिरहेको देखिन्छ । किनकि अब उसलाई आतंकवादीबाट त्यति ठूलो खतरा नरहेको महशुस गरिरहेको छ, विशेषगरी इस्लामिक स्टेटको शक्ति समाप्त भएपछि । 

यति मात्रै होइन, यसै कारण अमेरिकाले जुन देशहरुमा आतंक विरुद्धको लडाईका लागि जुन आर्थिक सहायता दिँदैआएको थियो, त्यसमा पनि कटौती गरिरहेको छ । अर्थात्, अमेरिकाको आतंकवादी विरुद्धको लडाई एक तरिकाले समाप्त हुनेतर्फ बढिरहेको भन्न सकिन्छ । 

ट्रम्पको कार्यकालमा कम आक्रमण 

त्यसो त राष्ट्रपति ट्रम्पले आफ्नो तर्फबाट कुनै लडाई सुरु गरेनन् । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि कुनै लडाई सुरु गरेनन्, तर उनले पुरानो लडाईलाई अझ आक्रामक बनाएका थिए । उनकै शासनकालमा ड्रोनको प्रयोग बढ्यो र आम मानिस निराश बने । 

एक तर्फबाट ट्रम्प ट्विटरमा र बयानहरुमा अत्याधिक आक्रामक अवश्य देखिएपनि उनको विदेश नीति त्यति आक्रामक देखिएको छैन । तर, उनले ओबामा र बुशको समयमा जुन आक्रमक नीति थियो त्यसलाई जारी राखे । विशेषगरी इस्लामिक स्टेटलाई समाप्त गर्ने उद्देश्यबाट जारी नीतिलाई । 

सन् १९९०देखि अमेरिकी विदेश मन्त्रालयले अन्तराष्ट्रिय चरमन्थी घटनाहरुको बारेमा एक वार्षिक रिपोर्ट जारी गर्दै आएको छ । यदि यसलाई अध्ययन गर्ने हो भने सन् २००देखि २००१ सम्ममा विश्व भरमा औसत एक सयदेखि १५० पटक चरमपन्थी आक्रमण भएका थिए । 

तर, अमेरिका र बेलायतको इराक आक्रमणपछि चरमपन्थी आक्रमणको संख्या सन् २००४ मा ७० हजारसम्म पुगेको थियो । यीमध्ये धेरै जसो आक्रमण इराकमै भइरहेका थिए । 

अमेरिकाकै कारण बढ्यो चरमपन्थी ?

एक प्रकारले सन् २००१ सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकाले जुन कदम उठायो, त्यसले चरमपन्थीलाई समाप्त गर्नुको साटो चरमपन्थीलाई अझ बलियो बनायो, विशेषगरी मध्यपूर्वमा, इराक, सिरिया र अफगानिस्तानमा । 

जहिलेसम्म सोभियत संघ अफगानिस्तामा थियो, कहिल्यै आत्मघाती आक्रमण भएनन् । सद्दाम हुसेनले २० वर्षसम्म इराकमा अत्याचार गरे, तर कहिल्यै आत्मघाती आक्रमण भएनन् । तर जब अमेरिका दुवै देशमा पुग्यो, आत्मघाती आक्रमणहरु सुरु भए । 

यसरी जुन चरमपन्थीलाई बलियो बनाउनमा अमेरिकाको एक भूमिका छ, त्यसलाई अहिलेसम्म अमेरिकाको नीति–निर्माताले स्विकारेका छैनन् । यसै कारण हो, उनीहरुले आफ्नो नीतिहरुमा लगाएको अनुमानमा सँधै गल्ती हुन आउँछ । 

जिहादका लागि जमीन तयार 

अमेरिकाका लागि प्रमुख समस्या बनेको अल–कायदा र इस्लामिक स्टेटको जड अहिले पनि कायमै छ । मुस्लिम देशहरुमा न त सुरक्षा छ, न लोकतन्त्र नै छ, न त आर्थिक विकाश नै । सामाजिक सञ्जालका कराण यी देशहरुमा र अन्य देशहरुको जिन्दगीमा फरक सबैले देखेका छौँ । 

यसबाट जुन असन्तोष, आक्रोश र घेणा उत्पन्न भए, त्यो पनि जारी नै छ । 

म्यानमारमा रोहिंग्या मुसलमानहरुको समस्या, चीनमा भीगर मुसलमानहरुको समस्या छ र काश्मिरलाई लिएर जे कुरा लखिँदै आएको छ, त्यसबाट अन्तराष्ट्रिय स्तरमा आफूहरुमाथि अत्याचार भइरहेको र कसैले मद्दत नगरिरहेको मुसलमानहरुले महशुस गरिरहेका छन् । 

यसबाट उब्जिएको आक्रोश र असन्तोष जिहादी मानसिकतालाई हावा दिन्छ । जुन कारणले मानिसहरुलाई जिहादी बन्न उक्साउँथे, ती कारणहरु कम भएका छैनन् । 

यो सत्य हो कि जिहादीहरुसँग लड्ने संस्थाहरु र देशहरुको क्षमता बढेको छ । उनीहरुसँग जानकारीहरु बढिरहेका छन, जसबाट उनीहरु खतरालाई नियन्त्रणमा ल्याउन अवश्य सिकरहेका छन् । तर, खतराको अन्त्य गर्न सकिरहेका छैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर