कसरी सकियो ३० महिनाको कार्य १५ महिनामा ?

काठमाडौं । दक्षिण एसियामै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाईनबाट औपचारिक रुपमा बुधबार (आज)देखि डिजेल आयात भएको छ । मंगलबार भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन स्वीच थिचेर गरेका थिए । द्धयदेशका प्रधानमन्त्रीबाट औपचारिक उद्घाटन गरेसँगै भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जमा निर्माण भएको पेट्रोलियम डिपोमा औपचारिक रुपमा शुरुमा डिजेल आएको हो । 

तोकिएको समयभन्दा निकै छिटो निर्माण कार्य सम्पन्न भएको यो पाइपलाइन निकै चुनौती पन्छाएर सकिएको भन्दै इण्डियन आयल निगमले जनाएको छ । निकै घना जंगल तथा आवासीय क्षेत्रमा समेत वुद्धिमतापूर्ण तरिकाले समयमै कार्य सम्पन्न गरेको भन्दै आइओसीले नेपाल आयल निगमलाई धन्यवाद दिएको थियो । आइओसीका कार्यकारी निर्देशक पाइपलाईन प्रमुख जेपी सिन्हाले समय अगावै कार्य सम्पन्न भएकोमा आयल निगमलाई धन्यवाद दिए । त्यस्तै उनले, यो पाइपलाई प्रेमको बन्धन भएको समेत बताए । उनले भने, 'ए पाइपलाइन प्रेमका कमर्सियल बन्धन हे ।' 

निगमका अनुसार पाइपलाइन सञ्चालनपछि प्रतिघन्टा २ लाख ९४ हजार लिटर अर्थात २९५  किलोलिटर डिजेल आयात हुन्छ । अमलेखगन्जको क्षमता भने १६० किलोलिटर अर्थात एक करोड ६० लाख लिटरको मात्र रहेको छ । 

कसरी संभव भयो समय अगावै कार्य

घनाजंगलभित्र निकै चुनौतीपूर्ण रहेको नौ किलोमिटर क्षेत्रमा रहेको अमलेखगञ्जमा सबै निकायको समन्वयमा कार्यसम्पन्न भएको आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । उनले भने, 'यो हाम्रो एकल प्रयासले मात्रै नभई इण्डिन आयल कर्पोरेश, नेपालको वन मन्त्रालय, विद्युत प्राधीकरण, सडक विभाग लगायतको साथ सहयोगमा मात्रै संभव भएको हो ।' उनले थपे,' विशेषगरी आइओसीलाई विशेष धन्यवाद ।' आइओसीको कार्यक्षमता, काम गर्नका लागि आवश्यक कर्मचारीदेखि प्राविधिक दक्षताका कारण समय अगावै कार्यसम्पन्न भएको  कार्यकारी निर्देशक पौडेलले बताए । 

२०७४ फागुन २५ गतेबाट सुरु भएको पाइप लाइन विस्तारको काम भारतको लिखित इन्फ्रास्ट्रक्चरले गरेको हो । भारतकै सिमलेस लिमिटेडले उत्पादन गरेका पाइप प्रयोग गरिएको छ । 

२४ वर्षअघि नै चर्चा शुरु भएको यो परियोजनाको २०७३ चैत, २४ गते ओली र भारतीय समकक्षी मोदीले दिल्लीमा पाइपलाइनको सिलान्यास गरेका थिए । 

पाइपलाइन सञ्चालनसँगै वार्षिक एक अर्ब जोगिने

आयल निगमका अनुसार पाइपलाइन सञ्चालनपछि वार्षिक एक अर्ब रुपैयाँबराबरको ढुवानी खर्च जोगिने दाबी गरेको छ । विगतमा पेट्रोलियम पदार्थमा ढुवानी लाग्ने खर्च कम हुने, ढुवानी गर्दा बाटोमा हुने चुहावट साथै मिसावट पनि रोकिने निगमको दाबी छ । निगमका कार्यकारी निर्देशक भन्छन्, अब भारतको मोतिहारीबाट जस्तो तेल जति पठायो त्यति नै अमलेगञ्ज डिपोमा आइपुग्छ । १६ हजार किलोलिटर भण्डारण गर्न सकिने गरी ४ वटा ट्याङ्क अमलेखगन्जमा निर्माण भएका छन् । नेपाल र भारतको संयुक्त लगानी रहेको पाइपलाइन परियोजना ४ अर्ब ४० करोड (२ अर्ब ७५ करोड भारु) रुपैयाँ लागतमा सम्पन्न भएको छ । परियोजनामा भारतको ३ अर्ब २० करोड रुपैयाँ (२ अर्ब भारु) र नेपालको १ अर्ब २० करोड रुपैयाँ (७५ करोड भारु) रुपैयाँ लगानी छ । 

सुरक्षाको जिम्मा नेपाली सेनालाई, ५ वर्षमा नविकरण

पाइपलाइन सुरक्षाको जिम्मा नेपालतर्फ नेपाली सेनाले पाएको छ भने भारततर्फ तेल उद्योग सुरक्षा निर्देशनालय तथा पेट्रोलियम तथा बिस्फोटन सुरक्षा संगठनले पाएको छ । पाइपलाइनबाट ल्याइने इन्धनका सम्बन्धमा पाँचपाँच वर्षमा आइओसी र एनओसीबीच नविकरण गर्नुपर्ने व्यवस्था छ ।

४ सय ट्यांकर विस्थापित

पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउने भएसँगै चार सय ट्यांकर विस्थापित हुने भएका छन् । निगमका अनुुसार विस्थापित हुने ट्यांकरलाई देशका अन्य स्थानमा ढुवानीको व्यवस्था गरिनेछ । पाइपलाइनबाट आफूहरुको व्यवसायमा केही घाटा पुग्ने भएपनि देशको हितमा भएकोले आफूहरु खुसी रहेको बताए । चेम्बरका प्रतिनिधि तथा वीरगञ्ज पेट्रोलियम ढुवानी महासंघका अध्यक्षले घाटा सहेर पनि खुसी भएको बताए ।

चितवनको लोथरसम्म विस्तार गरिने

मोतिहारी अमलेखगञ्ज पाइपलाइन निर्माणसम्पन्न भएसँगै उक्त पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गरिने निगमले जनाएको छ । कार्यकारी निर्देशकका अनुसार लोथरसम्मको सर्भे सम्पन्न भइसकेको छ भने अन्य तीनस्थानको पनि सर्भे भइरहेको छ । 

छुटाउनु भयो कि

काठमाडौं र दिल्लीबाट स्विच थिचेर पेट्रोलियम पाइपलाइनको उद्घाटन, पाइपलाइनमार्फत डिजेल भित्रियो

‘छिटै नेपाल आउँछु' : मोदी, 'हातमा हात मिलाएर हिँड्न तयार छु' : ओली (भिडियोसहित)

काठमाडौं र दिल्लीबाट स्विच थिचेर पेट्रोलियम पाइपलाइनको उद्घाटन गरिँदै

यस्तो देखियो मोदी र ओलीले भोलि स्विच थिचेर उद्घाटन गर्ने पेट्रोलियम पाइपलाइन‍‍‍... [फोटोफिचर]
 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर