• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

जोखिम क्षेत्रमै बाक्लो बस्ती 

कालीकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–२ जितेगडा बजार बस्तीका मानिस व्यापार व्यवसायको लागि जोखिम क्षेत्रमा बसोवास गर्ने गरेका छन् ।  

हिउँदको समय होस् वा बर्खाको समय दुबै समयमा सो बस्ती उस्तै जोखिममा देखिन्छ । उक्त बजार बाढी र पहिरोको उच्च जोखिममा छ । अधिकांश व्यापारी बाहिरबाट व्यापार व्यवसाय गर्न आएका र केही स्थानीयवासीले पनि जिते बजारमा पसल थापेका छन् । 

करीब पाँच वर्षअघि राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर सडक निर्माणका बेला उनीहरूलाई क्षतिपूर्ति लिएर जान आग्रह गरिएपनि जान मानेनन् । 

बस्ती भन्दा २० मिटरको सिधा दुरीमा नदी वरिपारी सडक निर्माण गर्नुपर्ने भएकाले त्यो बस्ती जोगाउन नसक्ने निष्कर्षसहित निर्माणको जिम्मा पाएको नेपाली सेनाले स्थानीयवासीलाई घर भत्काएर सुरक्षित ठाउँमा जान आग्रह गरेको थियो । 

प्रशासनले पटक–पटक उनीहरुलाई अन्यत्रै जान सूचना पनि जारी गरेको हो । तर उनीहरुले व्यापारिक नाका, अन्यत्र उपयुक्त ठाउँको पनि समस्या हुने भन्दै कहीँ गएनन् । अहिले पनि कर्णाली नदीमा दिन प्रतिदिन पानीको बहाव बढिरहेको भए पनि त्यहाँको बस्ती जहिकोतहीँ छ । 

कर्णाली नदीले तिला नदीलाई ठेलेर बस्तीतिर पो आउने हो कि भन्ने त्रास छ । जिते बजारका साथै लालिघाट बजार पनि बाढी र पहिरोको उत्तिकै जोखिममा छ । लालिघाट बजारमा पनि कर्णाली नदीको किनारमा करीब ४० वटा व्यापारीक पसल छन् ।

विसं २०७२ मा लालिघाट गेज बजारमा पहिरो जाँदा पाँच जनाको ज्यान गएको थियो । कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्यालले जिते र लालिघाट बजारको अवस्था र जोखिम आँकलन गरिने बताउनुभयो । स्थानीयवासी सबै सरोकारवालासँग छलफल गरी जोखिमयुक्त ठाउँमा रहेको बजारको विकल्प खोजी गर्न उनको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर