• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 02:59 pm

स्वास्थ्य जोखिम बढेपछि अमेरिकामा ई–चुरोट उत्पादनमा प्रतिबन्ध

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरूबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरूले देखाएका छन् ।

सुगन्धित ई–चुरोटको कुलतमा फसेका किशोर–किशोरी युवावस्थामा पुगेपछि सूर्तीजन्य ई–चुरोट सेवन गर्नेतर्फ उत्प्रेरित हुन सक्ने देखिएको छ । पछिल्ला केही अध्ययनले सुगन्धित ई–चुरोटको सेवनकै कारण पनि बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ ।

ह्वाइट हाउसमा संवाददाताहरूसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र प्रथम महिला मेलानिया ट्रम्प ई–चुरोटको कुलतमा फसेका कारण फोक्सोको गम्भीर बिरामी भएका एक किशोरका बाबुआमाको कथा सुनेर निकै भावुक भएको बताए । ‘हामी दुवैले ती किशोरको व्यथा पढेका छौं,’ उनले भने । ‘हामीजस्तै धेरै मानिसले यो कथा पढेका छन्, र यसको सेवनबाट मानिसहरूको ज्यान गइरहेको छ ।’

ह्वाइट हाउसमा राष्ट्रपतिका साथ अमेरिकी खाद्य तथा औषधि विभाग (एफडिए) का कार्यबाहक प्रमुख नेड सार्पलेस र अमेरिकी स्वास्थ्यमन्त्री अलेक्स अजर पनि सहभागी हुनुहुन्थ्यो । ई–चुरोटको नियमन गर्ने एफडिए अमेरिकाको शक्तिशाली सरकारी निकाय हो । त्यस अवसरमा स्वास्थ्यमन्त्री अजरले आगामी साता ई–चुरोटका बारेमा नयाँ नियमहरु ल्याइने बताए । 

सूर्तीको स्वाद भएका बाहेक अरू सबै किसिमका सुगन्धित ई–चुरोट बजारमा अब बेच्न पाइने छैन, उनले भने । उनले यसका लागि व्यवसायीलाई ३० दिनको समयावधि दिइने जानकारी दिए । सन् २०१९ मै गरिएको एक अध्ययनमा माध्यमिक तहमा अध्ययन गर्नेमध्ये एक तिहाई विद्यार्थीले सुगन्धित ई–चुरोट सेवन गर्ने गरेको देखिएको छ । 

अधिकांश सेवनकर्ताले फलफूल, मेन्थोल वा मिन्ट (पुदिना) को स्वाद भएका ई–चुरोट रुचाएका थिए । तत्कालका लागि सूर्तीको स्वाद भएका ई–चुरोटमा प्रतिबन्धहरू नलगाए पनि २०२० को मेदेखि उत्पादकहरुले एफडीएबाट स्वीकृति लिनुपर्नेछ । 

सो समाचार सार्वजनिक भएलगत्तै अमेरिकामा च्याउ उम्रिएझैं फैलिएका ई–चुरोट उत्पादकमा छटपटी भएको छ । ग्रान्ड भ्यू रिसर्चका अनुसार सन् २०१८ मा विश्वभर १० अर्ब २० करोड मूल्य बराबरको ई–चुरोट उत्पादन भएको थियो । 

एफडिएको सर्वेक्षणमा समेटिएका ई–चुरोट सेवनकर्तामध्ये चार सय ५० जनाभन्दा बढीले आफूहरू बिरामी परेको बताएका थिए । उनीहरूले आफूहरूलाई श्वास फेर्न कठिन भएको र छाती दुःखेको जनाएका थिए । कतिपयलाई अस्पतालमा भर्ना गर्नुपरेको थियो भने केहीलाई भेन्टिलेटरमा राख्नुपरेको थियो ।

एकजना बिरामीको बेहोस भएका कारण अस्पतालमा भर्ना गरिएको र होस खुलेपछि उनको फोक्सो प्रत्यारोपण गर्नुपर्ने अवस्था देखिएको चिकित्सकहरुले बताएका छन् । अमेरिकी रोग नियन्त्रण केन्द्रले ई–चुरोटको सेवन तत्काल बन्द गर्न मानिसहरूलाई आग्रह गरेको छ । केन्द्रले यस चुरोटका बारेमा अनुसन्धान थालिएको जनाएको छ । 

संयुक्तराज्य अमेरिकामा सन् २००६ देखि नै ई–चुरोट बजारमा देखिएको हो । परम्परागत सूर्तीसेवनको तुलनामा यसलाई निकै सुरक्षित मानिएको थियो । तर विज्ञहरूले ई–चुरोट पनि स्वास्थ्यका लागि हानिकारक रहेको चेतावनी दिइरहेका थिए ।

परम्परागत चुरोटमा पाइने सात हजार किसमका रसायन ई–चुरोटमा नहुने भएपनि केही तत्वहरु निकै हानिकारक पाइएका छन् । ई–चुरोटको धुवाँमा धातु समेत पाइएको अमेरिकी संसद कंग्रेसमा सन् २०१८ मा बुझाइएको एक प्रतिवेदनमा उल्लेख छ । 

स्वास्थ्य समस्या निम्त्याउन थालेको यस ई–चुरोटका बारेमा अहिले अमेरिकी समाज र राजनीतिक नेताहरुले पनि चासो दिन थालेको पाइएको छ । 

राष्ट्रपति ट्रम्पको घोषणालाई अमेरिकाका दुबै दलले समर्थन जनाएका छन् । रिपब्लीकन पार्टीका प्रभावशाली नेता मिट रम्नी र डेमोक्र्याट पार्टीका सिनेट ह्विप डिक डरबिन सहित धेरै डेमोक्र्या नेताले राष्ट्रपतिको कदमको स्वागत गरेका छन् ।

अमेरिकी अर्बपति व्यापारी एवं न्युयोर्क पूर्व मेयर माइकल ब्लुमबर्गले मंगलबार ई–चुरोट प्रतिबन्ध लगाउने अभियानमा सघाउन १६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले यस चुरोटलाई तत्काल प्रतिबन्ध लगाउन माग गर्नुभएको छ ।

अमेरिकी बजारमा प्रमुख ई–चुरोट उत्पादक कम्पनी जूलले गरिरहेको विज्ञापनप्रति पनि सर्वत्र आक्रोश व्यक्त गरिएको छ । जूलले सूर्तिसेवन भन्दा ई–चुरोट हानिकारक नरहेको जिकिर गर्दै विज्ञापन गरेको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पर्यटनमन्त्रीको योजना सफल हुँदै : ज्येष्ठ नागरिकले अब ५ सय रुपैयाँमा प्लेन चढ्न पाउने

  • ६ असोज, २०७६

काठमाडौं । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँ हवाई भाडामा नै सेवा दिने भएको छ ।  कम्पनीले यही

चार बीमा कम्पनीलाई बीमा समितिको सर्कुलर 

  • ६ असोज, २०७६

काठमाडौं । वैदेशिक रोजगार (म्यादी जीवन बीमा) को बीमा शुल्क अनलाईनबाट भुक्तानी गर्ने व्यवस्था गर्न  बीमा समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ

राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर १३ देखि

  • ६ असोज, २०७६

काठमाडौं । पश्चिम नवलपरासीमा आगामी मङ्सिर १३ देखि २३ गतेसम्म  राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६ को आयोजना हुने भएको छ ।  कृषि,  पर्यटन,