• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

उपराष्ट्रपति पुनसँग जर्मन राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड स्क्याफेरले शिष्टाचार भेट गरेका छन् । बिहीबार अपराह्न उपराष्ट्रपति भवन हरितगृहमा राजदूत रोल्यान्डले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् । 

भेटमा उपराष्ट्रपतिले नेपाल जर्मनी सम्बन्ध अत्यन्त प्रगाढ र सौहार्दपूर्ण रहिआएको बताए । उनले जनस्तरसम्म फैलिएको सम्बन्धलाई विस्तार गर्दै जानुपर्ने बताए । उपराष्ट्रपतिले राजनीतिक स्थायित्वसँगै नेपाल वैदेशिक लगानीका लागि पूर्ण सुरक्षित गन्तव्य बनेको उल्लेख गर्दै जर्मनीको निजी क्षेत्रलाई नेपालमा लगानीका लागि समन्वय गरिदिन आग्रह गरेका थिए । ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार र निजी क्षेत्रसँगै वैदेशिक लगानीको खाँचो छ,’ उनले भने, ‘जर्मनी सरकार र जर्मनीको निजी क्षेत्रबाट लगानीको अपेक्षा गरेका छौं ।’

उपराष्ट्रपतिले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रूपमा मनाउन लागेको जानकारी गराउँदै भ्रमण वर्ष वैदेशिक लगानीकर्ताहरूका लागि फलदायी हुने विश्वास व्यक्त गरे । ‘भ्रमण वर्षमा भ्रमणका साथै  लगानीको सम्भाव्यताहरूको अध्ययन पनि होस् भन्ने हाम्रो चाहना छ,’ उनले भने, ‘जर्मनीका व्यवसायी भ्रमण वर्षमा भ्रमण गरुन्, लगानीको सम्भाव्यता अध्ययन गरुन् र लगानी पनि गरुन् ।’

उपराष्ट्रपतिसँगको भेटमा राजदूत रोल्यान्डले जर्मनीको निजी क्षेत्र नेपालमा लगानी गर्न तत्पर रहेको बताए । ‘नेपालले नयाँ नयाँ फड्को मार्दै गएको छ । राजनीतिक स्थिरतापछि यहाँ लगानीमैत्री वातावरण बनेको छ,’ उनले भने, ‘अक्टुबर २ मा जर्मनीको ६० वटा कम्पनीका प्रतिनिधि नेपाल भ्रमणमा आउँछन्, उनीहरूले लगानीको सम्भावना अध्ययन गर्नेछन् ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर