• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

उद्योग मन्त्री मातृका यादव र बेलारुसका राजदुतबिच भेटवार्ता

नेपालमा लगानीको लागि प्रशस्त अवसर छ : मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव र नेपालका लागि बेलारुसका गैर आवासिय महामहिम राजदुत एन्ड्रे ई जियसबीच भेटवार्ता भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयस्थित मन्त्रीको कार्यकक्षमा मन्त्री यादव र राजदुत जियसबीच भेटवार्ता भएको हो ।

भेटघाटको क्रममा मन्त्री यादवले नेपालमा लगानीको लागि प्रशस्त अवसर रहेको र लगानीको वातावरण समेत बनेको बताए । दुई ठुला देश भारत र चीनको बीचमा नेपाल रहेकोले ती बजारमा अतिकम विकसित राष्ट्रको नाताले विभिन्न सुविधाहरु रहेकोले लगानीको लागि नेपाल उपयुक्त स्थान भएको बताए । द्विपक्षीय व्यापार र लगानीको क्षेत्रमा आवश्यक कार्य गर्न हाललाई दुबै पक्षबाट सम्पर्क व्यक्ति तोकेर अगाडि बढ्न सकिने विचार राख्दै मन्त्री यादवले बेलारुसलाई नेपालमा स्थायी दुतावास खोल्न समेत आग्रह गरे ।

जवाफमा राजदुत जियसले नेपाल र बेलारुसको सम्वन्ध राम्रो भएको तर यो पर्याप्त नभएकोले दुई देशबीचको सम्बन्धलाई व्यवसायिकस्तरमा विकास गर्न चाहेको बताए । वार्षिक ४०÷५० हजार डलरको कारोवारबाट यसलाई माथि उठाउनुपर्ने विचार उनले राखे । यसका लागि द्विपक्षिय व्यापार र लगानी बढाउनुपर्ने विचार समेत उनले राखे ।

बेलारुस खानी उद्योग, विज्ञान प्रविधि र ट्रक निर्माणमा विश्वमा नै अग्रस्थानमा रहेकोले ती विषयहरुमा बेलारुसबाट नेपालमा व्यापार र लगानी आउन सक्ने सम्भावना रहेको उनले बताए । बेलारुसले नेपालमा गर्न सक्ने लगानी र व्यापारको क्षेत्र र वस्तुहरुको पहिचान गर्न सकिने बताउदै राजदुत जियसले यसमा नेपाललाई सहयोग गर्न बेलारुस तयार रहेको समेत बताए । यसको लागि केही संयन्त्रगत व्यवस्थाको आवश्यकता रहने पनि उनले बताए । बेलारुसले यस प्रकारका कार्यहरु भारत र बंगलादेशसँग अगाडि वढाउदा दुई पक्षीय आयोग गठन गरिएको र नेपालको सम्बन्धमा पनि सोहि प्रकारको संयन्त्र मार्फत कार्य गर्न सकिने जानकारी गराए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर