धनुषाका किसानलाई खडेरीको पीडा, उत्पादनमा ह्रास आउने सम्भावना

जनकपुरधाम । बाढीले धान खोती बगाएपछि पुनः धान रोपाई गरेका धनुषाका किसानहरु अहिले खडेरीको पीडा खेप्न बाध्य भएका छन् । धान रोपाई पछि एक थोपा पनि पानी नपरेका कारण किसानहरु सिचाई अभावका कारण पीडामा छन् ।

असार २७ र २८ गतेको वर्षा अघि धान रोपाई गरेका कतिपय किसानहरुको धान बाढीले बगाएपछि फेरी धान रोपाई गर्नु परेको थियो । बाँकी किसानहरु समयमा धान रोपाई समयमा गर्न सकेनन् । धनुषाका १० प्रतिशत किसान धानको बिया अभावमा रोपाई गर्न सकेनन् । धनुषाको कुल ६० हजार हेक्टर खेती योग्य जग्गा मध्ये ५४ हजार हेक्टर जग्गामा धान रोपाई भएको कृषि ज्ञान अध्ययन केन्द्र धनुषाका प्रमुख शंकर प्रसाद साहले जानकारी दिएका छन् । 

उनले धनुषाका किसानहरु अहिले नै खडेरीको चपेटमा परिसकेका छन्, अहिले नै १५ देखि २० प्रतिशत धान उत्पादनमा ह्रास आईसकेको बताए । प्रमुख साहले भने ‘ १५ देखि २० प्रतिशत धानको उत्पादनमा ह्रास त आई सकेको छ यही स्थिति रही रह्यो भने ५० प्रतिशत भन्दा बढी धान खेतीमा क्षति पुग्ने सम्भावना छ ।’

कृषि ज्ञान अध्ययन केन्द्र धनुषाका अनुसार बाढी तथा खडेरीबाट सबैभन्दा बढी प्रभावित मुखियापटी मुसहरनिया र जनकनन्दनी गाउँपालिका रहेको छ । यी दूबै स्थानीय तहमा धेरै कम मात्रामा धान रोपाई भएको केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख साहले सिचाई भएको स्थानमा मात्रै धान उत्पादन हुने सम्भावना रहेको बताए । पानी नपरेका कारण पानीलाई रोक्ने शक्ति माटोमा कमजोर भएको र किसानहरुले मोटर तथा दमकलबाट पानी पटाए पनि किसानहरुलाई आराम गर्न सक्ने स्थिति नरहेको उनको भनाई छ । यसले किसानहरुको व्ययभार झनै बढेको छ । 

किसानलाई मलको पनि चिन्ता
किसानहरुलाई बाढी र खडेरीले पीडामा पुर्याएको छ नै त्यसमाथि धनुषाका किसानहरु मलको अभावमा समेत मर्कामा परेका छन् । जसो तसो धान रोपाई गरेका किसानहरु मोटर तथा दमकलले खेतमा पानी पटाई रहेका छन् । सिंचाई अभावमा किसानहरुलाई मोटर तथा दमकलकै भर पर्नु परिरहेको छ । तर खेतीपातीका लागि आवश्यक मलको अभावले पनि किसानहरु चिन्तित छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१३ पिडारीका किसान उपेन्द्र साहले पानी अभाव र पछी डुबानको समस्या समाधान भएपछि ढिलो गरी धान रोप्न सुरु गरे । जसोतसो धान रोप्न सुरु गरेका उनलाई अहिले फेरि मलको चिन्ताले सताएको छ । मलका लागि बारम्बार कृषि सामग्री कम्पनी लिमिटेड धनुषा धाउँदै आए पनि  उनी मल नपाएर हरेक दिन रित्तै हात फर्किन्छन् । 

खेतमा धान रोपेलगत्तै आवश्यक पर्ने डीएपी मल नपाएपछि उनी निकै चिन्तित छन् । ‘डीएपी पाउने आशामा तीन–चारपटक साल्ट्र ट्रेडिङ र कृषि सामग्रीमा धाइसकेँ तर हरेक दिन रित्तै हात फर्किनु परेको छ’ उपेन्द्र साहले भने, ‘त्यहाँका कर्मचारीहरूले भदौ मसान्तमा मात्र डीएपी आउँछ भनेर किसानहरूलाई रित्तो हात फर्काउँछन् ।’  

अविरल वर्षाले धानको बीउ डुबानमा परेर कुहिएको भन्दै बीउ ठूलो हुँदै जान थालेपछि धान रोप्न सुरु गरेको उनले बताए । धान रोप्नुअघि नै त्यो बीउमा मल आवश्यक पर्ने गरेको उनले बताए । 

समयमा मल हाल्न नपाएपछि उत्पादन घट्ने चिन्ताले  उनलाई सताएको छ । 

गत वर्ष पनि धानको सिजनमा डीएपी नपाएका किसानहरूले यस वर्ष पनि आवश्यक परेको बेला जिल्लामा मल नपाएपछि भारतीय बजारबाट ल्याई रहेका छन् ।

भारतबाट मल ल्याउनु रहर नभई बाध्यता रहको भन्दै भारतमा सहज र सस्तोमा गुणस्तरीहिन मल पाउने गरेको उनले बताए । तर, नेपालमा राम्रो मल भएपनि सहजै किसानले उचित रेटमा नपाएको उनले गुनासो गरे ।

‘उचित रेटमा डिलरबला र दलालले मात्र पाउँछन्,’ उनले भने, ‘किसान कहिले पनि उचित मुल्य र सहज रुपमा मल पाउँदैनन् ।’ उनले वर्षौंदेखि किसानले सिजनमा माग गरेको मल पाउन नसकेको भए पनि सरकारले कहिल्यै ध्यान नदिएको गुनासो गरे । ‘चाहिएका बेला कहिल्यै मल मिल्दैन । दिए पनि डीएपी चाहिएको बेला युरिया दिन्छन्, युरिया चाहिएको बेला डीएपी । सरकारले कृषिलाई प्राथमिकता दिने बताउँदै आएको भए पनि समस्या समाधानका लागि भने कहिल्यै पहल गर्दैन,’ किसान गोपीलालले दुखेसो पोखे ।

किसानहरुलाई मल दिने व्यवस्था नरहेको,’ कृषि सामग्री कम्पनी लिमिटेड धनुषाका प्रमुख आलोक कुमार झाले , ‘सहकारी मार्फत जो कोही किसान आए मल उपलब्ध गराउन कुनै प्रकारको समस्या छैन । उनले भने किसानलाई हरेक सिजनमा कम्तिमा ३ हजार मेट्रिकटन डिएपि र ३ हजार मेट्रि«क टन युरिया माग रहँदै आएको बताए । 

मल खाद्यको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गर्दै आएको छ । आपूर्तीको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहेपनि किसानहरु सहज रुपमा कुनै वर्ष मल नपाउने गरेको किसानहरुको गुनासो छ । 

कृषि सामग्री कम्पनी लिमिटेड धनुषाका प्रमुख झाले कृषि सामग्री कम्पनीसँग हजार ४ हजार ४ सय ३९ बोरा डिएपी, युरिया ४ सय ४० बोरा र पोटास २ हजार ८ सय ४० बोरा मल रहेको छ । 

धनुषाको कुन ठाउँमा कति धान रोपाई ?
कृषि सेवा केन्द्र जनकपुरधाम अन्तर्गत पर्ने बसविटीमा ३ सय ६ हेक्टर, कुर्थामा ५ सय ६ हेक्टर, जनकपुरधाममा २ हजार ७ सय हेक्टर, बेंगा शिवपुरमा ९ सय ४५ हेक्टरमा धान रोपाई भएको छ । त्यस्तै, कृषि सेवा केन्द्र यदुकोहा अन्तर्गत यदुकोहामा ३ सय ७७, धबौलीमा ८ सय ५०, हठीपुर हरवारा ६ सय २८, गोठ कोयलपुरमा ४ सय १७, ननुपटीमा ५ सय ३७ हेक्टरमा धान रोपाई भएको छ ।

कृषि सेवा केन्द्र नगराइन अन्तर्गत फुलगामामा १ हजार ४ सय ८६, तुलसियाही निकासमा ५ सय ७५, बहेडा बेला ६ सय ८६, देवडिहामा ६ सय ६५, नगराइनमा ८ सय ८७ हेक्टर जग्गामा धान रोपाई भएको हो ।

त्यस्तै कृषि सेवा केन्द्र खजुरी अन्तर्गत ठाडी झिझा ९ सय ६८, माची झिटकैयामा ९ सय ३४, खजुरीमा ४ सय ८८, बल्हा गोठमा ३ सय ८६ हेक्टर जग्गामा धान रोपाई भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर