• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

६५ वर्ष भईन्, पूर्णकला कामीले न सरकारी सेवा , न नागरिकता पाईन

पाल्पा । ६५ वर्षको उमेरसम्म पनि नागरिकता नलिएको भन्दा जो कोहीलाई पत्याउन गाह्रो हुनसक्छ । पाल्पा रैनादेवी छहरा गाउँपालिका ४, डोकोडाँडाकी एक महिलाको ६५ वर्षको उमेर हुँदापनि नागरिकता बन्न सकेको छैन् । 

पाल्पाकी पूर्ण कुमारी कामीले नागरिकता नपाएकी हुन् । माइतीको समेत पहिचान नभएका कारण उनी नागरिकता लिनबाट बञ्चित भएकी हुन् ।

पूर्णकुमारीलाई नागरिकताबारे जानकारी नै छैन्, न उनी कहिल्यै सरकारी कार्यालयमा कुनै सेवाका लागि गएकी छिन, न कुनै पहल नै । 

गुल्मीको तम्घास नै आफ्नो माइतीगाउँ बताउने पूर्णकुमारीले पाल्पाका डिलबहादुर कामीसंग विवाह गरेकी थिइन् । डोकेडाँडामै बसोबास गर्दै आएका डिलबहादुरले कामीसंग दोस्रो विवाह गरेका हुन् ।  

‘सानो छदाँ पाल्पाको ठूलो हटियामा नेवारले लिएको सम्झना मात्र छ । सानै उमेरमा माइतबाट ल्याइएकोले सबै कुरा थाहा छैन । गुल्मीको तम्घाँसतिर मेरो माइत हो भन्ने मात्र थाहा छ,’ समाचार दैनिकसंगको कुराकानीमा पूर्णकुमारीले भनिन् । 

कामीलाई आफ्नो माईतीघरका बारेमासमेत जानकारी छैन ।

विवाहित महिलाको नागरिकता बनाउन माइती आमाबुबाको नागरिकता अनिवार्य रहेको छ । माईतीघरको कुनै जानकारी नरहेकी कामीले विवाहदर्ता गर्न पनि पाएकी छैनिन् ।  नागरिकता जारी हुन नसक्दा बुढेसकालमा समस्या खेप्नपरेको उनले गुनासो गरिन् । 

वंशजका आधारमा १६ वर्षदेखि नै नागरिकता पाउने व्यवस्था नेपाल सरकारको भएपनि कामीले भने ६५ वर्षको उमेरसम्म पनि नागरिकता पाउन नसक्दा सामाजिक सुरक्षा भत्ता समेत पाउन सकेकी छैनन । सामान्य लेखपढ गर्नसमेत नजान्ने उनले बुढेसकालमा पनि अन्य मजदुरी गर्न नसक्ने बताईन । 

आफू र श्रीमानमात्र बस्ने सानो झुपडीमा उनिहरुले मेलापात गरी साँझविहान चुलोमा आगो बाल्ने गरेका छन । श्रीमानको चार महिनामा चार हजार वृद्ध भत्ता आउने गर्छ । त्यही नै परिवारका लागि छाक जुटाउन सहयोग भएको छ ।

नागरिकता बनाइदिन कहीकतैबाट पहल नहुँदा वृद्धा महिला समस्याको भारी बाहेक अरु केही छैन । उनले स्वास्थ्य बीमा, दलित जेष्ठ नागरिकका सुविधा पाउन मुस्किल छ ।

डिलबहादुरका जेठी श्रीमतितर्फ ३ छोरा र १ छोरी छन् । दुवैजना बुढेसकाल लागेकोले काम गर्न सक्दैनन् । बुढेसकालमा पूर्णकुमारीलाई नागरिकता बनाउन रहर जागेको छ ।

रैनादेवी छहरा गाउँपालिका–४ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले गाउँपालिका अध्यक्ष संरक्षकत्वमा नागरिकता जारी गर्ने व्यवस्था रहेको बताए । सानो झुपडीमा बस्दै आएका कामी परिवारको घर समेत भुकम्पले भत्काएपछि अहिले गाउँपालिकाको सहयोगमा घर निर्माण गरेको प्रवक्ता पोखरेलले बताए ।

यतिको उमेरसम्म नागरिकता बन्न नसकेको भएपनि अब भने गाउँपालिकाका अध्यक्षको संरक्षकत्वमा पूर्णकला कामीको नागरिकता बनाउन सहयोग गर्ने  पोखरेलको बताए । आफ्नाहरु को कहाँ छन भन्ने केही जानकारी नभएकी पूर्णकलाको साथमा श्रीमान बाहेक कोही छैन ।

सबै तस्बिरहरू ः कमल अधिकारी/पाल्पा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर