रसिया भ्रमणमा रहेको उद्योग संघको टोलीद्वारा राजदुतावासमा छलफल

बुटवल । बैदेशिक भ्रमणका क्रममा रसिया पुगेको रुपन्देही उद्योग संघको प्रतिनिधि मण्डलले मस्कोस्थित नेपाली राजदुतावासमा आयोजित स्वागत तथा छलफल कार्यक्रम सहभागिता जनाउँदै अन्तरक्रिया गरेको छ ।

संघको बार्षिक कार्यक्रम अन्तरगत बैदेशिक भ्रमणमा गएको टोलीले राजदुतावासमा राजदुतसँग छलफल गरेको भ्रमण टोलीमा रहेका संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताए । 

एनआरएन अन्तराष्ट्रिय समन्वय कमिटीको समन्वयमा भएको कार्यक्रममा नेपाली राजदुत ऋषिराम घिमिरेले नेपाली उद्योगी टोलीलाई स्वागत गर्दै नेपालमा राजनीतिक स्थायित्वसँगै व्यवसाय विस्तारको सम्भावना बढेको हुँदा उद्योगीहरुले त्यसतर्फ ध्यान दिन आग्रह गरे । 
राजदुत घिमिरेले नेपाल र रसियावीचको व्यापार घाटा कम गर्न के गर्न सकिन्छ भन्ने बारेमा दुतावास चिन्तित रहेको बताउँदै त्यसको अध्ययन भैरहेको जानकारी गराए । उनले रसियामा नेपाली चिया, पश्मिना, गलैचा र हस्तकलाका सामाग्रीको राम्रो माग रहेको स्मरण गराउँदै त्यसको विस्तारका लागि नेपालका उद्योगीहरुसँग समन्वय र सहकार्य गर्ने वातावरण निर्माण जरुरी रहेको बताए । 

कार्यक्रममा भ्रमणको उद्देश्यका बारेमा प्रकास पार्दै संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले विश्वमा भैरहेको औद्योगिक विकास र त्यसबाट नेपाली उद्योगीहरुले कसरी फाइदा लिन सकिन्छ भन्ने उद्देश्य भ्रमणको रहेको बताए । अध्यक्ष अधिकारीले रुपन्देही जिल्ला औद्योगिक हबको रुपमा विस्तार हुँदै गइरहेको सन्र्दभमा भ्रमणले अनुभव साटासाट गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । 

त्यस अवसरमा अध्यक्ष अधिकारीले रसियामा रहेका एनआरएनका सदस्य लगानीकर्ताहरुलाई रुपन्देहीमा लगानी गर्न आग्रह पनि गरे । 

कार्यक्रममा एनआरएनका अध्यक्ष शिवमणी भुर्तेलले रसियाको व्यवसायको स्वरुप र सम्भावनाका बारेमा जानकारी गराउँदै नेपाली उत्पादनको वजारको खोजीसँगै विदेशमा सिकेको शिप, ज्ञान र लगानी स्वदेशमा भित्र्याउन पहल गर्दै आएको जानकारी गराए । 

कार्यक्रममा एनआरएन अन्तराष्ट्रिय समन्वय कमिटीका महासचिव बद्री केसी, निवर्तमान अध्यक्ष रामेश्वर गौतम, उपाध्यक्ष गोविन्द आचार्य, सल्लाहाकार गणेश रामदाम लगायत आर्थिक क्षेत्रका बारेमा चर्चा गरेको उद्योग संघले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर