• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

गणेश रसिककाे ‘पेरुङ्गो’ संस्करण सार्वजनिक

काठमाडौं । साहित्यकार गणेश रसिक आफ्ना पाँच पुस्तकको ‘पेरुङ्गो’ लिएर आएका छन् । शुक्रबार प्रज्ञा प्रतिष्ठानमा भैरव थापा, उर्मिला श्रेष्ठ, केदारभक्त माथेमा, रायन र रसिकले पुस्तक सार्वजनिक गरेका हुन् । यो पेरुङ्गोमा ‘छपक्कै मनमा बसेकाहरू’ (व्यक्ति संस्मरण) र ‘ताराभन्दा सपना धेरै’ (गीत संग्रह) नयाँ कृति हुन् भने ‘दशगजमा उभिएर’, ‘मुनिया र उसको छोरो‘ र ‘आकाशगंगाका ओतमुनि’लाई सांग्रिला बुक्सले पुनः प्रकाशन गरेको हो ।

पुस्तक सार्वजिक समारोहमा गणेश रसिकका बारेमा बोल्दै कवि प्रणिका कोयूले रसिकका गीतहरूले उचित न्याय नपाएको बताइन् । अल्प जानकारी र पूर्वाग्रही सोचले रसिकले लेखेका गीत अरुका नाममा छापामा आउँदा त्यसले ननिको लागेको सुनाइन् ।

कार्यक्रममा लेकाली समुहका सदस्य हिरण्य भोजपुरेले आफ्ना र रसिकका असमानताका बाबजुद एक अर्कालाई सदैव सहयोग गरेको स्मरण गरे । उनले भने, ‘रसिकजी र मेरो केही मिल्दैन । म टोपी नलगाउने, उहाँलाई मैले बिनाटोपी देखेकै छैन । म ताल परे कट्टु (हाफपाइन्ट) पनि लगाउँछु, उहाँले जिन्स लगाएको देखेको छैन ।’ उनले बीसको दशकमा भएको कविता प्रतियोगितामा आफू तृतीय, उर्मिला श्रेष्ठ द्वितीय र रसिक प्रथम भएकाले लेकाली समूहमा को प्रतिभाशाली छ भन्ने कुरा बुझ्न सकिने बताए ।

समालोचक तथा कवि डा. गीत त्रिपाठीले ‘छपक्कै मनमा बसेकाहरू’ मा रक्सि र चुरोटको पुरुष सर्जकसँगको समाजशास्त्रीय सन्दर्भ बुझ्न निकै महत्वपूर्ण कृति भएको बताइन् । धेरैजसो पुरुष सर्जकहरु रक्सी र चुरोटको लतमा डुबेर अकालमै मृत्यू भएकोले कृतिले त्यो पक्षमा पनि पाठकको ध्यान आकृष्ट गर्ने उनको कथन थियो । ‘यो करुणा र संवेदनाको बेजोड कृति हो’, उनले थपिन् ।

प्राध्यापक केदारभक्त माथेमाले ‘दशगजामा उभिएर’ कृतिमा रसिकको सरलताले आफूलाई छोएको बताए भने ‘छपक्कै मनमा बसेकाहरु’ ले रसिकको स्मरण शक्ति र ससना विवरणको प्रस्तुती बेजोड रहेको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर