• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

खास के भएको थियो नेपालगन्ज विमानस्थलमा ?

सुर्खेत । ‘उडानमा ढिलाइ’ भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि नेपालगन्ज विमानस्थलमा गरिएको दुर्व्यवहार र अपशब्द सामाजिक सञ्जालमा छाएको छ । तर, प्रचार गरिएको जस्तो मन्त्रीको कारण उडानमा एक घन्टा ढिलो भएको भने थिएन ।

मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सव कार्यक्रमका लागि कैलालीको टीकापुर पुगेका थिए । मन्त्री भट्टराईको शनिबार नै धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्किने पूर्वनिर्धारित तालिका थियो । तर, टीकापुरमा कार्यक्रम ढिलो भएपछि धनगढीको अन्तिम उडानबाट फर्किन सम्भव भएन ।

आइतबार, २९ भदौ २०७६ प्रतिनिधिसभामा मन्त्रालयका बारेमा संसदहरूको उत्तर दिनुपर्ने कार्यतालिका रहेको कारण मन्त्रीलाई शनिबार नै काठमाडौं फर्किनुपर्ने दबाब थियो । त्यही कारण मन्त्री बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्किन धनगढीबाट नेपालगन्ज गएका थिए। करिब ६ः४० मा यात्रुहरूको बोर्डिङ भएको थियो । यात्रुहरूभन्दा १५ मिनेट ढिला गरी करिब ६ः५५ तिर मन्त्री विमानस्थल पुगेका थिए । 

नेपालगन्ज विमानस्थल पुग्नेबित्तिकै ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेको तीन–चार जनाको समूहले तीव्र होहल्ला गरेका थिए । त्यो टोलीमध्येका एकजनाले ‘पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् ? हामीले त्यो कहाँ बिर्सेका छौं र ?’ भन्दै अपशब्द प्रयोग गरेका थिए । उनीहरूले विमानमा नै मन्त्रीलाई ‘अब देखाइदिने’ चुनौतीसमेत दिएका थिए ।

ज्ञानेन्द्र शाहीलगायत उनकाे समूहले ‘हामी त्यसै छोड्दैनौं’ भन्दै अपशब्द प्रयोग गरेका थिए । ज्ञानेन्द्र शाहीलगायतका समूह पनि त्यही विमानबाट काठमाडौं फर्किंदै थिए । ज्ञानेन्द्र शाहीको समूह नेपालगन्जमा एक विरोधसभा गर्न पुगेका थिए । त्यो सभामा पनि शाहीले सरकार र गणतन्त्रको तीव्र विरोध गरेका थिए । विमानमा समेत ज्ञानेन्द्र शाहीले मन्त्रीलाई दुर्व्यवहारका लागि अन्य यात्रुहरूलाई समेत हौस्याएका थिए । शाहीले यो घटनालगत्तै मन्त्रीलाई ‘रामधुलाइ’ गरेको भन्दै लेखेका छन् । 

शाही पछिल्लो समयमा सरकार र गणतन्त्र विरुद्धमा आक्रामक छन् । शाहीले गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई ‘दलाल र कुकुर’ भन्दै गाली गरेका थिए । उनी साइबर अपराधमा जेठ १५ गते सुर्खेतबाट समातिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर