• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न

काठमाडाैं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)मा नेपालले पहिलोपटक निर्माण गरेको भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र तस्वीर सङ्कलन गर्न सूचना प्रवाह गर्ने माध्यमअर्थात् ग्राउण्ड स्टेशन निर्माणको काम सम्पन्न भएको छ।

नाष्टले गत बिहीबारबाट सो ग्राउण्ड स्टेशनको सहायतामा भूउपग्रहको जानकारी लिन शुरु गरेको हो । नाष्टको कार्यालयमा जडान गरिएको रेडियो उपकरण र सफ्टवयेरको सहायताबाट सो भूउपग्रहको तथ्याङ्क लिन शुरुआत गरिसकेको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए। 

“नेपाली स्याट–१ ले एक दिनमा १५ देखि १६ पटक पृथ्वीको परिक्रमा गर्ने हुँदा सो भूउपग्रह नजिक आएको बेला ट्रयाक गर्ने गर्छौं”, ढुङ्गेलले भने, “जापानस्थित क्यूटेक विश्वविद्यालयले विगतमा निर्माण गरिसकेको ‘वर्ड–टु’ परियोजनाका अन्य भूउपग्रहको जानकारी पनि सो ग्राउण्ड स्टेशनबाट लिन सकिने भएको छ ।” सो ग्राउण्ड स्टेशनले नाष्टलाई गत भदौ २७ गते नेपाली स्याट–१ पूर्वी नेपालको एक छेउ हुँदै पास गरेको जानकारी दिइसकेको छ । 

नाष्टले सो ग्राउण्ड स्टेशनको सहयोगमा नेपालको सिधा आकाशमा आएका जुनसुकै भूउपग्रह वा नेपालसँग नजिक भएर गएका भूउपग्रहको जानकारी लिन सक्ने भएको छ । आफ्नो कार्यालयमा चार वटा सफ्टवेयर जडान गरी ग्राउण्ड स्टेशनबाट जानकारी हासिल गरिरहेको नाष्टका इञ्जिनीयर रोशन पाण्डेले जानकारी दिए। सो सफ्टवेयरको सहायताबाट नेपाली स्याट–१ कहाँ छ, कार्यालयमा जडान गरिएको एन्टिनाको अवस्था कता फर्केको छ सबै थाहा पाउन सकिने उनले बताए। 

भूउपग्रह नेपाली आकाशमा आउनुपूर्व नाष्टको सो सम्पर्क कार्यालयमा जडान गरी राखिएको कम्प्युटरमा सङ्केत वा भविष्यवाणी आउँछ । नाष्टको माथिल्लो तलामा जडान गरी राखिएको ऐन्टिना त्यसपछि घुम्छ। केही बेरपछि ध्वनि आउँछ र केही समयमा सो भूउपग्रह नेपाली आकाशमा आएको जानकारी हासिल गर्न सकिने नाष्टका प्राविधिकले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर