• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

सलाम ! 'कमरेड दिवाकर'

(उनी मेरा लागि एक साथी, एक सहिद पिता, एक कमान्डर तथा एक नेता थिए । अन्तिम सन्ध्याकालीन अनौपचारिक भेट मन र मस्तिक खोलेर बिताइयो । र, फेरि उनकै घरमा सन्ध्याकालीन बसाइ सहमत भइयो । त्यसैबेला मेरा मनमस्तिष्क छछल्किरहेका थिए र विद्रोही आभास उनले पाइसकेका थिए । अन्तिम भेटमा प्रयत्न र शिलालाई साक्षी राखेर इतिहास र वर्तमानबारे गम्भीर कुरा भएका थिए । त्यसपछि अर्को सन्ध्याकालीन अनौपचारिक बसाइ बस्ने हाम्रो निर्णय कहिल्यै आएन, अब आउनेवाला पनि रहेन । फेरि तिमीसँगै मात्तिएर बात मार्न अब पाउनेवाला छैन दाजु... ।

क्रान्ति उत्तर हुँदो रहेनछ, प्रश्न बन्दो रहेछ । तिमी सामान्य किसानदेखि जनयुद्धका नेता, प्रचण्डका भरोसिला सहयोद्धा, सरकारका मन्त्री, आदर्शको स्खलनका भोक्तासमेत बन्यौ । एक्लो छोरोको हत्याले तिमीलाई क्रान्तिपथबाट विचलित गराएन । आजको परिवारवाद र त्यो समयको नेता र कार्यकर्ताका निष्ठा । इतिहासले कोल्टे फेर्दा तिमी पर्दाभित्रका आलोचनात्मक चेतका अभियन्ता र नेता थियौ । सलाम, कम. दिवाकर ...।)

बितेको २३ वर्षको बीचमा क. रविसँग मेरा अनेकौं औपचारिक र अनौपचारिक स्मरण छन् । नेता र कार्यकर्ताको रूपमा, सहअध्यताको रूपमा, साथीको रूपमा अनौपचारिकता । उनी बितेको पनि सात वर्ष पो भइसकेछ । क. रवि, दिवाकर र पोष्टबहादुर बोगटीको तीनवटा भूमिकामा मैले उनलाई नेता र साथीको रूपमा अनुभूति र संगत गर्न पाएँ । म यस लेखमा उहाँका सवल र दुर्वल पक्षको विवेचन गर्न गइरहेको छैनँ ।

जनयुद्धको ज्वालामुखी प्रदेशको मूल कार्यकारी नेतृत्व भएकाले माओवादी नेतृत्वको जस–अपजसको भागी उनी थिए भने इतिहासले उनीसँग पनि गर्नुपर्ने कैयौं अधुरा प्रश्नहरू अहिले थाती छन् । तर, यो लेखमा नेपाली इतिहासको अत्यन्तै तीव्र काल, माओवादी जनयुद्धको मुख्य फिल्ड कमान्डरसँंगका युद्ध र शान्तिको दुई दशकका निजात्मक एवं भावनात्मक अनुभूति मात्र हुनेछ ।

राप्ती र कर्णालीको पुल बनिनसक्दा अथवा पूर्व–पश्चिम राजमार्ग बनिनसक्दाको कुरा हो । नेपालगन्ज पश्चिम नेपालका २४ जिल्लाको राजनीतिक, आर्थिक र शैक्षिक केन्द्र थियो । नेपाली राजनीतिको तरंग दक्षिणबाट उत्तर फैलिन्छ र हावा पूर्वबाट पश्चिमतर्फ । ४० को दशकमै नेपालगन्जमा रहेको हाम्रो मित्र एग्रो फर्मा पश्चिमको मशालकालीन अवस्थादेखि नै पार्टी सम्पर्क पोस्ट थियो ।

एकता केन्द्र बनेपछि संगठनात्मक आधार र मुख्य शक्ति भनेको मशाल नै भएकाले पनि सांगठनिक ढाँचामा अतिसामान्य फेरबदल भए । पहिलाको सम्पर्क र आधार भने सोही रह्यो । ०४६ सालको जनआन्दोलनपछि नेपालको राजनीति मात्र होइन, सामाजिक परिवर्तनको वेग पनि अति तीव्रतामा हुइँकिँदै थियो भने कम्युनिस्ट पार्टीमा एकताको लहर, शब्दलाई कर्ममा फेर्ने अभियान त्यत्तिकै जोडतोडले बढेको थियो । पार्टी एकता केन्द्रमा फेरिएको थियो, संयुक्त जनमोर्चाको नाममा सक्रिय हुन थाल्यो । मेरो र कमरेड रविको पहिलो भेटघाट ०४७ को अन्त्यतिर नेपालगन्जमै भएको हो ।

२०४६ को जनआन्दोलनपूर्व नै छापामार लडाइँ थालनी गर्न उनको कमान्डमा बिचौर लमजुङ पठाइएका र आन्दोलनको चाप बढेपछि फिर्ता बोलाइएका रवि संगठनको नयाँ रूपसँगै किसान संगठनको मुख्य जिम्मा भएपछि पश्चिम नेपाल उनको कार्यक्षेत्र बन्योे । ०४८ को चुनावमा संयुक्त जनमोर्चाले पश्चिमका रोल्पामा २, रुकुम १ र हुम्लामा १ गरी ४ स्थान जित्न सफल भयो । हुम्लामा मात्र ६ मतले जितेका छक्कबहादुर लामाको जितपछि कमरेड रविको संगठनात्मक र जनतालाई परिचालनको खुबी नै छक्कको जितले छक्क पारिएको हो ।

रिडिङ क्लब र क. रवि

मेघराज ज्ञवालीका समस्या र हरिभक्त कँडेलको पूर्व सरुवा पछाडि त बाँकेलगायत भेरी कर्णालीको जिम्मा रविलाई नै गयो । उनी विश्वविद्यालयको उत्पादन नभई स्वअध्ययनले दर्शन, राजनीतिको अब्बल विद्यार्थी थिए भने साहित्यका जिज्ञासु पाठक पनि । त्यस बेलासम्म अघोषित हाम्रो रिडिङ क्लबमा ओमप्रकाश केसी, शालिकराम सापकोटा, विष्णु पोखरेल त थिए नै, रविको पश्चिम आगमनपछि उनी पनि थपिए ।

हाम्रो छलफलको विषयमा भीमदत्त पन्तको किसान विद्रोह, कामी बुढाले कम्युनिस्ट झण्डामा सशस्त्र विद्रोह, लोकाभार किसान आन्दोलन, राजापुर किसान विद्रोह, बेलुवा–बिजौरी किसान विद्रोह, दशरथपुर विद्रोह भएको ठाउँमा किन कम्युनिस्ट आन्दोलनले शब्दलाई कर्ममा फेर्न सक्दैन भन्ने हुन्थे । उनलाई त्यसैबेला भारतीय क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा आधारित अभयकुमार दुवेको ‘क्रान्तिका आत्मसंघर्ष’ पुस्तक दिँदा अत्यन्तै खुसी भएका थिए । उनी एक गम्भीर पाठक मात्र थिएनन्, ज्ञान, सूचना आदानप्रदान गर्ने र विषय आधारित छलफल पनि बढाँउ‘थे ।

शब्दभन्दा कर्ममा

प्रचारमुखी नभएर अत्यन्तै सरल उनको स्वभावले गर्दा प्रशासन छकिन्थ्यो । एकपटक हामी छलफलमै थियौं, बिहानैको समय प्रकाश सुवेदी म र रवि । प्रहरीको भ्यान एकाएक आइपुग्यो । रवि र प्रकाशलाई लग्यो अब बित्यास प¥यो भनेको त एकैछिन तँ होइनस् भनेर उनलाई गाडीबाट ओरालिदियो । एक दिन एउटा लोर्के युवासँग आए र गम्भीर वार्तालापमा व्यस्त भए । मैले सो युवालाई देखेको, चिनेको थिइनँ ।’ जिज्ञासाको जवाफमा उनी एउटा उदीयमान भविष्यको नेता शक्ति बस्नेत हो भनेर परिचय पो गराए ।

अर्को प्रसंग छ, नेपालगन्जमा बातबहादुर र कामबहादुरको भिन्नता छ भन्दै जनयुद्ध पहिला नै आइपी खरेललाई नेतृत्वमा ल्याए । युद्ध चर्किंदै जाँदा विश्वास गरिएका उनैलाई हटाउन समेत पुगे । आइपीले त्यसो रविबाट होला भन्ने अनुमानै गरेका थिएनन् । रवि र उनीबीच गम्भीर छलफल हुन्थे । किलो सेरा टुससँगै पार्टीमा मतभेद राखेर पार्टीबाट अलगिँदा पनि आइपीबारे उनको सकारात्मक नै सोच थियो र प्राविधिक कारणले मात्रै अन्तिम भेट हुन नसकेको भन्थे । 

रविले हकारेको दिन

एकता केन्द्र विभाजन भइसकेको थियो, नयाँ तरंगका संकेत देखिसकिएका थिए । पश्चिमको केन्द्र नेपालगन्ज भएकाले प्रचारको महत्त्व बुझेका रविले बुद्धिजीवी संगठनको पहलमा एउटा वैचारिक पत्रिका निकाल्न निर्देशन दिए । मेरै नेतृत्वमा प्रकाशन भएको मुक्तिबोधमा जनयुद्धको आवश्यकताबारे मनोहर लामिछानेको एउटा वैचारिक लेख प्रकाशित भयो । त्यस लेखमा कामबहादुर र बातबहादुर कम्युनिस्टको चित्रण गर्दै वर्गसंघर्षमा सशस्त्र विद्रोहको अनिवार्यता र तत्काल सुरु हुनुपर्ने भन्ने थियो । मुक्तिबोधको प्रकाशनलगत्तै रवि आएर ‘यो लेख छाप्न भनेर कसले भनेको थियो ?’ भनेर कड्किए ।

लेख स्तरीय भएर र आवश्यकता देखेर छापेको भन्दा ‘तुरन्त यसलाई डम्पिङ गर्नुस्, वितरण नगर्नू’ भने । मलाई काम गरेर जस पाउनुको ठाउँमा हप्काइ खान नमज्जा लाग्यो । त्यसको दुई महिनापछि नै जनयुद्धको घोषणा भयो । तब उनले सम्झाए– ‘त्यो प्रकाशनले राज्य सचेत हुन सक्थ्यो, अञ्जानमै भएको गल्तीले ठूलो क्षति व्यहोर्नुपर्न सक्थ्यो ।’ त्यो भनेपछि भने दिमागी घैंटोमा घाम लाग्यो । अर्थात् समयपूर्व गरिएको ठीक काम र बोलिएको सत्यले फाइदाको बदला नोक्सानी पु¥याउँछ भन्नु हो ।

जनयुद्धको ज्वालामुखीको दिवाकर

जनयुद्ध सुरु हुनेबित्तिकै पार्टीभित्र असमान्य अवस्था सिर्जना भएर बादलको ठाउँमा समग्र पश्चिमको कमान्ड कार्यकारी नेतृत्व रविको दायित्वमा रह्यो । जनयुद्धको किल्ला पश्चिम थियो, त्यसको फिल्ड सर्वोच्च नेतृत्व उनी । विद्रोहको राप र ताप पश्चिमबाट पूर्व वा देशैभरि फैलिँदै गए ।

संसदीय पार्टीका स्थानीय निकायलाई गुप्तचरी र प्रतिकारका लागि तयार गरिएको थियो भने माओवादी मारेर प्रमोशन पुरस्कारको किलो सेरा टुले कानुनलाई लोप्पा ख्वाइरहेको थियो । उनको अत्यन्तै मिल्ने साथी विष्णु पोखरेलको किलो सेरा टुको पहिलो हत्याले मर्माहत पारेको थियो । जसरी पंक्तिकार, पत्रकार र साहित्यिक अभियन्ताको आवरणमा भूमिगत रहँदै सक्रिय थियो त्यस्तै सत्ताका सुलसुले पनि मिडिया र सामाजिक कार्यकर्ता र मानवअधिकारकर्मीका आवरणमा हुन्थे ।

नेपालगन्जको भूमिगत काल

किलो सेरा टु नलगाइन्जेल रविजीको हेडक्वार्टर त्रिभुवनचोक नजिक इदगाहा रोडमा थियो । सत्ताको उच्च सुरक्षा संयन्त्रको केन्द्र नेपालगन्ज तर विद्रोही प्रमुख नेता भने त्यहीं ठेकेदारको आवरणमा । एक दिन त अझ म पुष्पलाल चोकको कान्तिपुर अफिसको बार्दलीमा बसेर सडकतर्फ नियालिरहेको थिएँ । उत्तरबाट आउने रिक्सामा दिउँसै प्रचण्ड र रवि आउँदै गरेको देखेपछि अब केके न हुने हो भन्ने मनोत्रासले छायो ।

सीमित साथीलाई मात्र उनको इदगाहाको सेल्टर जानकारी थियो । फिल्डबाट फर्केपछि अध्ययन र प्राज्ञिक वर्गसँगको सम्पर्क निरन्तरता अर्को उनको विशेषता थियो भने हरेक शनिबार ११ बजेपछि टेलिफोनमा रिर्पार्टिङ गर्नुपर्ने हुन्थ्यो । उनले सुम्पिएका काममध्ये गणेशमान पुनलाई छापामारी तरिकाले नेपालगन्ज जेल÷अस्पतालबाट मुक्त गराउन सके पनि रुकुममा लोकेन्द्र विष्टलाई जे–जस्तो कानुनी ‘कलाबाट’ मुक्त गराउन पहल गर्नु भन्ने निर्देशनलाई भने सफल पार्न सकिएन । खुला रहेर भूमिगत काम गर्नका चुनौती आफ्नै प्रकारका हुन्छन् ।

यसरी म फकिएँ

ठाकुरद्वारा पहिलो शान्तिवार्ता टुटेपछि दाङको सैन्य कारबाहीसँगै भूमिगत हुनुपर्ने आवश्यकता भयो । जिल्ला नेतृत्वका क. आयामको गिरफ्तारीपछि पार्टी सम्पर्क सूत्र रहेन । युद्धको घनीभूत कालमा पार्टीको सम्पर्क टुट्नु भनेको धागो टुटेको चंगाझैं हुन्छ ।

तीन हप्ताको नेपालगन्ज बसाइ र सत्ताको घनीभूत दबाबले गर्दा ०५८ मंसिर अन्तमा बहराइचतिर लागें । केही दिनको अन्तरालमा संकल्पलाई भेटिएर टुटेको सम्पर्क ओमप्रकाश केसीमार्फत जुट्यो । लखनउ भूलभूलैयामा रवि र शक्ति बस्नेतसँग भेटेपछि पुन म भेरी–कर्णालीको आफ्नो कार्यक्षेत्र फर्किएँ । कार्यक्षेत्रका औपचारिक कार्यक्रममा भेट हुँदा पनि अनौपचारिक छलफल हुन्थे ।

अन्तिम अनौपचारिक भेट

शान्तियुद्धमा आएपछिको व्यस्तता, पार्टीको जिम्मेवारी, पार्टीका आन्तरिक र बाहिरी संघर्षमा कहिलेकहीँ अनौपचारिक कुरा हुन सके पनि दुई महिना पहिला ओम केसीको नातिको विवाह भोज नयाँ बजारको छलफल नै उनीसँगको अनौपचारिक दिल र दिमाग निचोरेर भएको छलफल रहन गयो ।

पश्चिमा शैलीको सन्ध्याकालीन उक्त भोजमा साँच्चै म अनौपचारिक बनेर गरेको छलफलमा केसी दाइ र पूर्णा सुवेदीले जिब्रो काढेका थिए । पार्टीको अन्तरसंर्घषको अस्वस्थताले चिन्तित थिए भने पार्टीले तीव्र विघटनको दिशा पक्रिएको र त्यसको मूल कारणमा राजनीतिलाई सांस्कृतिककरण गर्न नसक्दा आफ्नै गौरवता धान्न नसकेकोमा उनी सहमत थिए । वर्गसंघर्ष कमजोर पर्दै आन्दोलन हराउँदै जाँदा अनेकौं समस्या देखिएका र संगठनात्मक व्यवस्थापन गर्न सकिएन उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर