• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बोक्सीकाे आरोपमा युवतीमाथि कुटपिट

 धनगढी । धनगढीमा २३ वर्षीया युवतीमाथि बोक्सीको आरोपमा कुटपिट भएको छ । धनगढी उपमहानगरपालिका–१३ की सीता राना (नाम परिवर्तन)लाई आफ्नै काकी नाता पर्ने फूलमाया रानाले बोक्सी आरोपमा कुटपिट गरेकी हुन् ।

रानाले आइतबार किशोरीको घरमै गई विभिन्न लाञ्छना लगाउँदै कुटपिट गरेको पीडितका आफन्तले बताएका छन् । घटनापछि पीडित युवतीले विष सेवन गरेकी थिइन् । उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । नाताले आफ्नै काकी पर्ने फूलमाया रानाले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको किशोरीकी ठूलीआमा पार्वती रानाले बताइन् ।

घटनाको सम्बन्धमा प्रहरीमा जाहेरी दिँदा पनि अहिलेसम्म प्रहरीले उनलाई पक्राउ गर्न चासो नदिएको उनका ठूला बुबा हीरा रानाले बताए । किशोरी स्नातक तह तेस्रो वर्षमा अध्ययन गर्दै थिइन् । उनको आजै परीक्षा पनि थियो । घटनापछि उनको परीक्षासमेत छुटेको छ । घटना सम्बन्धमा जानकारी पाएलगत्तै प्रहरीलाई खबर गरेको वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशीले बताए । पीडित किशोरीका आमाबुबासमेत नरहेको बुझिएको छ ।

उनको उपचारमा आर्थिक समस्या देखिएको छ । वडा अध्यक्ष जोशीले उनको उपचार खर्चमा सम्पूर्ण सहयोग गरिने बताए । घटना सम्बन्धमा सत्यतथ्य बुझी दोषीलाई कानुनको दायरामा ल्याइने उनले बताए । 

यता, प्रहरी कार्यालयमा किटानी जाहेरी नआएको वडा प्रहरी चौकी कैलाली गाउँले जनाएको छ । युवतीले विष सेवन गरेको जानकारी आइतबार साँझ ६ बजे मात्र थाहा पाएको कार्यालयका प्रहरी नायब निरीक्षक कर्णबहादुर चन्दले बताए । उनले दुवै पक्षलाई बोलाएर अनुसन्धान गरिने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर