कर्णालीवासीका लागि प्रदेश सरकारद्वारा विपद् दुर्घटना बिमा सुरु

बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्नुस् : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राज्यले प्रदान गर्ने सबै खालका सेवासुविधा सरल रूपमा प्राप्त गर्नुपर्ने बताएका छन् । सबै कर्णालीवासीका लागि विपद् दुर्घटना बिमा कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले राज्यले दिने सबै प्रकारका सेवा–सुविधा सरल रूपमा जनतासम्म पुर्याउनु सरकारको दायित्व भएको बताए । 

मुख्यमन्त्री शाहीले विपद्को उच्च जोखिममा रहेको कर्णालीका नागरिकले हरेक वर्ष ठूलो संख्यामा ज्यान गुमाउनुपर्ने अवस्थालाई हेरेर सरकारले राहात स्वरूप बिमा कार्यक्रम सुरु गरेको बताए । 

मुख्यमन्त्री शाहीले बिमा रकम हेर्दा सानो देखिए पनि यो कार्यक्रमले कर्णालीका नागरिकमा दुःखको बेला सरकार आफ्नो साथमा रहेको अनुभूति गराउने विश्वास व्यक्त गरे । स्वास्थ्य बिमाको प्रभावकारिताका बारेमा जनताको गुणासो आएको भन्दै मुख्यमन्त्री शाहीले जनगुनासो नआउने गरी यो कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नसमेत आग्रह गरे । 

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकता प्राप्त विपद् दुर्घटना बिमा कार्यक्रम आजैदेखि लागू भएको छ । शुुभारम्भ कार्यक्रममै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय बिमा कम्पनी लिमिटेडका प्रमुख डिल्लीराज अर्यालले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा कार्यान्वयन गरिएको बिमा कार्यक्रमअन्तर्गत कर्णालीका हरेक नागरिकले एक लाख रुपैयाँको निःशुल्क बिमा सुविधा प्राप्त गर्नेछन् । त्यसैगरी, विपद् दुर्घटनाका कारण घरमा क्षति पुगेमा प्रतिघर पाँच लाख रुपैयाँको बिमा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

बिमा कार्यक्रमका लागि सरकारले चालु आवमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सामूहिक रुपमा गरिने विमाको प्रिमिएम बापत कर्णाली प्रदेशको कुल जनसंख्या १७ लाख ७० हजार मानेर प्रतिव्यक्ति सात रुपैयाँका दरले हुन आउने रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिमा कम्पनीलाई भुक्तानी गर्नेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर