सुदूरपश्चिम प्रदेश : प्रहरीका लागि सरकारले किनेको गाडी वितरण नै भएन्

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाल प्रहरीका लागि खरिद गरेको नौ वटा गाडी वितरण हुन सकेको छैन ।  पर्याप्त गाडी नहुँदा र भएको गाडी पनि थोत्रा भएका कारण प्रहरीलाई नियमित काममा समस्या भइरहेको बेला प्रदेश सरकारले किनेको गाडी भने वितरणमा ढिलाइ भइरहेको छ । प्रदेश सरकारले नौ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयको लागि नौ वटा गाडी खरिद् गरेको छ । गाडी खरिद्को लागि गत आर्थिक वर्षमा सरकारले बजेट विनियोजन गरेको थियो । दुई महिना अगाडि नै गाडी खरिद् भए पनि वितरण भएको छैन । नौ वटै गाडी आन्तरिक मामिला तथा कानून मन्त्रालयको परिसरमा राखिएको छ । 

गाडी वितरणका लागि मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगिएको जनाइएको छ । मन्त्रिपरिषद् बैठकले निर्णय गरे लगत्तै सबै जिल्लाका प्रहरी प्रमुखलाई धनगढी बोलाएर गाडी हस्तान्तरण गरिने मन्त्रालयका सचिव कृष्णबहादुर राउतले बताए । ‘प्रदेश प्रहरी गठन भएपछि गाडी बाँड्ने भनेर गतवर्षको बजेटमा कार्यक्रम स्वीकृत भएको थियो’, उनले भने–‘तर, प्रदेश प्रहरीमा पनि हालकै प्रहरी रहने भएको र गाडी पनि खरिद भइसकेकाले मन्त्रिपरिषद्को निर्णयबाट प्रत्येक जिल्लालाई एउटा/एउटा गाडी वितरण हुनेछ ।’ सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्रहरी गठन सम्बन्धि विधेयक हालसम्म बनाएको छैन । 

प्रहरीका लागि प्रदेश सरकारले खरिद गरेको गाडीहरु हाल प्रहरीले प्रयोग गर्दै आइरहेको मोडेलको गाडी हो । प्रहरीलाई गाडी हस्तान्तरण गरिएमा शान्ति, सुरक्षा कायम गर्नमा महत्वपूर्ण सहयोग पुग्ने सचिव राउतको भनाइ छ ।    ‘चारपाङ्ग्रे सवारी साधनको कमी भएकाले प्रदेश सरकारले प्रहरीका लागि नयाँ गाडी खरिद् गरेको हो’, उनले भने । 

प्रदेशमा प्रहरीलाई गाडीको चरम अभाव रहेको छ । पहाडको कतिपय जिल्लाका प्रहरीले गाडी बिनै शान्ति, सुरक्षाको लागि खट्नु परिरहेको छ । प्रहरीका लागि  २०७० सालको संविधान सभाको चुनावको बेला नयाँ गाडी खरिद भएको थियो । त्यसयता, प्रहरीलाई नयाँ गाडी मिलेको छैन । प्रयोग गर्दै आइरहेको गाडीहरु हाल पुराना भइसकेका छन् । कतिपय गाडी थोत्रा भएर चल्नै नसक्ने ‘कण्डिशन’ मा पुगिसकेको जनाइएको छ । 

प्रहरीलाई गाडी अत्यन्त आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । ‘जिल्ला प्रहरी कार्यालयमा मोबाइलको रुपमा प्रयोग हुने दुई वटामात्रै गाडी छ’, उनले भने–‘दुवै गाडी दयनीय अवस्थामा छ । जहिल्यै बिग्रि रहन्छ ।’ उनले एक दिन कुदाएपछि अर्को दिन अनिवार्य रुपमा गाडी मर्मत गर्दै आएको उल्लेख गरे । 

कतिपय इलाका प्रहरी कार्यालयमा गाडी नै छैन । भएका गाडी पनि थोत्रा भइसकेका छन् । प्रदेश सरकारले एउटा गाडी दिएमा शान्ति, सुरक्षा कायम गर्नमा धेरै टेवा पुग्ने प्रहरी नायब उपरीक्षक बस्नेतले विश्वास गरे ।  प्रहरीलाई शान्ति, सुरक्षाको कार्य सम्पादनका लागि महत्वपूर्ण पाटो गाडी पनि हो । गाडीको ‘कन्डिशन’ राम्रो भएन र गाडी नै भएन भने प्रहरी कुनै पनि घटना स्थलमा तुरुन्तातुरुन्तै पुग्न सक्दैन । 

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा प्रहरी गाडी खरिद्का लागि प्रति गाडी ४२ लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो । गाडी खरिद् गर्दा प्रति गाडी ३६ लाख ९९ हजारका दरले खर्च भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका लेखा अधिकृत नारायणदत्त मिश्रले जानकारी दिए । नौ वटा गाडी खरिद्मा तीन करोड ३२ लाख ९१ हजार रुपैयाँ खर्च भएको छ । 

मन्त्रालयले गत आर्थिक वर्ष गाडी खरिद्मा पाँच करोड ३१ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ । प्रहरी गाडीबाहेक सो मन्त्रालयलयले आन्तरिक मामिला तथा कानूनमन्त्रीका लागि निशान कम्पनीको एक करोड २९ लाख ५० हजार रुपैयाँको एउटा गाडी र सचिवको लागि ६९ लाख रुपैयाँमा महेन्द्रा कम्पनीको अर्को गाडी खरिद् गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर