• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

जलवायु शिखरसम्मेलनमा भाग लिन मन्त्री बस्नेत अमेरिका प्रस्थान

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत साताव्यापी भ्रमणका सिलसिलामा गएराति अमेरिका प्रस्थान गरेका छन् । 

संयुक्त राष्ट्रसंघको आयोजनामा हुने जलवायु कार्यशिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री बस्नेत त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन आगामी २३ सेप्टेम्बर (सोमबार)देखि न्यूयोकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सुरु हुनेछ ।

 उनले ‘अ कल फर एक्सनः रेजिङ एम्बीसन फर क्लाइमेट एडप्टेशन एण्ड रेजिलियन्स र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’ विषयमा सम्बोधन गर्नेछन् । यस्तै मन्त्री बस्नेत आगामी मंगलबार संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी विशेष सभामा सहभागी हुने कार्यक्रम छ । 

न्यूयोर्क प्रस्थान गर्नुअघि मन्त्री बस्नेतले जलवायु परिवर्तन अनुकूलनका दिगो र  प्रभावकारी कार्यक्रम तय गर्न विश्व समुदायलाई अपिल गरिने जानकारी दिए । 

मन्त्री बस्नेतले नेपालका तर्फबाट जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण विश्व भयाबह संकटको नजिक पुगेकाले यसको समाधान नियमित प्रयासबाट मात्र सम्भव नहुने भएकाले विश्वस्तरबाटै साझा पहल हुनुपर्ने विषय उठाइने जानकारी दिए ।

नेपालले यसपटक जलवायु परिवर्तनमा न्यून भूमिका रहेको तर, अति प्रभावित नेपालजस्ता मुलुकको अनुकूलन क्षमता बढाउन आवश्यक स्रोतको व्यवस्था गर्न अपिल गर्ने भएको छ ।

यस्तै नेपालले जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिमालयहरु पग्लने क्रम बढेको र त्यसको प्रभावबाट विश्व नै प्रभावित भएको विषयमा समेत विश्व समुदायको ध्यानाकर्षण गराउने भएको छ । 

आगामी नोभेम्बरमा चिलीमा हुने जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलन (कोप) को तयारी स्वरुप यो सम्मेलन हुन लागेको हो । 
    

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर