• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

विकास र समृद्धि साझा संकल्प बन्नुपर्छ : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ मा संविधान दिवस 

बुटवल । प्रदेश ५ मा विशेष समारोह गरी संविधान दिवस मनाइएको छ । प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा गरिएको कार्यक्रममा विभिन्न ९६ वटा समूहसहित सरकारी निकाय तथा विभिन्न सामाजिक संघ संस्थाहरूले सहभागिता जनाएका थिए । 

बुटवल मण्डपमा गरिएको विशेष समारोहमा ¥यालीमा सहभागी विभिन्न १० वटा समूहलाई पुरस्कृत गरिएको थियो । प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेलले उनीहरूलाई पुरस्कार प्रदान गरेका थिए । 

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनताको अधिकार सम्पन्न संविधान प्राप्त भइसकेकाले अबको ध्यान विकास निर्माणमा हुनुपर्ने बताए । विकास र समृद्धि साझा संकल्प हुनुपर्ने भन्दै उनले अब मुलुकलाई पछि धकेल्ने खालका गतिविधि स्वीकार्य नहुने बताए । 

प्रदेश ५ सरकारले संविधान दिवसका अवसरमा विभिन्न पदक घोषणा गरेको छ । पदक घोषणा सम्बन्धमा प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार सम्पन्न बैठकले आवश्यक निर्णय गरेको थियो । 

सरकारका प्रवक्ता भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीका अनुसार विभिन्न पदकका सम्बन्धमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेस गरेको पदक सिफारिस प्रस्ताव बैठकले स्वीकृत गरेको थियो ।

प्रदेश पाँच सरकारले प्रदेश स्थापना दिवसमा ११ थरी पदक प्रदान गर्ने गरी कानुन बनाएको छ । ती पदकहरूको घोषणा संविधान दिवस (असोज ३ गते) र वितरण प्रदेश स्थापना दिवस फागुन ३ गते गर्ने गरी कानुनी ब्यवस्था गरिएको छ । 

प्रदेश सरकारले प्रदान गर्ने पदकहरूमा बुद्ध शान्ति पदक, प्रदेश प्रमुख जनसेवा पदक, मुख्यमन्त्री प्रज्ज्वल दीप, प्रदेश सेवा समर्पण, उजिरसिंह दीप, समाजसेवाश्री, प्रदेश रत्न, पुथाश्री, प्रदेश प्रज्ञा, प्रजापति गौतमी, दंगीशरण–बलिहाङ रहेका छन् । मन्त्रिपरिषद् बैठकले मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्षमा कपिलवस्तु कृष्णनगरका मशहुद खालाई मनोनयन गरेको छ । 

संविधान दिवसमा मुख्यमन्त्रीको शुभकामना सन्देश 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गरी मुहारमा उज्यालो छर्न संघीय प्रणालीको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधान दिवसले सबैलाई त्यस दिशामा अघि बढ्न अवश्य प्रेरित गर्ने बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले समृद्ध प्रदेश, खुसी जनताको लक्ष्य बोकेर समृद्ध प्रदेश निर्माणको अभियानमा अघि बढिरहेका उल्लेख गर्दै शुभकामना सन्देशमा भनेका छन्, ‘संविधानले दिशानिर्देश गरेको बाटोबाट न्यायपूर्ण, समतामूलक र समृद्ध समाज निर्माण गर्ने कुरा तीनै तहका सरकारहरूको साझा लक्ष्य हो । संघीय सरकारले सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अघि सारेको छ । प्रदेशको विकास र समृद्धिको बाटोवाट उक्त लक्ष्य पूरा गर्न हामी सार्थक योगदान गर्न चाहन्छौं ।’ 

मुख्यमन्त्री पोखरेलले समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपील समेत गरेका छन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर