• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

एनआरएनएको अध्यक्ष पदमा पन्तको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् । पन्तले काठमाडौंमा आज एक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेका हुन् । 

एनआरएनएको १० अर्ब रुपैयाँको सामूहिक लगानी कोषलाई मूर्त रूप दिने अभियानमा सक्रिय एनआरएनए आइसिसीका वर्तमान उपाध्यक्ष कुमार पन्तले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन् । अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनए ग्लोबल सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताको पाँच मन्त्रसहित पन्तले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएको नेतृत्व गर्नका लागि उनले गैरआवासीय नेपालीको सामूहिक र व्यक्तिगत लगानी भित्र्याउन सक्रिय रहने लगायत २० बुँदे कार्ययोजना प्रस्तुत गरेका छन् । 

पन्तले सामूहिक लगानी कोषलाई मूर्त रूप दिने, विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि नेपाल भित्र्याउन वातावरण बनाउन पहल अगाडि बढाउने, गैरआवासीय नेपाली नागरिकता पाउने अधिकार शीघ्र कार्यान्वयनका लागि पहल गर्ने, विदेशमा रहेका नेपालीको मतदानको अधिकारसम्बन्धी अवस्थाको व्यावहारिक कार्यान्वयनमा लाग्नेलगायतका योजना अगाडि सारेका छन् । 

सन् २००४ देखि एनआरएन अभियानमा संलग्न पन्त सन् २००९ मा एनआरएनए आइसिसी सदस्य र सन् २०१३ मा एनआरएनए आइसिसी महासचिव भएका हुन् । सन् २०१५ देखि लगातार दुई कार्यकाल एनआरएनए आइसिसी उपाध्यक्ष भएका पन्त जर्मनीको फ्रयांकफर्टमा रहेका व्यवसाय गरिरहेका छन् । 

 

 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर