प्रदेश २ मा संविधान दिवस : सत्तारुढ दल राजपाद्वारा नै विरोध प्रदर्शन [फोटोफिचर]

जनकपुरधाम । प्रदेश दुई सरकारको सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालले संविधान दिवसका दिन बिरोध प्रदर्शन गरेको छ । प्रदेश दुई सरकारको मन्त्रीपरिषदले संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको समयमा राजपाले प्रदेशको अस्थायी राजधानी जनकपुरधाम सहित विरगंज, राजविराज, जलेश्वर सहितको स्थानमा बिरोध प्रदर्शन गरेको हो । 

जनकपुरधाममा आयोजित बिरोध प्रदर्शनको नेतृत्व राजपा नेता महन्थ ठाकुरले गरेका छन् । जनकपुरधामस्थित जनक चोकबाट निस्केको विरोध र्यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । विरोधसभालाई सम्बोधन गर्दै राजपा नेता ठाकुरले मधेशी जनतासंगको विभेद अहिलेसम्म अन्त्य हुन नसकेको आरोप लगाए । उनले मधेशी जनतासंगको विभेद अन्त्य नभएसम्म आन्दोलन जारी रह्ने चेतावनी दिए । 

उनले भने ‘ हिजोका दिनमा कांग्रेस, एमाले, माओवादी सबै हतियार उठाएरै सत्तासम्म पुगे उनीहरु बिरुद्ध त मुद्दा त लागेको छैन, हामीले शान्तिपूर्ण आन्दोलन गर्यौँ तै पनि हाम्रो साथीमाथि मुद्दा चलाइएको छ, जेलमा हालिएको छ के यो विभेद होइन ?’ उनले सेनामा मधेशी जनताको प्रवेश, नागरिकतामा विभेद नहटाइएसम्म संघर्ष गरिरह्ने बताए । 

ठाकुरले मधेशका जिल्लाहरुलाई मधेशमै समेटिनु पर्ने माग समेत अगाडी बढाए । उनले भने‘ भन्ने बेलामा मधेशको जिल्ला भन्ने र पहाडी प्रदेशमा मिलाउने के यो जायज हो ।’ प्रदेशको सिमांकनमा समेत आफूहरुको बिरोध रहेको ठाकुरको भनाई थियो । 

यता प्रदेश दुईका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल समेत प्रदेश सरकारले गरेको निर्णय विरुद्ध संविधान बिरुद्धको बिरोध रैलीमा शामिल भएका छन् । उनले यथास्थितिमा संविधान दिवस मनाउन नसक्ने बताए । सोनलले जुन संविधान जारी गर्न मधेशी जनताको रगत बगाइयो, लाठी चार्ज गरियो त्यो संविधान जारी भएको दिन हर्ष कसरी मनाउन सक्छौँ प्रश्न गरे । 

मन्त्रीपरिषदले गरेको निर्णय सम्बन्धमा आफूलाई केही जानकारी नरहेको बताउँदै सोनलले राजपाबाट प्रतिनिधित्व गर्ने कुनै मन्त्री वा प्रदेशसभा सदस्य तथा नेता आजको दिनलाई कालो दिवसकै रुपमा मनाएको दावी गरे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर