• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

गर्मी छल्दै, सूर्योदय हेर्दै

 इलाम । झण्डै ५० किलोमिटरको दूरीमा तराई क्षेत्रमा प्रचण्ड गर्मी हुँदा अन्तुडाँडामा भने शितलो वातावरण छ । तराईका विभिन्न भागबाट गर्मी छल्नका साथै सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकका कारण पछिल्ला वर्षमा अन्तुडाँडाको पहिचान नै बदलिएको छ ।
    
इलामको सूर्योदय नगरपालिका–५ स्थित यो ठाउँमा पर्यटकको बढ्दो चापसँगै यतिखेर ४५ घरवास (होमस्टे) र चार–पाँचवटा होटेललाई पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ । तराई मात्र नभई नेपालका प्रसिद्ध पर्यटकीय स्थलबाट समेत पर्यटक अन्तुडाँडा पुग्ने गरेका छन् । यहाँ आउने जोकोही पर्यटकले यहाँबाट देखिने मनोरम दृश्य हेर्न लोभिने गरेका छन् ।
    
चितवनस्थित भरतपुर महानगरपालिका–१८ घर भई विगत डेढ दशकयता पोखरा बस्दै आएका लक्ष्मण कँडेलले अन्तुडाँडा आइपुग्दा यहाँको दृश्यले आफू निकै प्रभावित भएको बताए । हरिया चिया बगान, आकर्षक देखिने सूर्योदय, वरपरका पहाडी दृश्य सबै हेर्नै पर्ने स्थल भएको उनले बताए ।     

समुद्री सतहबाट करिब दुई हजार तीन सय मिटर उचाइमा रहेको अन्तुडाँडामा रहेका चिटिक्क परेका चिया बगान, चिया बगानभित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपिसल्लाका रूख यहाँका आकर्षण हुन् । पर्यटकको बढ्दो आगमनलाई लक्षित गरी होटेल तथा होमस्टेमा स्थानीयले लगानी बढाउँदै गएको स्थानीय पर्यटन व्यवसायी एवं होमस्टे एसोसिएसनका केन्द्रीय सदस्य एकराज घिमिरेले जानकारी दिए । उनका अनुसार यहाँका ४५ घरमा होमस्टे सञ्चालन गरिएको छ भने पाँचवटा होटेल रहेका छन् ।
    
प्रायः वर्षभर नै पर्यटकको आगमन हुने गरेको बताउँदै उनले यहाँबाट झण्डै १५ मिनेट नांगो आँखाले सूयोदय देख्न सकिने जानकारी दिए । यहाँबाट भारतको दार्जिलिङ घुमपहाडलगायतका रमणीय दृश्य पनि नियाल्न सकिन्छ । श्रीअन्तु परिसरमा रहेको सुन्दर ताल पनि यहाँको अर्को आकर्षण हो । तालमा देखिने धुपी सल्लाका बोटहरू, चिया बगानको छायाले अर्को आकर्षण थपेको छ ।
    
चिसो हावापानीका कारण गर्मी छल्न र दृश्यावलोकन गर्न भारतका विभिन्न स्थानबाट पर्यटक आउने गरेको अर्का पर्यटन व्यवसायी रत्न खड्काले बताए । नेपालको पयटकीय विकासमा श्रीअन्तुले महत्त्वपूर्ण योगदान दिएको बताउँदै उनले यहाँको प्रचारप्रसार, व्यवस्थापन र पूर्वाधार विकासमा राज्यस्तरबाटै थप पहल भएमा यो आन्तरिक तथा बाह्य पर्यटनको महत्त्वपूर्ण गन्तव्य बन्ने धारणा राखे ।     

सूर्योदयका लागि झिसमिसेमा अन्तुडाँडा उक्लने पर्यटकलगायत तराईका समथर फाँटहरू अनि भारतीय सहरमा बलेको बत्तीको झिलिमिलीसमेतको अनुभव गर्न पाउँछन् । अन्तुले पर्यटकीय रूपमा २०४०÷४१ सालदेखि चासो र चर्चा पाए पनि देशको द्वन्द्वात्मक अवस्थापछि मात्रै गति लिएको अन्तु पर्यटन विकास समितिका अध्यक्ष धनकुमार आलेले बताए । 
    
विसं २०५२ देखि पेइङ गेस्टका रूपमा यहाँ स्थानीयले होमस्टे सुरु गरे पनि होमस्टेका रूपमा व्यवसायले गति भने २०५७ कात्तिक २२ देखि लिएको उनले जानकारी दिए । पोखरामा पर्यटन व्यवसायमा क्रियाशील हाइग्राउन्ड एडभेन्चर नेपालका प्रमुख सञ्चालक अधिकृत दिनेश महर्जन अन्तुडाँडाको धेरै पर्यटकीय सम्भावना रहेको बताउँछन् । 

सूर्योदय हेर्नकै लागि इलामको अन्तुडाँडासहित पोखराको सराङकोट, म्याग्दीको पुनहिल पर्यटकका आकर्षण बन्दै गएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर