मनमोहन अधिकारीका समकक्षी मजदुर नेता रघुनाथको निधन

मुख्यमन्त्रीले राष्ट्रिय झण्डा, नेकपा र काग्रेंसले पार्टीको झण्डा ओढाएर सम्मान 

विराटनगर । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीका समकक्षी तथा ऐतिहासिक मजदुर आन्दोलनका नेता रघुनाथ गुप्ताको ९५ वर्षको उमेरमा निधन भएको छ । 

२००७ सालको जहानियाँ राणा शासनको विरुद्धमा भएको आन्दोलन र विराटनगर जुट मिल्स्को मजदुर बिद्रोहमा सक्रियतापूर्वक भूमिका निर्वाह गरेका गुप्ता स्वतन्त्रता सेनानी हुनुहुन्छ । शुक्रबार राती पौने ९ बजेको समयमा उनको निधन भएको हो । 

स्वतन्त्रता सेनानी गुप्ताको निधनपछि सबै राजनीतिक दलका नेता, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु र ठूलो संख्यामा राजनीतिक कार्यकर्ताहरु श्रद्धाञ्जली अर्पण गर्न शनिबार बिहानै उहाँको निवास विराटनगर १५ मिल्स् एरियामा उपस्थित भएका थिए । 

प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले स्वर्गीय गुप्ताको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे । सामाजिक विकास मन्त्री जीवन घिमिरेपनि श्रद्धान्जलीकालागि उपस्थित भएका थिए । नेकपाका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सहइन्चार्ज महेश रेग्मी लगायतले गुप्ताको पार्थिव  शरिरमा हसिँयाहथौडा अंकित पार्टीको झण्डा ओढाए । ‘उहाँ अन्तिमसम्म कम्युनिष्ट आन्दोलनमा समर्पित हुनुहुन्थ्यो,’ नेकपा मोरङका सहइन्चार्ज महेश रेग्मीले भने ‘भारतमा मनमोहन अधिकारीसँग सम्पर्क भएर नेपाल आउनुभयो र मजदुर आन्दोलनमा सँगसँगै सक्रिय हुनुभयो, अन्तिमसम्म उहाँ पार्टीको अभिभावककोरुपमा हुनुहुन्थ्यो ।’

त्यसैगरी नेपाली काग्रेंस मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बुले नेपाली काग्रेंसको चारताराअंकित पार्टीको झण्डा ओढाएर उनको सम्मान गरेको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए ।  उनको शनिबार नै अन्त्यष्टि गरिएको छ । 

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीसँगै संगठित भएर गुप्ताले २००७ सालको मजदुर आन्दोलनको अगुवाई गरेका थिए । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र व्यवस्था अपदस्त गरेपछि उनले केही महिना जेल बस्नु भएको थियो भने करिव ७ वर्ष निर्वासित जीवन बिताएका थिए । निर्वासनमा उहाँ विशेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइरालाहरुसँगको सम्पर्कमा बसेका थिए । स्वन्त्रताको आन्दोलनमा अगुवा नेताको रुपमा चिनिनुभएका उनको सम्मानमा प्रमुख दुई दलले नै पार्टीको झण्डा ओढाएका हुन् । 

स्वर्गीय रघुनाथ गुप्ताको शंकर, राजेश र कमलेश गरी तीन छोरा हुन् । बाबुको प्रेरणाबाट राजनीतिमा आवद्ध हुनुभएका राजेश गुप्ता नेपाली काग्रेंस मोरङ जिल्ला सदस्य हुन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर