• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

वामदेवलाई खुल्ला पत्र : संसदीय मोर्चाभन्दा फरक ठाउँमा बसेर योगदान गर्नुस्

आदरणीय वामदेव कमरेड !

तपाईंले कास्कीबाट चुनाव नलड्ने घोषणा सुनेर अत्यन्तै खुसी भएँ । विभिन्न मिडियामा यसबारेमा जब तपाईंको पूर्ण वक्तब्य पढें, मेरो खुसी दुःखमा परिणत भयो ।

तपाईं नेकपा (नेकपा)को एक स्पष्ट वक्ता, सिद्धहस्त र सिनियर मस्ट नेतृत्व हो। तपाईंको यो व्यक्तित्व निर्माणमा हजारौं जनता र कार्यकर्ताको उत्तिकै मेहनत, योगदान र बलिदान छ ।

जनताले गत निर्वाचनमा तपाईंभन्दा अर्को प्रत्यासीलाई बढी मत दिए र पाँच वर्षका लागि तपाईं संसदीय राजनीतिभन्दा अलग्गै जिम्मेवारीमा बसेर काम गर्ने कार्यादेशसमेत दिए, तर तपाईं त आफ्नो निर्वाचन क्षेत्र होइन, आफ्नै जिल्ला मात्र पनि होइन डोल्पा, काठमाडौदेखि रुकुमसम्म आफूलाई केन्द्रमा राखेर घले दौडमा सहभागी हुनुभयो, जसले तपाईंमाथि बनेको ‘टावरिङ पर्सनालिटी’मा आँच पुर्यायो ।

जब दिवंगत नेता रवीन्द्र अधिकारीको रिक्त क्षेत्रमा उपचुनावको प्रसंग आयो, पुनः तपाईंले नजर त्यतै लगाउनुभयो । एउटा अग्लो व्यक्तित्वलाई सांसद् बन्ने कुरा मामुली प्रश्न हो । यो मामुली प्रश्नमा तपाईं रुमल्लिएको देखेर म निकै समय अघिबाट असहज महसुस गरिरहेको छु । संसदीय राजनीतिमा यस्तो खेल स्वाभाविक होला तर हामीजस्तो राजनीतिमा हुर्किंदै गरेको पुस्ताले तपाईंको मरिहत्तेबाट के सिक्ने ?

आदरणीय कमरेड
तपाईं संसदीय मोर्चाभन्दा फरक ठाउँमा बसेर योगदान गर्नुस्, पार्टी एउटा बेथितिको स्थितिबाट गुज्रिरहेको संक्रमणकालीन परिस्थितिमा यो पार्टीलाई एउटा व्यवस्थित, वैचारिक, सैद्धान्तिक दिशाबोध दिनुहोस् । संगठनात्मक आँखाबाट यसका बल्ल आधारभूत संरचना तयार भएका छन्, यसलाई एउटा विधि र प्रक्रियाबाट सञ्चालन हुने खँदिलो पार्टी बनाउनुस् । तीन तहकै सरकार र पार्टीका संरचनात्मक रूपमै परिपूरक गरी अधिकतम रूपमा देश र जनताको पक्षमा निरन्तर काम गर्ने एउटा सशक्त पार्टी बनाउनुस् । 

यस्ता महत्त्वपूर्ण र युगीन कामहरूको नेतृत्व गर्ने अवसरलाई छोडेर एक थान संसद् बन्न तपाईं दौडेको पटक्कै मन परेको थिएन, तर आज उम्मेदवारी नदिने घोषणाले खुसी बनायो । मैले सोचेको थिएँ, म र मजस्ता हजारौं नौजवान युवाहरूको यही आवाजलाई बुझेर तपाईंले यो घोषणा गर्नुभयो । तर, फेरि पनि अन्तर्यमा त तपाईंले त्यागको भावनाले होइन, कास्कीमा चुनाव जितिँदैन कि भन्ने संशयले पो उम्मेदवार नबन्ने सोच बनाउनुभएको रहेछ । पुनः कमरेड मीठो खिरमा अलिकति गोबर हालिदिनुभो ।

प्रिय कमरेड
हामी चुनावदेखि चुनावसम्म, संसददेखि संसदसम्म र सत्तादेखि सत्तासम्मको मात्र साँघुरो राजनीतिक परिधिभित्र कैद हुन चाहँदैनौ । हाम्रो पुस्ता त बरु पैसा लगानी गरेर चुनाव जित्ने र त्यसको डबल पैसा असुल्ने, राज्यको स्रोतसाधन दोहन मात्र गर्ने यो प्रणालीकै पनि सुधार र विस्थापनको पक्षमा छौं । तपाईंको लोभलाग्दो विगत, अडान र क्रान्तिकारी छविलाई सम्झिँदा भन्न मन लाग्यो र अनुरोध गरें, अब यसपटक एउटा अन्तिम घोषणा गर्नुहोस् र भनिदिनुहोस्, मलाई जनताले पाँच वर्षका लागि फरक जिम्मेवारीबाट काम गर्ने आदेश गरे, जनताको आदेशलाई यशअघि कहीँ कतै लोभ गरेर अक्षरशः पालना गर्न सकिनँ । तर, अन्तत मलाई जनताको यो आदेश मन्जुर छ, अब म यो कार्यकाल पूरा नभई कुनै चुनाव लड्दिनँ बरु संसद्बाट बाहिरै रहेर पहिले जस्तै हरसम्भव जनताको पक्षमा काम गर्छु ।

हामी एकपटक पुनः तपाईंसँगै संकल्प गर्नेछौं र भन्नेछौं हामी यो व्यवस्थामा शासन गर्न आएका होइनौं, रुपान्तरण गर्न आएका हौं ।

हार्दिक अभिवादनसहित
तपाईंको शुभेच्छुक
युबराज दाहाल

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर