दशैँ मनाउन घर फर्किएका दर्जी परिवार नेपालीबाटै महेन्द्रनगरमा लुटिए

महेन्द्रनगर । दशैं मनाउन भारतबाट घर फर्किने क्रममा कञ्चनपुरको महेन्द्रनगरमा एक परिवार लुटिएको छ । भारतको नैनीतालमा रोजगारी गर्दै आएका कर्णाली प्रदेशको कालिकोटको फुकोट गाउँपालिका वडा नम्बर २ का कुल दर्जीको परिवार महेन्द्रनगरमा लुटिएको हो । श्रीमती र दुई छोराछोरी सहित दशैँ मनाउन घर फर्किने क्रममा भारतको हल्द्धवानी बसपार्कबाट सँगै आएका तीन जना नेपालीले उनीहरुलाई लुटेका हुन् ।

दर्जीले दशैँ मनाउन झण्डै १० वर्षपछि परिवार सहित घर फर्किदा नेपालीबाटै लुटिएको बताए । दर्जीले महेन्द्रनगर बसपार्क पुगेपछि संगै आएका कालिकोट घर बताउने तीन जनाले भारु साट्न भनेरसँगै लगेको र चिसो खाउँ भन्दै वेहोस हुने पदार्थ मिसाएर आफूसंग भएको ४० हजार भारु लुटेर लगेको बताए ।

दर्जी श्रीमती र छोराछोरीलाई खाने खाने होटलमै छाडेर उनीहरुसँगै पैसा साट्न गएका थिए । खल्तीमा घर पुग्ने भाडा समेत नभएपछि विचिल्लीमा परेका उनीहरुलाई निड्स नेपाल, होटेल र यातायात व्यवसायीले रकम संकलन गरी घर पठाएका छन्। यस्तै भारतमा रोजगारी गरि घर फर्किएका संखुवासभाका ५० वर्षीय कृष्ण गुरुङ्ग र बैतडीका २८ वर्षीय वीरबहादुर चन्द पनि सीमामा लुटिएका छन् । 

उनीहरुलाई पनि बेहोस हुने खानेकुरा दिएर लुटेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक नरेन्द्र बहादुर चन्दले भने सीमा क्षेत्र र बसपार्कमा हुने लुटपाटका घटनालाई न्युनीकरण गर्न हेल्प डेस्क स्थापना गरिएको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर