तिलोत्तमा लगानी सम्मेलनमा १६ अर्बको लगानी प्रतिबद्धता

बुटवल । तिलोत्तमा नगरपालिकाले बिहीबार आयोजना गरेको लगानी सम्मेलनमा १६ अर्बको लगानी प्रतिबद्धता आएको छ । सम्मेलनको क्रममा बिहीबारसम्म ३० वटा परियोजना प्रस्ताव आएका छन् । तीमध्ये २४ परियोजनाको आयश मात्र खोलिएको छ । सबै आशयपत्र खोल्दा लगानी प्रतिबद्धता बढ्ने अपेक्षा आयोजकको छ ।

बिहीबार दुई परियोजनाको सम्झौतामा हस्ताक्षर भएको छ भने अन्य दश परियोजनामा प्रारम्भिक समझदारी कायम भएको छ । हस्ताक्षर भएका दुई परियोजनामा युकेएआईडीको सीप र रोजगार प्रवद्र्धन कोष स्थापना तथा नेपाल बैंकद्धारा प्रदान गरिने सहुलियत कर्जा नगरपालिकाको सिफारिस गर्ने सम्बन्धी छन् ।

प्रारम्भिक समझदारी भएका परियोजनामा कृषि, पर्यटन, उद्योगलगायतका छन् । निजी क्षेत्रले विभिन्न २० परियोजना प्रस्ताव गरेका छन् । प्रस्तावित परियोजनामा स्वदेशी लगानी रहने उल्लेख छ ।

नगरपालिकाले लगानी सम्मेलनपछि तोकिएको अवधिसम्म आउने परियोजनाका लागि विभिन्न कर छुटको अफर गरेको छ । रिडी हाइडो पावर, अन्नपूर्ण एग्रो, स्मार्ट एएसी नेपाल, उत्तम एग्रो प्रोडक्सन, सन आउटडोर प्रा.लि. लगायतका कम्पनीले लगानी प्रतिबद्धता जनाएका छन् ।

निजी क्षेत्रबाट आएको लगानी प्रतिबद्धताले आफूहरु निकै उत्साहित भएको नगर प्रमुख बासुदेव घिमिरेले बताए । लगानी सम्मेलनमा आएका लगानीकर्ताहरुले आगामी दिनमा समग्र रुपन्देहीमा लगानीका लागि आफूहरु तयार रहेको प्रतिबद्धता जनाएका छन् । लगानी सम्मेलनमा चीन, भारतबाट समेत लगानीकर्ताहरु आएका थिए । यसअघि भएको छलफल कार्यक्रमका सहभागीहरुले स्थानीय सरकारको रुपमा तिलोत्तमाले थालेको विकास अभियानको प्रशंसा गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर