मासु पसल मापदण्ड विपरीत

गुल्मी । सदरमुकाम तम्घासका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । चाडपर्व नजिकिँदै जाँदा रेसुङ्गा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, गुल्मी उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्चलगायतले तम्घास बजारका मासु पसलको अनुगमन गर्दा मापदण्ड विपरीत कारोवार गर्दै आएको पाइएको छ ।   

अनुगमनका क्रममा सदरमुकाम तम्घासमा रहेका अधिकांश मासु व्यवसायीको मासु काट्ने स्थान निकै फोहर देखिएको र उक्त काटेको मासु बिक्री गर्ने स्थान मात्र सफा देखिएको र बधशाला स्थल अत्यन्तै दुर्ग्न्धित रहेको भेटिएको छ । 

बधशाला शौचालय नजीकै र अत्यन्तै फोहर अवस्थामा रहेको पाइएको छ । व्यवसायीलाई तत्काल बधशाला सुधार गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । मापदण्डअनुसार मासु पसल सञ्चालन नगर्ने व्यवसायीलाई उपभोक्ता ऐनअनुसार कारवाही गरिने उनले बताए । अनुगमनका क्रममा व्यवसायीले खसी र कुखुराको मासु एउटै ठाउँमा राखेर उपभोक्तालाई बिक्री वितरण गर्ने गरेको पाइएको छ । 

अनुगमन समितिले म्याद नाघेका खाद्य सामग्रीको बिक्री–वितरणमा रोक लगाउन बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । पहिलो चरणमा समितिले मासु पसलका अतिरिक्त होटल, किराना पसललगायतको अनुगमन गरेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर