• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

३० वर्ष विदेशमा कमाएको सम्पतिसहित श्रीमति अर्कैसंग फरार, श्रीमानको बिचल्ली !

काठमाडौं । मंलगबार बिहान ८ बजे । 

शंखमुलस्थित एक अनलाइन पत्रिकाको कार्यालयमा काम विशेषले पुगेको थिएँ । त्यहाँ पुग्दा केही साथिहरु एक गम्भीर विषयमाथि छलफल गरिहेका थिए । मैलेपनि उक्त घटनाको केही जानकारी लिने मौका पाएँ । 

आफ्नो पेशा नै पत्रकारीता भएको कारण मलाई उक्त घटना एउटा गतिलो रिपोर्टिङको आधार थियो । तर पिडितको बयान सुन्दै जाँदा रिपोर्टिङ मात्र भन्दा पनि मानवीय भावले उत्तेजित बनाउने  अवस्था सृजना भयो । 
 
त्यसको केहीबेरमा नै सामाजिक सञ्जाल तात्यो तर, अर्को एउटा ठूलो विषयले ।

सामाजिक सञ्जालमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएको भिडियो भाइरल भइसकेको थियो ।
  
म पत्रकारीतामा आफ्नो करिअर खोजिरहेको व्यक्ति, हरेक उत्तेजक अवस्थाको अपडेट लिईनभने म पछि पर्ने पक्का छ । अझ, संसदीय रिपोर्टिङ मेरा लागि रुचिको विषय थियो । सभामुखको विषयले सामाजिक सञ्जाल तातिँदा पनि मलाई उक्त विषयले भन्दा ती पीडितको रोदनले ध्यान केन्द्रीत गर्यो । 

कार्यालयमा सम्पर्क गरेँ । 

कुनै पनि विषय नछुटाई स्वतन्त्र पत्रकारीताको मर्मलाई ध्यानमा राखेर सबै समाचारहरु सम्प्रेषणका लागि आफू मातहतका साथिहरुलाई सुझाँए । र, म उक्त केसको बारेमा झन धेरै बुझ्नतिर लागेँ । 

केहीबेरमा पीडित पक्ष अर्थात, नरसिंह रामजाली आइपुगे । 

सामान्य परिचय गर्नासाथ पीडितले भने–‘मैलै जिन्दगीमै नभोगेको र नसोचेको दुःख पाएँ । मलाई सहयोग गर्नुपर्यो ।’

इन्डियन आर्मीमा २० वर्ष बिताएर नेपाल फर्किएका उनी रोजगारीको सिलसिलामा कतार र अफगानस्तान पनि पुगेका रहेछन् । आफूले ३० वर्ष विदेशमा रहेर कमाएको सबै रकम श्रीमती मञ्जु रामजालीको नाममा पठाउने उनको उहिल्यैदेखिको बानी रहेछ । श्रीमतिलाई पठाएको सबै रकम अहिले आफूसंग नरहेको मात्र होइन श्रीमति नै अर्को कुनै परपुरुषसंग अनैतिक सम्बन्धमा रहेर आफूलाई फसाउन खोजेको तथ्य फेला पारेपछि नरसिंह छाँगोबाट खसेजस्तो भएको अनुभव सुनाउँछन् । 

श्रीमतिको ढाँट श्रृखंला
नरसिंहलाई मञ्जुसंगको विश्वास यति थियो कि उनले आफूले कमाएको कुनै रकम ३० वर्षभरी श्रीमति बाहेक कसैलाई पठाएनन् । पछिल्लो समय आफगानस्तानमा झण्डै ७ वर्ष रोजगारी गरेपछि परिवारसंग बाँकी जीवन खुसीसँग बिताउने लक्ष्यस्वरुप उनी नेपाल फर्किएका थिए । 

हामीसंगको कुराकानीमा स्तब्ध भएका नरसिंहले सुनाए– ‘यति धेरै विश्वास गरेको मान्छेले नै धोका दिई । अर्कै पुरुषसंगको सम्बन्ध र मेरो नागरिकता नै किर्ते गरेर विभिन्न बैंकबाट ठूलो रकममा ऋण झिकेर मलाई धोका भयो । सहयोग गर्नुपर्यो सरहरु !’ उनले भावविह्वल स्वरमा आग्रह गरे ।

मञ्जु रामजाली
मञ्जु रामजाली
नरसिंह रामजाली
नरसिंह रामजाली

श्रीमानले पठाएको सबै रकमको हिफाजत नगरी बैंकमार्फत ऋणपनि झिक्न भ्याइसकेकी रहेछिन्, मञ्जुले । अफिसको फिल्डमा काम छ भन्दै श्रीमति सधैं बाहिर नै हुनेगरेको नरसिंहले सुनाए । 

उनले भने–‘पछिल्लो पटक पनि अफिसको काम छ भन्दै श्रीमतिले चितवन जाने भनिन् । मैले बसपार्कसम्म पुर्याईदिन्छु भनेर पुर्याइदिएँ पनि । म पनि चितवन जान्छु भन्दा उनले जान दिइनन् । मैले बाटोमा केही समस्या भयो भने खबर गर्न हुन्छ भनेर गाडीका सहचालकको नम्बर लिएको थिएँ । उनी गएको केहीबेरमा सहचालकलाई सम्पर्क गर्दा उनले दिएकोे जवाफबाट म आफैं चकित भएँ ।’

चितवन जान्छु भनेर हिँडेकी मञ्जु थानकोटमा नै ओर्लिएर अर्कै पुरुषसंग हिँडेको ती सहचालकले उनलाई जानकारी दिएछन् । त्यसपछि उनको शंकाको बाटो खुल्यो । श्रीमतिले आफूलाई झुक्याएको भनि थाहा भएपछि उनले खोजतलास तीव्र बनाए । 

केही साथिहरुलाई आफ्नो व्यथा सुनाए । 

त्यसपछि पत्ता लागेका हर सवुतले श्रीमतिको नियतलाई प्रष्ट पार्दैगयो । 

किर्ते नागरिकता
मञ्जुले श्रीमानको नागरिकतामा अर्कै पुरुषको फोटो टाँसेर अर्कै पुरुषलाई आफ्नो श्रीमान भन्दै विभिन्न बैंकबाट ऋण झिकेको तथ्य फेला पारे ।

एनआइसी बैंकको बालाजु शाखाबाट ८० लाख रुपैंया अर्कैको फोटो आफ्नो नामको नागरिकतामा टाँसेर ऋण झिकेको पत्ता लागेपछि उनको निन्द्रा र प्यास दुबै हरायो । 

नरसिंहका सन्तानको नाममा एक छोरी छिन, निशा रामजाली । 

केही वर्षदेखि छोरी निशा पनि जापान बस्दै आएकी  छिन् । बाबु नरसिंह फर्केपछि उनीपनि नेपाल आएकी रहेछिन् । छोरीको साथ पाएपछि नरसिंह प्रहरी प्रशासन र मिडियामा आउने आँट गरेका रहेछन् । 

उनले सुनाए–‘हामीले पहिल्यै जे जन्माएपनि एक मात्र बच्चा जन्माउने सल्लाह गरेका थियौं । हामीले अरु कुनै योजना नै बनाएनौं ।’ 

श्रीमतिसंग आफू शारिरिक सम्बन्धबाट १० वर्षदेखि वञ्चित रहेको यथार्थ उनले हामीसंग सुनाए । 

३० वर्षे रोजगारीमा रहेका नरसिंहसंग अहिले सम्पतिको नाममा केही छैन् । सम्पूर्ण रकम श्रीमतिको नाममा पठाएका नरसिंहले कुन कुन शीर्षकमा रकम खर्च भएको कुनै जानकारी लिएनन् । जुन विस्वासका कारण थियो ।

प्रहरीसमक्ष निवेदन
नरसिंहले आफू ठगिएको भनि महानगरिय प्रहरी परिसरमा निवेदन दिए । निवेदन दर्ता भयो । उनले आवश्यक परामर्शका लागि वकिलको साहरा पनि लिए । ‘आफ्नो भनेर जिन्दगीभरि नै विश्वास गरिएकाले धोका दिएपछि मसंग प्रहरी प्रशासन र न्याय प्रशासन भन्दा बाहेक के नै थियो र !’ उनले गहभरी आँसुपार्दै सुनाए । 

निवेदन दर्तापनि भयो । अदालतले मञ्जुलाई पक्राउ पूर्जी पनि जारी गरिसकेको छ । नरसिंहका अनुसार सोमबार दिउँसो राजधानीको एक होटलमा सिभिल प्रहरीले उनलाई पक्राउ पनि गर्यो । सिभिल प्रहरीले भेटेको केहीबेरमै मञ्जुले प्रहरीसंगै साँठगाँठ गरेर त्यहाँबाट उम्केको आरोप नरसिंहको छ । नरसिंह भन्छन–‘प्रहरीले उनलाई होटलमा फेला पारेको थियो । तर, त्यहाँबाट उम्केपछि अहिले मञ्जुको मोबाइल स्वीच अफ छ ।’

न्याय खोज्दै पुगेको अन्तिम गन्तव्य ठानेका प्रहरीले नै मिलेमत्तोमा उनलाई भगाएपछि उनी मिडिया खोज्दै हामीबीच आइपुगेका रहेछन् ।

उनको उक्त कुरा सुनेपछि हामी महानगरिय प्रहरी परिसर टेकु पुग्यौं । त्यहाँ हामीले अघिल्लो दिनमात्र मुद्दा दर्ता भएको ठाउँमा सम्पर्क गर्यौं । डिएसपी कृष्ण कुमार पन्त त्यहाँ रहेछन् । उनीसंग हामीले मुद्दाको विषयमा केही सोधपुछ गर्यौं । 

आफूहरुले सहयोग गरिरहेको दाबी उनले गरे । डीएसपी कुष्ण कुमार चन्दसंग हामीले पक्राउ पूर्जी जारी भएर पक्राउ गरिसकेको मान्छे अहिले सम्पर्क विहिन छ, किन पक्राउ नभएको भनी प्रश्न पनि गर्यौं । उनले आफूलाई यसबारे जानकारी नभएको बताए । 

पीडित नरसिंहका अनुसार श्रीमति मञ्जुले परिसरका डीएसपी राजेन्द्र प्रसाद धमलालाई फोन गरेपछि उनले नै सिभिल प्रहरीलाई उनलाई पक्राउ नगर्न भनेका थिए । त्यसबारे प्रहरी परिसरमा कुनै जानकारी नभएको चन्दले हामीलाई सुनाए ।

प्रहरीले यदी पक्राउ परेको वा नपरेको जे भएपनि मञ्जुलाई आफूहरुले पक्राउ गर्ने आश्वासन पीडित समूहलाई दिएका छन् । 

नक्कली श्रीमान
मञ्जुले काठमाडौं जिल्ला सतुगंल वडा नं ९ ठेगाना भएका संजय महर्जनको फोटो आफ्नो श्रीमानको नागरिकतामा राखेर कीर्ते गरी बैंकबाट ऋण झिकेको फेला परेको छ । नागरिकता नम्बर ८१६५ रहेको संजय महर्जनले नागरिकता नम्बर ८२९९०/८३१ नम्बर नागरिकता रहेका नरसिंहको नागरिकतामा फोटो टाँस गरि विविन्न बैंकमार्फत ऋण झिकेको फेला परेको तथ्य नरसिंहले हामीलाई देखाए ।

एनआइसी एसिया बैंकमा संयुक्त खाता
मञ्जु र नरसिंहको नाममा एनआइसी एसिया बैंकमा संयुक्त खाता रहेको प्रमाण पनि नरसिंहले हामीलाई देखाए । उनका अनुसार बैंकमा बुझ्दा आफ्नो जग्गा धितो राखी मञ्जु र नरसिंहको नामबाट ८० लाख रकम ऋण लिएको देखिएको छ । जबकी, नरसिंह अहिलेसम्म एनआइसी बैंकमा कुनै कारोबार नै नगरेको दाबी गर्छन् ।

बैंकको बालाजु शाखाको चेक हामीलाई उनले प्रमाणस्वरुप देखाएका छन् ।

मञ्जु स्थानीय विकास मन्त्रालयमा कार्यरत लेखापाल रहेको सामजालीले हामीलाई बताए । उनका अनुसार मञ्जु पहिला सह–लेखापाल र अहिले लेखापाल रहेका छन् । 

(प्रहरीले पीडकलाई खोज्ने बताएपछि नरसिंह अहिले प्रहरी भरोसामा छन् । उनले आफूलाई सहयोग गर्न आग्रह पनि गरेका छन् । यस घटनासंग सम्बन्धीत सबै प्रकारका विषयहरु हामी आगामी श्रृङ्खलामा प्रस्तुत गर्ने छौं । क्रमश....)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर