• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नयाँघरेको ‘तनक्खा’ विमोचित

काठमाडौं । नियात्राकार युवराज नयाँघरेको तनक्खा नियात्रा संग्रहको विमोचन भएको छ । नेपाल म्यानमार मैत्री परिषद्का अध्यक्ष शंकर घिमिरेले पुस्तक विमोचन गर्दै यो कृतिले नेपाल र बर्मामा रहेका नेपालीको धर्म, संस्कृति र जीवनशैली चिनाउन मद्दत पुग्ने चर्चा गरे ।

कृति विमोचन गर्दै घिमिरेले भने, ‘धेरै नेपाली रोजगारीसँग गाँसिएर बर्मा पुगे पनि उनीहरूले आफ्नो परम्परा र पहिचान जोगाइरहेकै छन् । तनक्खामा यसको अत्यन्तै राम्रो वर्णन पाइन्छ ।’

कृतिबारे समीक्षा गर्दै समालोचक महेश पौडेलले प्रस्तुत कृतिमा देश छाडेका नेपालीको हृदय गाँसिएको बताए । उनले नेपाली साहित्यमा यस्ता कृतिको निकै खाँचो रहेको बताए । उनले भने, ‘यात्रासाहित्यमा यो एउटा अब्बल कृति हो । यसले बर्मा र नेपाली समाजको सम्बन्ध अझ गहकिलो पारेको छ ।’

साहित्यकार मोमिलाले नयाँघरेको लेखकीय शैली तनक्खामा राम्रोसँग आएको बताइन् । उनले प्रस्तुत कृतिमा नेपालीको जीवनशैली, संस्कृति र सभ्यताको राम्रो शल्यक्रिया भएको बताइन् ।

कृतिकार नयाँघरेले कृतिमा आफ्नो मूलथलो छोडेपछि नेपालीहरूको समग्र चरित्र र पहिचान कस्तो हुँदोरहेछ भन्ने अध्ययन र निष्कर्ष दिने  प्रयास गरेको बताए । उनले तनक्खामा बर्मामा रहेका नेपालीको इतिहास र वर्तमानको वर्णनसँगै भविष्यमा परिचय के हुन सक्छ भन्ने विवेचना गरिएको जानकारी गराए । उनले भने, ‘बर्मामा नेपालीले कृपा होइन कदर पाएका छन्, दया होइन सम्मान पाएका छन्, बहिस्कार होइन स्वीकारको वातावरण पाएका छन् । म्यानमारमा नेपालीको पहिचान ज्यादै सम्मानित छ । हिजो गाई पाल्न गएकाहरू आज ठूलो–ठूलो कारोबारी भएका छन् । तनक्खामा नेपालीको सबै पुस्ताको सुक्ष्म वर्णन छ ।’

कृति विमोचन कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, नेपाल म्यानमार मैत्री परिषद्का तुलसी ज्ञवालीलगायतले मन्तव्य राखेका थिए । नयाँघरेको यो १६औं कृति हो । कृतिलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर