• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

जिन्दगी एउटा लीला हो : धरावासी

केही वर्ष अमेरिका बसेर पुनः नेपाल फर्किएका छन् साहित्यकार कृष्ण धरावासी । विविध विधामा गरी ३० वटा कृति प्रकाशन गराइसकेका धरावासीका ‘लीलाबोध’ शीर्षकको दर्शनमा आधारित पुस्तक र ‘तल्लो बाटो’ उपन्यास पछिल्ला कृति हुन् । 

धरावासी अहिले ‘पुरुष’ विषयमा अध्ययन–अनुसन्धान गरिरहेका छन् । उनले नारीहरूका बारेमा प्रशस्त कलम चलाए । अब पुरुषहरूका बारेमा लेख्नुपर्ने समय आएको उनी बताउँछन् । ‘नारीहरू आफ्ना बारेमा अब आफैँ भन्न सक्ने भइसकेका छन्,’ उनी भन्छन्, ‘अब पुरुषले नारीहरूका बारेमा भनिरहनुपर्ने आवश्यकता छैन ।’ 

धरावासीका अनुसार नारीजस्तै पुरुषहरू पनि अनेक कारणले शोषित–पीडित छन् । तर पुरुषहरू आफ्ना कैयौँ कुरा आफैँ भन्दै हिँड्दैनन् । धरावासी भन्छन्, ‘पुरुष बाहिर–बाहिर ठूलाठूला कुरा गरेर हिँड्छ, तर आफ्ना कुरा बाहिर व्यक्त गर्दैन । पुरुषमा घमण्ड, स्वाभिमान पनि हुन्छ । त्यसैले पुरुष रुँदै र आफ्ना पीडा सुनाउँदै पनि हिँड्दैन ।’ आफैँले भोगेका र कैयौँ ठाउँमा आमपुरुषले भोगेका कथा लेख्नैपर्ने सोच आएर उनी त्यसतर्फ उन्मुख भएका हुन् । अबका दिनमा आख्यान कम र दर्शनका कुरा बढी लेख्ने योजनामा छन् उनी । त्यसैका लागि पछिल्लो समय भगवत्गीतको सांगोपांग अध्ययन गरिरहेका छन् ।

२०१७ साल साउन २ गते यस धरामा पहिलो पाइला टेकेका हुन् धरावासीले । बाबुबाजेको पुख्र्यौली थलो अमरपुर पाँचथरमा उनले जिन्दगीको पहिलो प्रहर अर्थात् सात वर्ष बिताए उनले । २०२४ सालमा उनका बुबाले झापा बसाइँसराइ गरे । पहाडमा भएको पैतृक सम्पत्ति बाँडफाँटमा ठगिएपछि विद्रोह गरेर धरावासीका बुबा झोँकझोँकमै तराई झरेका रहेछन् । झापा शनिश्चरेमा उनका बुबाआमाले छोराछोरी हुर्काउन ठूलो कष्ट व्यहोरे । धरावासीले झापा शनिश्चरे माविबाट पढाइ सुरु गरे । उनले त्यहीँबाट एसएलसी उत्तीर्ण गरे । स्कुल जीवनका उनका निकट मित्र थिए सञ्जीव उप्रेती । कलेजस्तरको पढाइका लागि उनी इलाम गए ।

पाँच कक्षामा पढ्दा अतिरिक्त क्रियाकलापमा गुरुको केही लेखेर ल्याउनु भन्ने आग्रहलाई उनले पनि टार्न सकेनन् । कसरी लेख्ने र के लेख्ने भन्ने उनले केही भेउ पाएनछन् । ‘रमाइलो नानी’ शीर्षकको बालपुस्तक फेला पारेपछि त्यसैबाट केही सार्दै लगेर सुनाउँदा रहेछन् । गुरुले पनि राम्रो भनेपछि उनी झन् हौसिए । अरू साथी के गर्थे उनले थाहा पाएनन् । उनलाई लाग्दो रहेछ सञ्जीव पनि सारेर नै लान्छन् होला । पछि थाहा पाए, सञ्जीवचाहिँ आफैँ लेखेर लाँदा रहेछन् भन्ने । धरावासीले चाहिँ एक वर्षभरि त्यही किताबबाट सारेर आफ्ना रचना सुनाएछन् । ६ कक्षामा पुगेपछि एक दिन ‘राजकुमार दिक्पाल’ शीर्षक कथा सारेर लगेछन् । त्यो कथा आठ कक्षामा पढाइ हुँदो रहेछ । त्यस दिन चित्रसेन भण्डारी नाम गरेका सिनियर दाइले ‘हामीले पढ्ने कथा सारेर सुनाउँछस्’ भनेर कान मोलेपछि उनको होसहवास उड्यो । त्यसपछि उनले आफैँ लेख्ने अभ्यास गर्न थाले । 

२०३२ सालमा धरावासीको पहिलो कविता छापियो । भोजपुरबाट प्रकाशित हुने ‘सूर्योदय’ पत्रिकामा उनको त्यो रचना छापिएको रहेछ । तर त्यो कविताको शीर्षक धरावासीलाई अहिले सम्झना छैन । २०३३ सालमा घरमा आगलागी भएपछि उनको कविता छापिएको पत्रिका पनि त्यसैमा स्वाहा भयो । त्यसवेलासम्म उनले लेखेका रचनाहरूको डायरी पनि त्यहीँ खरानी भयो । 

२०३५ सालसम्ममा कृष्णप्रसाद यही धरामा रहे पनि ‘धरावासी’ भइसकेका थिएनन् । वास्तविक नाम कृष्णप्रसाद भट्टराईका नामबाट उनका तीनवटा कथा र तीनवटा कविता प्रकाशित भएका छन् । २०३५ सालको मोती जयन्तीको अवसरमा इलाम क्याम्पसमा उनले कृष्णप्रसाद धरवासीको नामबाट निबन्ध सुनाए । 

धरावासी सुरुदेखि नै दर्शन तथा आध्यात्मिक कृतिहरू पढ्न रुचाउँथे । भर्खर एसएलसी पास गरेर कलेज गएको ठिटो प्रेम–रोमान्सतिर नलागेर कसरी दर्शनपट्टि लाग्यो उनलाई नै हेक्का छैन अहिले । धर्म, सिमाना, जाति, संस्कृति, राष्ट्र भन्ने कुरा सबै मिथ्या हो, धरा अर्थात् पृथ्वी मात्र सत्य हो भन्ने निक्र्योलमा पुगे उनी । अनि उनलाई लाग्यो हामी पृथ्वीका बासिन्द हौँ । अनि कृष्णप्रसादबाट ‘प्रसाद’लाई मन्साएर उनले कृष्ण धरावासी भनी आफ्नो न्वारन आफैँ गरे । 

सामान्यतया प्रायः लेखक काठमाडौं आएपछि मात्र चर्चित हुने गर्छन् । काठमाडौंमा लेख्ने–छपाउने धेरै माध्यम भएकाले पनि त्यसो भएको हुन सक्छ । तर, धरावासीका सन्दर्भमा भने यसको उल्टो भयो । त्यसवेला झापामा धरावासीलगायत हीरा आकाश, प्रकाश बुढाथोकी, दुर्गा दाहाल, केशव आचार्य, डिकमान विरही, भरत भुर्तेल, अमृतलाल श्रेष्ठलगायतका लेखकहरू निकै सक्रिय थिए । उनीहरू काठमाडौंले हामीलाई हेप्छ भनेर गुनासो पनि गर्थे । त्यहाँ उनीहरूले ‘भोक कविता आन्दोलन’ सञ्चालन गरे । काव्यात्मक ढंगबाट शिष्ट तरिकाले तत्कालीन व्यवस्थाको विरोध गर्नु त्यसको उद्देश्य थियो । प्रशासनले उनीहरूमाथि कडा निगरानी राखेको थियो । हीरा आकाशलाई पक्राउसमेत ग¥यो । २०४० सालबाट सुरु भएको त्यो आन्दोलन बहुदल आएपछि स्वतः रोकियो । त्यसैगरी ‘मन्थन झापा’ नामक साहित्यिक संस्था खोलेर उनीहरूले प्रशस्तै साहित्यिक कार्यक्रम गरे । त्यसैको प्रभावबाट धेरै प्रतिभा जन्मिएको धरावासीको दाबी छ । 

धरावासी झापामै हुँदा केन्द्रका लेखक–साहित्यकारहरूसँग नियमित सम्पर्क हुन थाल्यो । महिनामा आठ हजारको जागिर खाने उनले काठमाडौंका लेखकहरूसँग टेलिफोन सम्पर्क गर्नकै लागि महिनामा ३८ सय रूपैयाँसम्म खर्चिए । यसरी ‘गरिमा’ र ‘मधुपर्क’का सम्पादकहरूसँग उनको चिनजान बढ्दै गयो । अनि उनका रचनाले ती पत्रिकामा स्थान पनि पाउन थाले । 

धरावासीको बुझाइमा आफ्नो बाटो आफैँ खोज्नुपर्छ । कुन ठाउँमा कसरी पुग्ने त्यो आफैँले निर्धारण गर्ने हो । ‘यहाँ कसैले कसैका लागि केही गर्नेवाला छैन,’ उनी भन्छन्, ‘हामी जहाँ बसे तापनि हाम्रो बाटो कता हो त्यो आफैँलै पहिल्याउनुपर्छ । म यहाँ छु, मलाई देख्नुपर्छ भन्नुको कुनै तात्पर्य छैन ।’

झापाबाट प्रकाशित ‘शरणार्थी’ उपन्यास र ‘झोला’ कथासंग्रहले धरावासीलाई साहित्यको एउटा उचाइमा  पुर्याइदियो । पछि साझा प्रकाशनबाट प्रकाशित ‘राधा’ उपन्यासले मदन पुरस्कार प्राप्त गरेपछि उनले पछाडि फर्केर हेर्नु परेन । अनि साहित्यमा मोफसल भन्ने हुँदो रहेनछ भन्ने बुझे उनले । 

धरावासी सानै छँदा मावलीकी हजुरआमाले धेरै महिला बसिरहेको ठाउँमा सती प्रथाका बारेमा उल्लेख गरेको सुनेका थिए । त्यसका केही कुराचाहिँ उनको दिमागमा बसिरहेको रहेछ । पछि कुनै दिन उनलाई त्यो लेख्न मन लाग्यो, अनि जन्मियो ‘झोला’ कथा । 

करिब सात वर्षअघि उनको झोला कथालाई चलचित्रमा उतारे निर्देशक यादव भट्टराईले । त्यसमा धरावासीले सानो भूमिका पनि निर्वाह गरे । झोला चलचित्रबाट उनले साढे दुई लाख रूपैयाँ लेखकस्व पाए । मदन पुरस्कार पाउँदा दुई लाख पाएका धरावासी एउटा कथाबाट त्यति रकम पाउँदा दंग परे । 

साझा प्रकाशनले धरावासीलाई ठूलो गुन लगायो । त्यो कुरा उनी स्वीकार गर्छन् । साझाबाटै प्रकाशित राधाले मदन पुरस्कार पाएपछि उनको चर्चा थप चुलिएको उनी आफैँ बताउँछन् । त्यसैगरी, ‘शरणार्थी’ उपन्यास पनि साझाले प्रकाशन गरेको थियो । तर, पछिल्लो समय साझाको हिसाब पारदर्शी नभएकाले उनले त्यहाँबाट ती कृति झिके । उनका सबै कृति अहिले कुनै निजी प्रकाशन गृहबाट प्रकाशित भइरहेका छन् । त्यसबाट उनले वर्षको कम्तीमा तीन लाख रूपैयाँ लेखकस्व बुझिरहेका छन् । उनको ‘राधा’ उपन्यास लेखक÷समीक्षक महेश पौड्यालले अंग्रेजीमा अनुवाद गरेका छन् । एक वर्षअिघि त्यो अमेरिकाबाट प्रकाशन भएको छ । आफ्ना तीन दर्जन कृतिमध्ये ‘आधा बाटो’ उनलाई सबभन्दा बढी मन पर्ने उनी बताउँछन् । त्यसमा उनले आफ्नो जिन्दगीको कथा लेखेका छन् ।

२०३४ सालबाट दार्जिलिङनिवासी इन्द्रबहादुर राईले लीलालेखन सुरु गरे । ‘रूपरेखा’ २०० अंकमा ‘भ्रान्तिहरू र लीलालेखन मात्र’ शीर्षक लेख लेखे राईले । राईले भागवत्बाट एउटा श्लोक उृद्धत गरेर पूर्वीय अध्यात्मसँग जोडिएका कृतिहरूमा जीवनलाई लीलात्मक ढंगबाट हेर्ने र त्यसबाट साहित्यिक सिद्धान्त निकाल्नुपर्छ भनेर लीलालेखन सुरु गरे । धरावासीमा त्यसको छाप बिस्तारै पर्दै गयो र उनी लीलालेखनतर्फ कस्सिए । उनका शरणार्थी, राधा, टुँडाललगायतका उपन्यासमा लीलालेखनको प्रयोग पाइन्छ । 

लीलालेखन के हो त भन्ने प्रश्नमा धरावासी भन्छन्, ‘लीलाले पूर्वीय अध्यात्मबाट ज्ञानको खोजी गर्छ । लीलालेखन भनेको धार्मिक विषय होइन । बरु अध्यात्मिक ग्रन्थहरूबाट यसले साहित्यका सिद्धान्त बनाउने प्रत्यत्न गर्दछ । लीलालेखनले सीमान्तता स्वीकार गर्दैन । त्यसैले भूगोलको कुनै सिमाना हुँदैन । त्यसैले जीवनलाई लीलाको रूपबाट हेर्नुपर्छ ।’ 

जिन्दगीका ५९ वटा जाडो कटाएका धरावासीले अनेक आरोह–अवरोह व्यहोरे । पाँचथरमा जन्मिएका उनी झापामा हुर्किए, लेखपढ गरे । केही समय काठमाडौंमा बिताए । केही वर्षअघि अमेरिका पसे । उनले जिन्दगीमा धेरै अभाव सहे । कैयौँ रात भोकभोकै पनि बसे । जिन्दगीबारे धरावासी भन्छन्, ‘जिन्दगी एउटा खेल हो । यो संसार नै खेल हो । अझ भन्दा यो सब लीला हो ।’ जिन्दगीलाई उनी लीलाको रूपमा व्याख्या गर्छन् । भन्छन्, ‘जिन्दगीमा यही गर्छु भनेर, योजना बनाएर गर्न खोजे पनि योजनाअनुसार त्यो हुँदैन । हामीले योजना गरेअनुसार केही चीज पनि हुँदैन, त्यो अर्कै भइदिन्छ । गर्न खोजेको एउटा हो, त्यो अर्कै भइदिन्छ । जे हुन्छ हामी त्यसैलाई स्वीकार गर्छौं र त्यसैमा चित्त बुझाउँछौँ । जिन्दगीलाई हामीले गम्भीर रूपले लिएर यसलाई सकारात्मक वा नकारात्मक रूपमा लिनु भन्दा पनि जिन्दगी जसरी चल्दै छ त्यसैमा सन्तुष्ट हुनुपर्छ ।’

धरावासी भन्छन्, ‘हामीले जिन्दगीमा रोजेर, छानेर, इच्छाएर, चाहेर केही गरेकै छैनौँ । हामीलाई ग¥यौँ जस्तो लाग्छ, तर वास्तविकता त्यो होइन । घर, गृहस्थी, विवाह, जागिर हरेक चीजमा हाम्रो निर्णयले काम गर्दैन । यी सबैमा हामी सम्झौता गर्दै जान्छौँ ।’

जिन्दगीमा आफूले पूर्ण सफलता प्राप्त गरेको धरावासी बताउँछन् । आफ्नो पुस्तामै आफूजति कोही सफल नभएको उनी दाबी गर्छन् । जिन्दगीका बारेमा उनी पाँच सय प्रतिशत पोजिटिभ छन् । उनी भन्छन्, ‘एउटा औसत नेपालीलाई जिन्दगी सामान्य तरिकाले चलाउनका लागि चाहिने सबै चीज मैले प्राप्त गरेँ । पाँचथरबाट झापा झर्दा बस्ने घरसमेत नभएको परिवारको मान्छे म । अहिले झापा र काठमाडौंमा घर छ । छोरीछोरी सबैलाई स्नातकोत्तर तहसम्म पढाएँ । अहिले उनीहरू सबै आफैँ जिउन सक्ने भइसकेका छन् ।’ 

धरावासी कुनै समय कांग्रेसको राजनीतिमा पनि संलग्न थिए । एक दिन भाषण गरिरहेका बेला उनलाई केशवकुमार बुढाथोकीले फेला पारेछन् । बुढाथोकी त्यसबेला कट्टर पञ्च थिए । धरावासीको अभावका दिनहरूमा बुढाथोकीले थोरबहुत सहयोग पनि गरेका थिए । भाषण गरिरहेका ठाउँमा बुढाथोकीलाई देखेपछि धरावासीको होसहवास उड्यो । बेलुकी बुढाथोकीले सुटुक्क बोलाएर ‘राम्रो छ, अलिक जोगिएर हिँड्नू’ भनेपछि उनी ढुक्क भए । पछि बुढाथोकी पनि कांग्रेस प्रवेश गरे । 

मान्छेको सबैभन्दा ठूलो सम्पत्ति निरोगी हुनु हो । मान्छे निरोगी छ भने जे पनि गरिखान सक्छ र आफ्नो जिन्दगीलाई जता पनि डो¥याउन सक्छ । त्यसैले जिन्दगीमा कोही पनि रोगी नहोऊन् भन्ने धरावासी कामना गर्छन् । कसैप्रति पनि नकारात्मक भावना आफूभित्र उत्पन्न नहोस् भन्ने चाहन्छन् उनी । उत्पन्न भइहाले पनि त्यसलाई हुर्काउनु नहुने तर्क छ उनको । सुत्नेबित्तिकै जो निदाउँछ त्यो मान्छे नै सबैभन्दा सुखी हो भन्ने बुझाइ छ उनको ।

धरावासीले जिन्दगीमा धेरै कुरा प्राप्त गरे । तर क्यान्सरका कारण श्रीमती ‘सीताजी’को २०६८ वैशाखमा निधन भयो । जिन्दगीमा त्यही एक प्रिय तत्त्व मात्र गुमाएको धरावासी दाबी गर्छन् । सीताजीसँगको २८ वर्षको दाम्पत्य जीवनमा कुनै दिन पनि तँतँ–मम र ठाकठुक नपरेको सहर्ष बताउँछन् । 

सीताजीको निधन भएको डेढ वर्षपछि उनले मञ्जु विमलीसँग दोस्रो विवाह गरे । सायद आफूहरूको ‘केमेस्ट्री’ मिलेकाले त्यो विवाह जुरेको बताउँछन् धरावासी । विवाहपछि सञ्चारमाध्यममा अनेकौँ नकारात्मक प्रतिक्रियाहरू पनि आए । फेसबुक र ट्विटरमा त उनलाई गाली गर्नेहरूको वर्षा नै भयो । फेसबुकमा उपलब्ध भएका २६ हजार गालीगलौजका शब्द उनले डाउनलोड गरेर सुरक्षित राखेका छन् ।

जजसले गाली गरेर प्रतिक्रिया लेखे, तिनीहरूले आफूलाई माया गरेर लेखेको ठान्छन् धरावासी । ‘यदि ममाथि माया थिएन भने उनीहरूले मेरो विवाहबारे यस्तो लेखिरहनु किन आवश्यक थियो र ?’ उनी प्रश्न गर्छन् । ‘उनीहरूले मलाई जुन स्थानमा राखेका थिए सायद म त्यो स्थानमा बसिनँ भनेर उनीहरूले मायाको गाली बर्साएका हुन् । उनीहरूले मेरो अहित नै होस् भनेर पक्कै त्यो गरेका होइनन् । अहिले तिनै साथीहरू बिहे गरेपछि तपाईंको स्वास्थ्य राम्रो भएछ, राम्रा–राम्रा किताब पनि लेखिरहनुभएको छ भनेर खुसी व्यक्त गर्छन् ।’ विवाहको अर्को वर्ष नै डिभी परेपछि उनी अमेरिका गए । वर्षैपिच्छे नेपाल आउन पनि छाडेका छैनन् ।

२०३३ सालमा उनका बुबाको निधन भयो । त्यसबेला उनको परिवार अति विपन्न थियो । बुबाको निधन भएपछि मलामी लाँदा बाटोमा छर्दै लानका लागि एक मानो धान पनि थिएन । त्यो धान पनि अर्काकै घरबाट ल्याएको स्मरण गर्छन् धरावासी । धेरै वर्षसम्म अभावै अभावको जिन्दगी बिताएको उनी लुकाउँदैनन् । ती अभावका दिनहरूमा तीन–चारजना नाबालक छोराछोरी हुर्काउन–बढाउन आमाले कुनै कसर बाँकी नराखेको धरावासी बताउँछन् । 

‘अब ती दिन सम्झिएर पछुताउनुको कुनै अर्थ छैन,’ धरावासी भन्छन्, ‘विगतमा जे भयो त्यो सकिसक्यो । त्यो सम्झिएर अब भावुक हुनुको कुनै अर्थ छैन । बुबा बाँचिरहनुको भए अहिले ९५ वर्षको हुनुहुन्थ्यो । मलाई यो अवस्थामा देख्दा उहाँलाई कस्तो लाग्थ्यो होला ! मैले मदन पुरस्कार पाएको खुसी आमाले थाहा पाउनुभएन । यस्ता अनेक कुरा हुन्छन् । तिनीहरूलाई अब सम्झिने अनि त्यही थान्कोमा छोड्नुपर्छ । तिनीहरूलाई बोकेर हिँड्नु हुँदैन, त्यसको समाधान पनि छैन ।’

धरावासी जिन्दगीलाई सधैँ उज्यालोबाट हेर्नुपर्ने बताउँछन् । जो मान्छे जति बाँच्छ त्यतिन्जेल ऊ सफल नै भएर बाँचिरहेको हुन्छ । असफल भएको भए त ऊ पहिल्यै यस संसारबाट बिदा भइसक्थ्यो । ५५ वर्षको जिन्दगी बिताइसकेका धरावासी जिन्दगीमा आफू पूर्ण सफल भएको बताउँछन् । धरावासी किटानसाथ भन्छन्, ‘सिंगो जिन्दगी लीलाबाहेक केही पनि होइन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर